✍️ धनप्रसाद पण्डित
वैशाख दुई गते बुधबारको अंकबाट क्रमशः
यस अध्ययन भ्रमणका बारेमा सुर्खेत घर भएका यसै क्याम्पसका कर्मचारी राजु चित्रकारको विचार यस्तो छ ः ‘आज वैशाख २५ गते पद्मकन्या क्याम्पसका प्रमुख प्रा.धनप्रसाद पण्डित, बिबिएम कार्यक्रमका संयोजक अग्निधर पराजुली, अंग्रेजी विभागका खुमप्रसाद शर्मा, तथा प्रशासन फाँट प्रमुख सिमा अर्याल र क्याम्पसका ३१ जना विद्यार्थी बिहान ९ः१० मा प्राचीन काँक्रे विहार पुग्यौं । बस्ती नभएको बेला कुन राजाको पालामा कसले बनायो होला दक्षिण भारतीय किसिमको यो काँक्रे विहार । छरपस्ट गरी विहार भत्काइएको अवस्थामा भेटिएको हो भन्ने भनाइ छ । कसले बनाएको हिन्दु, बौद्ध कुन कालमा बनाइएको हो भन्ने बारेमा केही जानकारी छैन । भनाइअनुसार महाभारत कालमा पाण्डवहरूको वनवासका बेलामा बनाइएको हुनुपर्छ भन्ने भनाइ पनि सुनिन्छ ।
शैक्षिक भ्रमणको रुपमा मुगुको राराताल पुगी फर्कने क्रममा सुर्खेतमा आइपुगेको कुरा मैले खुम सरबाट थाहा पाएँ । आफ्नै क्याम्पसका क्याम्पस प्रमुख, शिक्षक, प्रशासक र विद्यार्थी आफ्नै ठाउँमा आइपुगेको सुन्दा मेरो खुशीको सीमा रहेन । बेलुका उहाँहरू बसेको होटेलमा भेट भयो । सँगै चिया खायौं । खुम सरले चिन्नुभएका मेरै गाउँले भाइ बबिन पोखरेलले क्याम्पस प्रमुख, खुम सर र मलाई दिनुभएको ट्रिटमा भएका गफगाफ र स्मरणका कुराहरू स्मरणलायक थिए ।
निकुञ्जभित्र प्रवेश गर्नासाथ प्रथम चरणमा हामीले मिश्रित जंगल देख्यौँ । त्यहाँ हामीहरूले केही मृगहरू र एउटा न्याउरी मुसो देख्यौं । त्यसपछि बाँदरहरू पनि देख्यौं । जंगलको अझैं भित्र हामीहरू एउटा अवलोकन स्थलमा गयौं । त्यहाँबाट अरू बेला गोहीका प्रजातिहरू देखिन्थे ।
आज बिहान मेरै नेतृत्वमा उक्त टोली काँक्रे विहार, शिवमन्दिर, बुल्बुले ताल आदि रमणिय ठाउँहरूमा घुमियो । रहस्यको गर्भमा रहेको काँक्रे विहार र शिवमन्दिरको बारेमा मैले बताउन पाउँदा धेरै खुशी लाग्यो ।
भ्रमण दलका सबै सर, मेडम र बस चालकहरूसमेत भ्रमणलाई मर्यादित पूर्ण र रोमाञ्चित बनाउन ज्यादै उत्साहित र सतर्क रहेको पाइयो । क्याम्पस प्रमुख, खुम सर र कहिलेकाँही विद्यार्थीबाट समेत आउने रमाइला टिप्सहरूले सबैलाई हर्षित पार्दथे । भ्रमण अझै केही दिन बाँकी रहेको थाहा भयो । आज बर्दियाको राष्ट्रिय निकुञ्जमा जाने कार्यक्रम रहेछ । मलाई पनि जाऊँ भन्नुभएको थियो । तर घरमा पर्सि छोराको व्रतबन्धको कार्यक्रम रहेकोले म जान सकिनँ । यस भ्रमणको पूर्ण सफलताको कामना राख्दछु ।’
काँक्रे विहारपछि हामी शिवमन्दिर घुम्न गयौं । त्यहाँ अर्घ नारीश्वरको मूर्ति रहेछ । धेरै जनाले फोटो खिची दर्शन गरेर फर्कियौं । त्यसपछि यहाँको तेस्रो गन्तव्य सुर्खेतको बुलबुले ताल हेर्न गयौं । बाटामा लाटी कोइली भन्ने ठाउँ भएर आएका थियौं । बुलबुले ताल नजिकैको उद्यान रहेछ । चिप्लेटी खेल्यौं । बुलबुले तालमा सार्वजनिक शौचालय चाहिँ नयाँ, राम्रो र सफा रहेछ । त्यसपछि टोली राजु चित्रकारको घरतिर लाग्यो ।
छात्रा सिर्जना कार्की यस अध्ययन भ्रमणका विषयमा लेख्छिन् : ‘मेरो जीवनको सबैभन्दा लामो यो भ्रमणको आज ११औं दिन हो । होटेल बुलबुलेमा बसेका थियौं । जुन सुर्खेतमा रहेको छ । राति सुर्खेतको प्रख्यात कुल्फी पनि खान गएका थियौं । प्यारा रुममेटहरू अनिजा, सुनैना, अञ्जलीसँग म बजार पनि घुमेँ । बिहान सात बजे होटेलबाट चेक आउट गरेर केही महत्वपूर्ण ठाउँहरू घुम्न गयौं । त्यहाँबाट बर्दिया निकुञ्जको लागि निस्कनेछौं । देउती बज्यै मन्दिरमा दर्शन गर्यौं । त्यसपछि दिवा भोजन गर्न पुनः हिजै बसेको होटल बुलबुलेतिर लाग्यौं ।’
बिबिएम छैटौँ सेमेस्टरकी छात्रा इच्छा काफ्ले यस शैक्षिक भ्रमणका बारेमा लेख्छिन् : ‘आज हाम्रो भ्रमणको १२औं दिन हो । बिहानको सात बजे बर्दिया राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु भयो । बिहान ६ः५५ मै टिकट लिएर गेटभित्र छिरेका थियौँ । यो निकुञ्ज ९६८ वर्ग किलोमिटर क्षेत्रमा विस्तार भएको रहेछ । यहाँ ३८ गैंडा, ८७ बाघ, ६२ जंगली हात्ती रहेको तथ्यांक पाइन्छ । यो तराईको सबभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । आजसम्मको हाम्रो यात्रा अविस्मरणीय रहृयो । यो मेरो जीवनको अहिलेसम्मको लामो यात्रा थियो । मैले यस यात्रामा धेरै कुराहरू अवलोकन गर्ने अवसर पाएँ ।
यहाँ हामीलाई सफारी गराउनुहुने दाइहरूद्वारा पनि धेरै कुरा सिक्ने मौका पाएँ । यहाँ घुम्न र डुल्न पाउँदा हाम्रो मनमा उमंग र उत्सुकता नै वेग्लै छ । यहाँको बारेमा धेरै विषयमा सोधपुछ गरेर अवगत गर्ने अवसर प्राप्त भयो । आज हाम्रो भ्रमणको अन्तिम दिन पनि हो । हाम्रो यो यात्रा कठिनको साथसाथै रमाइलो पनि रहृयो । शैक्षिक भ्रमणको यात्रा सकिने बेला भए पनि हामी भ्रमणमा यति रमाउँदै थियौं कि हामीलाई समय सकिएको पत्तै भएन । आशा छ फेरि यस्तै भ्रमण गर्ने मौका प्राप्त हुनेछ ।’
बिबिएम छैटौं सेमेस्टरकी छात्रा प्रतीक्षा भट्टराई बर्दिया राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमण बारे आफ्नो अनुभव यसरी प्रकट गर्छिन् ः ‘आज बिहान ०३ः०५ बजे मोबाइल फोनको अलार्म बज्नासाथ मेरा आँखा खुले । हिजो राति बिबिएमका निर्देशक अग्निधर पराजुली सरले दिनुभएको निर्देशन अनुसार बिहान ४ः३० सम्म तयार भएर थारू होम्स रिसोर्टको आँगनमा जम्मा हुनुपर्ने थियो । यसका लागि साथीहरू पनि उठे । हामी सबै जना पालैपालो तयार भयौं र निर्देशित समयमा तोकिएको ठाउँमा भेला भयौं । केही समस्याका कारण हाम्रो निकुञ्जको यात्रा तोकिएको समयमा सुरु भएन । त्यसैले हामी साथीहरू सबै जनाले गीत बनाउने, छलफल गर्ने गरी समयलाई रोमाञ्चक बनायौं ।
राष्ट्रिय निकुञ्जान बेलायती राजकुमार हेनरी नेपाल आउँदा स्मृतिका रूपमा शिलालेख राखिएको थियो । त्यस ठाउँलाई हेनरी चोक भनिँदो रहेछ । त्यस चोकको दायाँतिरको अर्को अवलोकनमा स्थल पुग्यौं । त्यस स्थलको दृश्य बीचबाट कर्णालीबाट फुटेर आएको खोलाले लोभलाग्दो बनाएको थियो ।
बिहान शिक्षकहरू र हाम्रो यात्राको गाइड तोकिएको ठाउँमा आइपुग्नु भयो । हामी विद्यार्थीहरू उज्यालोको किरणले बर्दियालाई छुन नपाउँदै तयार भएर बसेका थियौं तर हाम्रा अभिभावक भनेको भन्दा झण्डै एक घण्टा ढिलो आउनुभयो भन्ने कुराले हामी सबैमा खिन्नता छायो । हामीले थोरै खुसखुस आवाजमै भए पनि आफ्नो असन्तुष्टि जाहेर ग¥यौं । यात्रामा हिँडेको आज १२औं दिन हो । यसकारण शिक्षकहरू पनि थकित हुनु भएर होला । यति अबेला हुँदा पनि अभिभावकको अनुहारमा थोरै खिन्नताको भाव देखिएन ।
यात्रीहरूले चिया खाइसकेपछि हाम्रो आजको यात्राको योजना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा सफारीका लागि निस्क्यौँ । मलगायत यो यात्रामा आउँदा र अन्य समयमा पनि मेरा अत्यन्त प्यारा साथीहरू इच्छा, स्वस्तिका, शशि, दीक्षा र प्रशंसाका साथै हाम्रो क्याम्पस प्रमुख धनप्रसाद पण्डित सर पनि हामीसँगै एउटै जिपमा हुनुहुन्थ्यो । आजको हाम्रो यात्रामा हामी पहिला ठाकुरद्वारास्थित टिकट काउन्टरमा गयौं । त्यहाँ कागजी काम नसकिँदा र टिकट नआउँदासम्मको समयमा निकुञ्जको मुख्य गेटमा सबै जनाले तस्वीर लियौं । हामीहरूले टिकट लिएर गेटभित्र प्रवेश गर्दा ०७ः१५ बजिसकेको थियो ।
निकुञ्जभित्र प्रवेश गर्नासाथ प्रथम चरणमा मिश्रित जंगल देख्यौँ । त्यहाँ केही मृगहरू र एउटा न्याउरी मुसो देख्यौं । बाँदरहरू पनि देख्यौँ । जंगलको अझैं भित्र हामीहरू एउटा अवलोकन स्थलमा गयौं । त्यहाँबाट अरू बेला गोहीका प्रजातिहरू देखिन्थे भनेर हामीलाई सतिराम थारू गाइड दाइले बताउनुभयो । तर हामीले भने त्यो अवसर पाएनौं । हामीहरू त्यसपछि सालैसालको जंगल भएको ठाउँमा पुग्यौँ । त्यहाँ बेलायती राजकुमार हेनरी नेपाल आउँदा स्मृतिका रूपमा शिलालेख राखिएको थियो । त्यस ठाउँलाई हेनरी चोक भनिँदो रहेछ । त्यस चोकको दायाँतिरको अर्को अवलोकनमा स्थल पुग्यौं । त्यस स्थलको दृश्य बीचबाट कर्णालीबाट फुटेर आएको खोलाले लोभलाग्दो बनाएको थियो ।
पानी खरबाट बनेको देखिन्थ्यो । बीचमा खोला थियो अनि सबैतिर सालघारी । त्यहाँ ३० मिनेट पर्खेर बाघ हेर्ने प्रयास गरियो तर त्यो मौका नमिलेपछि हामी ठाउँ परिवर्तन गरी एउटा अर्कोमा गयौं । त्यहाँबाट कुनै विशेष जंगली जनावर देख्ने मौका पाइएन । पुनः एकपटक अर्को अवलोकनस्थलमा गयौं । त्यहाँबाट बाघ देख्ने सम्भावना थियो तर त्यहाँ पनि सफल हुन सकेनौँ । हाम्रो भाग्यमा नै बर्दियाको बाघ हेर्ने अवसर रहेनछ । यत्तिकैमा बर्दियाको भ्रमण गरिसकेर हामीहरूले फर्किने निर्णय गर्यौं ।
क्याम्पस प्रमुख सरबाट उहाँको जीवनका अनुभवहरू सुन्ने मौका पायौं । उहाँले १३ वर्षमा विवाह गर्नुभएको, उहाँको पढाइ, देशविदेशका यात्राहरू, जीवन संघर्ष, साथीहरू, सपनाहरू यावत कुराहरूलाई हामीले नजिकैबाट नियाल्न पायौं । यसका लागि म लगायत मेरा सबै साथीहरू असाध्यै आभारी छौं । बर्दिया निकुञ्ज भ्रमणमा फर्किदै गर्दा त्यहाँ पाइने पाँच जातिमध्ये सर्मदिया नामको जरायो हेर्ने अवसर पायौं । फर्किएर गेटनिर आई पुगेर गोही ब्रिडिङ गर्ने ठाउँ पनि घुम्यौँ । त्यहाँ हामीहरूले घडियाल गोही र कछुवा पनि हे¥यौं । अन्तिममा लेख्नु पर्दा आज हामीहरूले बाघ हेर्न नसके पनि आजको यात्रा सारै नै सफल र रमाइलो बन्यो ।
खुल्ला आकाश, घना जंगल, चराहरूको चिरबिर, विस्थापित गरिएको गाउँलेका जग्गाहरू, जंगली जनावरका आवतजावतका निसानहरू हेर्दाको समय सरको जीवन कथाका केही क्षणहरूले हाम्रो यात्रालाई सारै स्मरणीय बनाएका छन् । सम्पूर्ण बिबिएम प्रशासन, क्याम्पस प्रशासन अनि विशेषत क्याम्पस प्रमुख सर, बिबिएम निर्देशक सर, सिमा म्याम, अर्जुन दाइ, खुम सरलगायत चालक र सहचालक मेरा यात्रामा सहभागी सार्थीहरू यो यात्रालाई सफल र स्मरणीय बनाइदिएकोमा म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यसअघि मेरो जीवनमा यति लामो यात्रा गर्ने मौका पहिला मिलेको थिएन । यस पटकको अनुभवले मलाई यात्रासँग मोह बसेको छ । मौका मिलेसम्म र मिलाउन सकेसम्म फेरि पनि यसरी नै यात्रा गर्ने रहर जागेको छ ।’
यात्राका क्रममा चितवनको सौराहा पुगेपछि छात्रा मेघा सिंहले आफ्नो अनुभवलाई यसरी अभिव्यक्त गरेकी छन् ः ‘हाम्रो सौराहा आउने योजना पहिले नै भएका कारण ढिला भए पनि जसोतसो गरी सौराहा पुग्यौं । यहाँ पुगेपछि हामी सम्पूर्ण विद्यार्थी खानपिन सकाई आराम गर्नतर्फ लाग्यौं । भोलिपल्ट बिहान पाँच बजे उठी सम्पूर्ण कार्य सकाई यो डाइरी लेख्दै छु । यो शैक्षिक भ्रमण मलाई अत्यन्त रमाइलो लाग्यो । त्यतिमात्र नभई हामीले धेरै कुराको अनुभव गर्यौं । एकअर्काको दुःख बुझी सहयोग गर्न सिक्यौं ।
मानिसको जीवन कति असहज हुँदो रहेछ भन्ने देख्यौं र आफूले जे पाएका छौं त्यसमा खुशी हुनुपर्छ भन्ने ज्ञान प्राप्त ग¥यौं । आज भ्रमणको अन्तिम दिन हो भनेर सोच्दा पहिलो दिनदेखि आजको दिनसम्मका घटनाहरूको झलझली याद आउँछन् । साँच्चै यो भ्रमणले हामीलाई एउटा नयाँ अनुभव दियो । हाम्रो भ्रमण सकिए पनि यो भ्रमणमा बिताएको समय जीवनभर याद रहिरहनेछ ।’ क्रमशः







यात्रा वर्णन के अवलोकन से नेपाल की प्राकृतिक सुंदरता का आभास हुआ, पुरानी यादें और अनुभव जाग्रत हुए, मन खुश हुआ! अनेकानेक धन्यवाद!