काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने हुनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
चौथो पटक विश्वासको मत लिनेबारे उहाँले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराइसकेको संसद् सचिवालयले जानकारी दिएको छ ।
विश्वासको मत लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले लोसपालगायतका साना दलहरूसँग विश्वासको मत माग्दै आउनुभएको छ । सम्भव भएसम्म साना दललाई पनि सरकारमा समेटेर अघि बढ्ने प्रचण्डको तयारी छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ। २०७९ पुस १० मा प्रधानमन्त्री बनेका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि फागुन ३० गते उहाँले तेस्रोपटक विश्वासको मत लिनुभएको थियो ।







