आदरणी नेपाली जनता !
जय नेपाल, नमस्कार तथा लाल सलाम ।
दाने तपसि शौर्ये च यस्य न प्रथितं यशः ।
विद्यायामर्थलाभे च मातुरुच्चार एव सः ।।
अर्थात् यस भूमिमा जन्मिएर बाँचेकामध्ये यदि कुनै पनि मान्छेको दानमा, शौर्यमा, तपस्यामा, विद्यामा र धन कमाइमा कीर्ति फैलँदैन भने त्यो आमाको विष्ठा समानै हुन्छ भन्दोरहेछ नीतिले । जसले यो नीति बुझेर आफूलाई तदनुकूलका काममा लाउँदैन या लाएनन् ती सबै बेकार भूमिका भार हुन् । यसको भनाइ अनुसार पृथ्वीनारायण शाहले शौर्य प्रदर्शन गरे । जसका कारणले हामी नेपाली भनेर विश्वमा चिनिएका छौं । यसैगरी बहादुर शाह, भीमसेन थापा, अमरसिंह थापा, भति थापा, क्तबलभद्र कुँवरले पनि अदम्य साहस नै प्रदर्शन गरेर देश जोगाए, भीमसेनले सम्झौता गरेरै भए पनि आजको नेपाल जोगाइदिएका थिए र हामी यो भयो यो भएन भनेर पक्षविपक्षमा आआफ्ना धारणा राख्दै आएका छौँ ।
भानु, मोती, शम्भु, लेखनाथ, सम, देवकोटा, रिमाल, घिमिरे आदिले साहित्य लेखेर नाम राखे भने बीपीले असल राजनीति गरेर अनि असल साहित्य लेखेर नाम कमाएर गएको त हामी सबैले देखेकै हौं । बीपीले ल्याएको जनताको राजनीतिक व्यवस्था खाएर महेन्द्रले नाम कमाएका थिए । वीरेन्द्रले सोझो भलाद्मी बनेर नाम कमाउन लागेको देखेपछि तल्ला घरे, वन घरे मिलेर सकुल सखाप पारे । यसैले त भनिन्छ दाजुभाइ भनेको बैठकको पिलो । हुन त नेपाली जनताले पनि विचरा मूर्तिचोरका योजना सफल हुन त कहाँ दिएर ? पृथ्वीनारायण शाहले राज्य दिएका हुनाले उनलाई नेपालीले राजा मानेका थिए र श्रीपेच पनि दिएका थिए ।
सेटिङ र उथलपुथल गरेर यिनले न न्यायालयलाई सगल्ती रहन दिए न त सञ्चार जगत्लाई नै । फर्जी नागरिकता र फर्जी एकाधिक राहधानी भएको मान्छे सत्तामा राख्न र उसैका आदेशमा अदालतलाई बाध्य पारी पत्रकारको सातो बोलाएर नेपालीका मनमा धसारा पसाउन अरू कल्ले सकेको थियो ?
ज्ञानेन्द्रसम्म आउँदा श्रीपेचको मर्यादा पनि रहेन राजा हुने जुन परम्परित विधि नियम थिए ती पनि धुस्न बने । बीपीले दिएको जनता र देशको अन्योन्याश्रित सम्बन्ध हुने राजनीतिक पद्धति पनि २०६२/०६३ मा आएर त टुकुचा खोलाका पानीमा रूपान्तरण भएको देखियो । अहिले विद्या, विवेक र सुरविनाको दम्भासुर कांग्रेससँग बदला लिन रवि नामको अन्धकारलाई काँधमा बोकेर मैदानमा कुर्लेको देखिन्छ । एकातिर काटे ढुङ्ग्रो दुवैतिर काटे पुङमाङ हुन्छ । त्यही पुङमाङका हातमा कानुन र देशविदेश ठगमा बन्दुक थमाएर सुरविनाको दम्भासुर र बकबकासुर दुवैको राम्रो मैत्री बढेको देखिन्छ । यिनकै प्रभावले संसद्को गरिमा सम्माननीयले नै नराखेको पनि देखियो ।
परिवर्तिनी संसारे
यस ब्रहृमाण्डका यावत् कुरा परिवर्तनशील छन् । आजको चलन भोलि यथावत् रहँदैन । हिजोअस्तिका नीति आज काम नलाग्ने भएका हुनसक्छन् जसको एउटा उदाहरण डडेलधुरा, झापा, चितवन र गोरखाका तारणहारले गरेको पुरुषार्थका राशलाई नजिकबाट नियाले लाटो नेपालीले पनि बुझ्नसक्छ । यिनले कमाउनका लागि कानुन मिचे, परम्परा पोले, झुट्टो बोले, संकारसंस्कृति मेटाए, आफूले झुसिलो डकार आउने गरी खाँदा आफ्ना अरिंगालका बिघ्याइँका सगरमाथालाई माटाको डल्लो बनाएर देखाए । सारै हल्ला भएका बेला अरूलाई पनि पेट भरिने गरी लुकाएर खुवाए । भान्से लोभी भयो र पदुवा अघि लाग्यो भने एउटाले उपभोक्तालाई ठहरै पार्छ त अर्काले बाटो दुर्गन्धित बनाउँछ । झापालीले बाटो दुर्गन्धित पारे, भँडार पनि रित्याए, संस्कृतिमा पनि सलाई कोरेर आगो तापे ।
डाँडेलधुरेले लुकेर, अड्कलेर राष्ट्रका ढिकुटीमा डुँडुलो डुबाउन थालेका थिए । त्यसै बेला यिनका जीवनमा हन्तकालीले प्रवेश गरी अनि त यिनको नाम नभएको फायलै नभेटिने भयो । अहिले छेपाराले झैँ उही हावापानी उही जूनघाम तापेर सँगै बसेकाले पनि चाल नपाउनेगरी रङ बदल्ने चितौने र गोरखे तारणहारले नेपाली एउटा गीतमा एउटी केटी ‘आमा, मलाई त त्यही केटो चाहिन्छ’ भन्थी यिनले पनि आफूले डकारेको अरूले चाल पाउनुभन्दा पहिले राफसाफ पार्न घण्टी बजाएर गोलो घेराको हँसिया हतौडा र ग्रीष्मर्तुको तालु फुटाउने घामलाई दायाँ र बायाँ राखेर जे गरे त्यत्तिको जादू त पिसी सरकारले पनि गरेको थियो थिएन जान्नेले भनून् आफूले त पिसी सरकारको नाम मात्रै सुनेको हो ।
उथलपुथल र झापाली अब राजनीतिकर्मी मात्रै होइनन् यी त गहुँत छर्केर दैहिक मानसिक अपवित्रतालाई पवित्र पार्ने पुरोहित बनेछन् । कहिले सदन नामका यज्ञकुण्डका डिलबाट मन्त्र फलाकेर पवित्र बनाउँछन् त कहिले कतै यजमानले बोलाएका ठाउँबाट पनि घण्टी बजाएर घण्टीको पवित्रता सिद्ध गर्ने प्रयास गर्दछन् । राँगाको पुच्छर समातेपछि र भात खान लागेका मान्छेको गर्दन गिँडेपछि अहिले देशै रित्याएर भैंसीको गहुँत र मान्छेको रगत मिसाएर पञ्चगव्य भनेर नेपाली जनतालाई प्रासन गराइरहेका छन् ।
मुखमा राम राम र बगलीमा छुरा राखेर देश दुनियाँ लुटेर देखाउन त यीभन्दा सिपालु कोही भएनन् । सेटिङ र उथलपुथल गरेर यिनले न न्यायालयलाई सगल्ती रहन दिए न त सञ्चार जगत्लाई नै । फर्जी नागरिकता र फर्जी एकाधिक राहधानी भएको मान्छे सत्तामा राख्न र उसैका आदेशमा अदालतलाई बाध्य पारेर पत्रकारको सातो बोलाएर नेपालीका मनमा धसारा पसाउन अरू कल्ले सकेको थियो ? यो युगका लीलावतार यिनै तीन जना हुन् । अतः यिनको पाउ पूजौँ है ?
तिमी शेर त हामी सवासेर
तिमी शेर त हामी सवासेर भनेर साउनमा उम्रेका बन्साले हजार वर्ष पुरानो सालका रूखलाई वचन लाउँदा के होला ? आज कांग्रेसलाई यही भएको छ । ठूलो र पुरानो पार्टी भएको हुनाले देशका साराका सारा गतिविधिमा नियन्त्रण कायम गरी मुलुक र मुलुकवासीका लागि उपयुक्त गन्तव्य ठम्याएर दक्षिण/घोरदक्षिणपन्थी र वाम/उग्रवामपन्थीलाई समेत आफ्ना दायाँ र बायाँ पाश्र्वमा हिँड्न बाध्य पारेर वैदिक कालदेखिको राष्ट्रिय सभ्यता र संस्कृतिको संरक्षण गर्दै आएको नेपाली कांग्रेसले जुन घटनाबाट आफ्नो गन्तव्य मार्ग छाडेर प्राप्तव्य मार्ग समात्यो अनि नेपाल र नेपालीलाई उल्का र भ्रामरीका दशाले च्याप्दै ल्याएर आज छेपारे प्रवृत्तिसँग पौंठाजोरी खेल्नुपर्ने अवस्था आएको छ ।
संसदीय व्यवस्थामा सभामुख कुनै दलबाटै आउने हो तर सभामुख भएपछि उसको भूमिका, आचरण र चिन्तन संसद्को मर्यादा अनुकूल हुनुपर्छ । कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, दरबार हत्याकान्डभन्दा पहिलेका तारानाथ रानाभाट र सुवासचन्द्र नेम्वाङका चरित्र हेरेर सिक्नुहोस् सभामुखज्यू ।
एउटाले बिरायो शाखा पिरायो भनेको यही हो । विष लागेको औंलो काटेर फाल्न नसकेका दुष्परिणामले कतै नेपाली कांग्रेस भारतीय राष्ट्रिय कांग्रेसकै अवस्थामा त पुग्दैन भनेर मध्यमार्गी वैचारिक धारका विश्वबिरादरी नै परिचिन्तित छन् । प्रजातन्त्रका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताले लामो-लोमहर्षक संघर्ष गरेका हुन् तर ठाउँमा पुगेको आजको नेतृत्वले नीतिको लिक छाड्नाले यो दुर्गति भएको हो । पहिलो पुस्ता छँदासम्म जति नै उपद्रो गरे पनि उनीहरूले सन्तुलन मिलाएका थिए । तर, जब सन्तुलन मिलाउने ठाउँमा पुग्ने अवसर यिनले पाए तबदेखि नै कुहेका सिनामा र्याल काडेर, लुकेर उचित अनुचित विचारै नगरी थुतुनु जोते तबदेखि आज बुढा शेरलाई हाइनाले धपाएर सिनामा राज गरेको देख्दा वरपर बसेर जुठो चाट्न पल्केका स्याल पनि बेला न कुबेला रोदनका घुँक्का छाड्न थालेका छन् ।
परम्परित मानक अतिक्रमण पनि पुरुषार्थ नै हो तर त्यसलाई व्यवस्थापन गर्न सक्नुपर्दछ । राजालाई पूजा गर्ने परम्परालाई तोडेर माटो पूजा गर्ने परम्परा बसाएथे कृष्णले । पद, धन या बाहुबललाई पूजा गर्ने परम्परा तोडेर योग्यलाई पूजा गर्ने परम्परा भीष्मपितामह र युधिष्ठिरले राजसूय यज्ञमा कृष्णलाई अग्रपूजन गरी बसाएका थिए । त्यो बेलाका यी दुई परम्परा धेरथोर विश्वमा नै आज पनि चलेर आएकै छन् । सुशील कोइरालापछि नेपाली कांग्रेसले न नीतिलाई न योग्यलाई पूजा गर्नसक्यो फलतः जता मल्खु उतै ढल्कुको नीति लिनाको दुष्परिणाम आज देश र जनताले भोग्नुपरेको छ । लाखौंलाख जनताले पेटमा पटुका कसेर जम्मा गरेको धन कुम्ल्याउनेबाट शासित हुनुपरेको छ ।
