काठमाडौं । नेपाल-चीनको सिमानामा पर्ने संखुवासभाको किमाथांका नाकालगायतका उत्तरतर्फका १४ वटा नाका शनिबारदेखि खुल्ने भएका छन् । उक्त नाका खुलाउन स्थानीय तहबाट समेत प्रयास हुँदै आएको थियो । विराटनगरको रानी भन्सार नाका हुँदै संखुवासभाको किमाथांकासम्म पुग्ने बाटोलाई चीन-भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार शनिबार उत्तरतर्फका १४ वटा नाका खुलेको घोषणा गर्न चीनको स्वशासित क्षेत्र तिब्बतको छेम्दाङमा विशेष कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रम हुने स्थान नेपालको सीमा क्षेत्रबाट पैदल १५ मिनेट हिँड्ने र पुनः १५ मिनेट गाडीमा जानुपर्ने हुन्छ । नेपालको सीमा क्षेत्र किमाथांकासम्म भने चीनले पनि सडक जोडेको छैन । संघीय सरकारको प्रयत्नपछि एकैपटक १४ वटा व्यापारिक नाकाहरू खुल्न लागेका हुन् ।
कोरोनाकालदेखि बन्द भएका देशका उत्तरतर्फका १४ वटै नाका खुलेको घोषणा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ ।
कोरोनाकालदेखि बन्द भएका देशका उत्तरतर्फका १४ वटै नाका खुलेको घोषणा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, संघीय सांसद दीपक खड्का र प्रदेशका स्वास्थ्यमन्त्री तथा सो क्षेत्रका प्रदेश सांसद राजेन्द्रकुमार कार्कीका साथै सुरक्षा निकायबाट पाँच, गृह, वाणिज्य र रक्षा मन्त्रालयबाट सहसचिवस्तरका कर्मचारी प्रतिनिधि र परराष्ट्र मन्त्रालयको टिम कार्यक्रममा जानेछ । काठमाडौंबाट जाने टोली जहाजबाट तुम्लिङटार जाने र त्यहाँदेखि हेलिकप्टरबाट जाने बताइएको छ । चीनसँग नेपाललाई जोड्ने सबैभन्दा कम उचाइको र छोटो दूरीको किमाथांका नाका दुई हजार छ सय मिटरको उचाइमा रहेको छ । रसुवागढी नाका भने पाँच हजार सात सय मिटरको उचाइमा रहेको छ । चीनले आफ्नोतर्फ भन्सार कार्यालय स्थापना गरिसकेको छ ।
त्यसो त अहिले पनि अनौपचारिकरूपमा किमाथांका अर्थात् भोटखोला गाउँपालिकाका जनताले उपभोग्य सामान त्यहीँबाट ल्याउने गर्छन् । कोरोनाका कारण चीन सरकारले २०७६ माघ ५ देखि किमाथांका नाका बन्द गरेको थियो । नाका बन्द हुँदा त्यसको सबैभन्दा ठूलो असर भोटखोलामा परेको थियो । २०३५ सालमा किमाथांका भन्सार कार्यालय स्थापना भएको थियो । तर, द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार २०५७ सालदेखि सदरमुकाम खाँदबारीमा रहेको छ । भोटखोलाबासीलाई तिब्बत प्रवेश गर्न स्थानीयस्तरमा अनुमतिपत्र पनि वितरण गरिसकिएको छ । भोटखोलाको किमाथांका नाका सदरमुकाम खाँदबारीदेखि करिब एक सय ६२ किलोमिटर टाढा पर्छ । किमाथांकाका स्थानीयवासी दैनिक रोजगारीका लागि पनि विगतमा पारिका चाँगा र देन्दाङसम्म जाने गरेका थिए ।
उद्योगमन्त्रीसँग चिनियाँ लगानीकर्ताको भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले शुक्रबार भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरू लगानी गर्नुस्, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरि पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ ।’
नेपालमा लगानी गर्न उत्साहसाथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उहाँले चिनियाँ पुँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताउनुभयो । नेपालमा विदेशी लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरू लगानी गर्ने मनसायले आउनुभएको छ, यसले हामीलाई पनि उत्साहित बनाएको छ, लगानी भित्रिएपछि झन् उत्साहित बनाउँछ, चाँडै लगानीको पर्खाइमा हामी छौँ ।’
वाणिज्य सचिव दिनेशकुमार घिमिरेले दुई देशबीच सदियौंदेखिको व्यापार सम्बन्ध रहेको उल्लेख गर्दैै नेपालमा लगानी गर्ने मनसायले आएकामा चिनियाँ टोलीसित खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारले नेपालमा लगानीका लागि नीतिगत सुधार गर्दै लगेको छ, नेपालमा खानी, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना छ, लगानी गर्नुस्, लगानीको सम्भावना सुनिश्चित छ ।’
चिनियाँ टोलीमा चीनका कृषि, ऊर्जा, पर्यटन, खानी, निर्माणसम्बन्धी कम्पनीलगायतका उद्योगी तथा व्यवसायी सहभागी रहेको उद्योगमन्त्रीको सचिवालयले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता