म्याग्दी । बेनी-दरबाङ सडकको सिम-लाम्पाटा खण्डमा कालोपत्रेको लागि वेस विच्छाउने काम अन्तिम चरणमा पुगेको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका-२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटासम्मको करिव चार किलोमिटर (तीन किलोमिटर,आठसय मिटर) सडक कालोपत्रेका लागि बेस विच्छाएर तयारी सुरु गरेको हो । यो सडक खण्डको ठेक्का ओमबुद्ध निर्माण कम्पनिले लिएको थियो ।सडक कालोपत्र गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो ।
२०६१सालमा ट्याक खुलेको २४ किलोमिटर दूरीको बेनी-दरवाङ सडकको बेनी-सिम खण्डको साढे १२ किलोमिटरसडक कालोपत्र गरी सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । यो सडकको ठेक्का रु ४५ करोडमालामा-समानान्तर जेभीले लिएको थियो ।
सडक कालोपत्रेका लागि सम्पूर्ण तयारी पूरा भएको र अब केही दिनमा नै कालोपत्रेको काम थालिने ओमबुद्ध निर्माण कम्पनिका प्रतिनिधि डम्मर सापकोटाले बताउनुभयो । उहाँका अनुसार पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी-दरबाङ सडक आयोजनाको दोस्रो सिम-लाम्पाटा खण्ड कालोपत्रेका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
कुल २४ किलोमिटर दुरीको यो सडक खण्डको बेनीदेखि सिमसम्मको १२ किलोमिटर क्षेत्र दुई वर्ष अघि नै कालोपत्रे भएको थियो । अहिले सिम-लाम्पाटा खण्डको साढे चार किलोमिटर सडक कालोपत्रे भए पछि बेनी-दरबाङको दुरी छोटिने र यात्रुहरुलाई सजिलो हुने स्थानीय टेकबहादुर विकले बताउनुभयो ।
निर्मांण कम्पनीका प्रतिनिधि सापकोटाले लाम्पाटादेखि पानाबगरसम्मको सडकखण्डमासमेत संरचनाको काम भइरहेको जानकारी दिनुभयो ।
तर, सोही सडक खण्ड अन्तर्गत तेस्रो खण्ड रणबाङ-दरबाङ खण्डको काम भने सुस्त गतिमा अघि बढेको स्थानीयले बताएका छन् ।
बिरुवा-क्याराभान जेभीले २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको मंगला गाउँपालिका-२,रनबाङ नजिकदेखि दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम भने सुस्त गतिमा चलेको स्थानीयको आरोप छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले निर्माण कम्पनीलाई ताकेता गरिएको जानकारी दिनुभयो ।
निर्माण कम्पनिका प्रतिनिधि सापकोटाका अनुसार अव केही दिनमा नै कालोपत्रे हुने सिम-लाम्पाटा सडकलाई आठ मिटर फराकिलो बनाइएको छ । सात मिटर चौडाइमा डिबिएसडी प्रविधिको कालोपत्रे गरिने छ । नाली र पर्खाल निर्माणको काम सकिएको छ ।
अहिले मजदुर र हेभी इक्युमेन्टबाट धमाधम काम भइरहेको छ । यो सडक कालोपत्रे भएपछि पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बाग्लुङको तमानखोला गाउँपालिका र रुकुम जिल्लाका बासिन्दाहरु लाभान्वित हुनेछन् ।