निरपराध सञ्चार जगत्का प्रतिनिधिलाई दण्डित गरेर छोरी कुटी बुहारी तर्साउन लागेका छन् उग्रवामपन्थी र वामपन्थीहरू । गाई न गोरुका ड्याँलाई काँधमा बोकेर देश, जनता, मूल्यमान्यता र न्यायअन्यायको सीमा मिचिरहेका छन् । न सिद्धान्त, न दर्शन, न कुनै सामाजिक राजनीतिक कार्यक्रम । जसरी हुन्छ जे भेटिन्छ खाऊ कुम्ल्याऊ गर्नका निमित्त जम्मा भएका उरन्ठेउलाको जमघट हो रास्वपा भनेको । नेपाली जनतालाई राजाले चलाएको व्यवस्थाले वाक्क पारेका बेला नानी मैयाँलाई जिताएथे । अहिले त्यही अभिव्यक्ति दिएका छन् नेपाली जनताले रवि नामका अन्धकार अवसर पूजारीलाई जिताएर ।
अहिले वातावरणमा केपी भेरियन्टल कोरोना फैलेको छ भने राजनीति र सदनमा चाहिँ केपी भाइरसले सताएको सताएकै छ । रवि भाइरसले सहकारी खाएको छ भने केपी भाइरसले पनि गिरिबन्धु टी-स्टेट पड्काएको रहेछ । डाक्टरका भूमिकामा रहेका कांग्रेस, पीडित जनता र साधारण जनताले जति सुई लाए पनि रोग शान्त पार्न सकेका छैनन् । यी केपी र रवि नामका भाइरस नेपाली हावा र मनमस्तिष्कमा नै व्याप्त भएका छन् कि जस्तो छ । बिरामी बनाए पनि मान्छे मार्न सकेका छैनन् तापनि पुरानियो भने मार्न पनि सक्छन् यस्ता भाइरसले । हिजो पञ्चायत कालमा टोपीमा राष्ट्रवाद बोक्नेले पैसा लिएर बेचेको नागरिकताको खोजी गर्न नसके त्यस बेलाका ती प्रजिअ नै असली राष्ट्रघाती हुन् । तिनै भाइरसका सन्तानजस्ता छन् केपी र रवि भाइरस पनि ।
सभामुख ! तपाईं मूर्ति कि मान्छे ?
संसदीय व्यवस्थामा सभामुख कुनै दलबाटै आउने हो तर सभामुख भएपछि उसको भूमिका, आचरण र चिन्तन संसदको मर्यादा अनुकूल हुनुपर्छ । कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, दरबार हत्याकाण्डभन्दा पहिलेका तारानाथ रानाभाट र सुवासचन्द्र नेम्वाङका चरित्र हेरेर सिक्नुहोस् । नेपाली राजनीतिका भाइरस जसले आफ्नै अग्रज र प्रतिभा भएका अनुजलाई समेत सिध्यायो त्यस्तो भाइरसको पनि भाइरस र पुच्छ्रे बनेर सञ्चार, संसदीय मर्यादापालनविरोधी देखिएर, आचरण प्रदर्शन गरेर नेपाली सदनका इतिहासको भाइरस बन्न नपुग्नुहोला है सम्माननीयज्यू । तपाईंहरूका लागि खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो भए पनि आमनेपाली जनता र हामी प्रजातन्त्रवादीको त जीवनसर्वस्व भनेकै संसद् हो । जनता वामका दास होइनन् ।






