काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नीति, अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ । खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई थिंक ट्यांकका रूपमा विकास तथा आफ्नै भवनबाट गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको इप्पानले जनाएको छ । शुक्रबार काठमाडौंमा आयोजित इप्पानको २२औँ साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिकरूपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्तले जानकारी दिनुभयो ।
पन्तका अनुसार इप्पान सम्पूर्ण ऊर्जा क्षेत्रको नेतृत्वदायी संगठन भएकाले सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्यांक, जानकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र विश्लेषण संस्थागतरूपमा संकलन गर्ने उद्देश्यले कोष स्थापना गरिएको हो । तीन करोड संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाई अघि बढ्ने लक्ष्य इप्पानको छ । ऊर्जा प्रवद्र्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ ।
कोषमा इप्पानको २२औँ वार्षिक साधारणसभामा सम्मानित पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योति सम्मानबापत पाएको एक लाख रुपैयाँमा थप एक लाखसहित दुर्ई लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ भने कोषमा इप्पान सदस्य टिएन आचार्यले भिजन इनर्जीतर्फबाट एक लाखका साथै भवन निर्माण कोषमा पनि एक लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । इप्पानले आगामी पाँच वर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित कोष स्थापना गरिएको जनाएको छ । भवन निर्माणका लागि यसअघि इप्पान पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठले दुर्ई लाख तथा अन्य विभिन्न स्रोतबाट जम्मा भएको ३४ लाख रुपैयाँसमेत सोही कोषमा राखिने इप्पानले जनाएको छ । इप्पान सदस्य कुबेरमणि नेपालले पनि आफ्नो जलविद्युत् कम्पनीबाट दुई लाख, नवीन सिलवालले ठूलो खोला र टक्सार जलविद्युत् कम्पनीबाट दुर्ई लाख सहयोग घोषणा गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता