राजविराज । निर्माणाधीन रूपनी-छिन्नमस्ता सडकको काम तीव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको सक्रियता बढेको छ । उहाँले बुधबार संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म)को प्रमुख विनोद मौवारसँग छलफल गर्नुभएको छ । छलफलमा आयोजना प्रमुख मौवारले असारभित्र काम सम्पन्न हुने बाचा गरेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘टेण्डर भएको दुई वर्ष भइसकेको छ, काम सुस्त छ । हिजै आयोजना प्रमुखसँग कार्यपालिका सदस्य, सडक डिभिजन कार्यालय लहानका कर्मचारी र ठेकेदारलाई राखेर छलफल गरेका छौँ ।’ सडकको काम पूरा भएसँगै छिन्नमस्तामा आन्तरिक तथा बाहृय पर्यटक उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ आवतजावतमा पर्यटकलाई सहज हुनेछ जसले यहाँ आन्तरिक तथा बाहृय पर्यटकको राम्रो संख्यामा वृद्धि हुन्छ । यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’
अध्यक्ष चौधरीले उक्त सडक निर्माण गर्न प्राथमिकताकसाथ लागेको पनि बताउनुभयो । यसअघि सोही सडक निर्माणका लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्यसचिव, सडक विभाग प्रमुखदेखि प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाइसक्नुभएको छ ।
समयमा सडक निर्माणको काम पूरा नभए र काम सुस्त गतिमै भइरहे पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकार प्रयोग गरी अघि बढ्ने कुरामा आयोजना प्रमुखलाई सचेत गराइएको उहाँले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता