स्वरोजगार बनाउने किसिमका सीप सिकाउनेमा जोड

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले उपयोगमा आउने तथा स्वरोजगार बनाउने किसिमका सीप मात्र सिकाउनेमा जोड दिनुभएको छ ।

शुक्रबार यहाँ आयोजित ‘रोजगारीको खोजीमा रहेका युवालाई रोजगार प्रवर्द्धनका लागि सहकार्य’सम्बन्धी निजी क्षेत्र र सरोकार भएकाबीच अन्तक्रियात्मक कार्यक्रममा महानगर प्रमुख महर्जनले नगरसभाबाट पारित भई सञ्चालित तालिम तथा सीप सिकाउने कार्यक्रम प्रमाणपत्र वितरणका लागि मात्रै नभई स्वरोजगार बनाउने किसिमका हुने बताउनुभयो ।

“आजको अन्तक्रियामा पनि सहभागीले स्वरोजगमरमूलक सीप सिकाउने कुरामा जोड दिनुभएको छ । केही दिनअघिको सार्वजनिक सुनुवाइमा पनि महानगरले सञ्चालन गर्ने तालिम जीवन उपयोगी हुनुपर्ने सुझाव आएका छन्”, उहाँले भन्नुभयो, “ती सुझाव र राज्यबाट प्राप्त बजेटको उचित सदुपयोग गरी स्वरोजगारमूलक तालिम सिकाउनेमा प्रतिबद्ध छौँ ।”

बजेट मात्रै खर्च हुने, व्यवहारमा कार्यान्वयन नहुने र आयआर्जनमा वृद्धि नगर्ने किसिमका वडास्तरीय तालिमका लागि बजेट विनियोजन नगर्ने महानगरप्रमुख महर्जनको भनाइ छ । रोजगार सेवा केन्द्रमार्फत महानगरबाट सीपमूलक तालिम दिने योजना रहेको भन्दै उहाँले विद्युतीय सवारी मर्मतका साथै अन्य स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न सहयोग गरिने उल्लेख गर्नुभयो ।

महानगरप्रमुख महर्जनले अहिले ललितपुर महानगरमा ३० हजारभन्दा बढी युवायुवतीले स्वरोजगारमूलक काम गरिरहेका जनाउँदै रोजगारमा आबद्ध हुनेको सङ्ख्या अझै वृद्धि गर्दै लैजाने योजना रहेको बताउनुभयो ।

“उद्योगी व्यवसायी तथा अन्य सहभागीले दिनुभएको सुझावका आधारमा उद्योग सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति तयार पार्न लगानी गर्नेछौँ”, उहाँले भन्नुभयो, “साथै महिला तथा पिछडिएको वर्गलाई आत्मनिरर्भर बनाउन आवश्यकताका आधारमा रोजगार केन्द्रसँगको सहकार्यमा सीप प्रदान गर्नेछौँ ।”

ADVERTISEMENT

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले पूर्वाधार तथा अन्य विकास निर्माणसँगै मानव विकास र युवालाई रोजगारी प्रदान गर्न महानगरले विशेष योजना बनाएर कार्यान्वयन गरिरहेको बताउनुभयो । ललितपुर हस्तकलाको नगरी भएकाले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिरहेको भन्दै उहाँले बेरोजगार युवालाई स्वदेशमा नै अवसर सिर्जना गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो ।

उपप्रमुख शाक्यले रोजगारीको खोजीमा भएका युवाको तथ्याङ्क सङ्कलन गरी वेबसाइटमा जोड्ने र औद्योगिक क्षेत्र अनुसार वर्गीकरण गरेर रोजगारीको वातावरण तयार गरिने जानकारी दिनुभयो । उहाँले ‘पढ्दै सिक्दै र काम गर्दै’ अगाडि बढ्न चाहानेका लागि पहिलो प्राथमिकतामा राखिने भन्दै श्रमको सम्मान नगर्ने अवस्थालाई अन्त्य गरिने बताउनुभयो ।

महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले रोजगारदाता र रोजगारीमा रहेकाबीचको बेमेललाई परिपूर्ति गर्न महानगर प्रयत्नशील रहको बताउनुभयो । “निजी क्षेत्र आर्थिक वृद्धिको इञ्जिन हुन् । अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहित गर्न महानगर क्रियाशील छ । निजी क्षेत्रसँगको सहकार्यमा थप दक्ष जनशक्ति उत्पादन गर्नेगरी तालिम प्रदान गर्नेछौँ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रशाशकीय अधिकृत श्रेष्ठले आगामी दिनमा निजी क्षेत्रमैत्री नीति निर्माण गर्ने जानकारी गराउँदै यसका लागि सबै सरोकार भएका पक्षहरूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वराज बज्राचार्य, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्य, विश्व बैंकका सामाजिक सुरक्षा विशेषज्ञ ज्यासमिन राजभण्डारी, आइएलओ नेपालका राष्ट्रिय कार्यक्रम संयोजक ताराप्रसाद बखरियालगायत उद्योग तथा वाणिज्य क्षेत्रका विभिन्न व्यक्तित्वको सहभागिता थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज