काठमाडौं । नेपाली हिमाली च्यांग्रा पस्मिना निर्यात गर्न साना व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यले तयार भएको पस्मिना निर्यात सहजीकरण निर्देशिका जारी भएको छ । निर्देशिकालाई युरोपेली आयोगको अन्तर्राष्ट्रिय साझेदारीका लागि महानिर्देशनालय (आइएनटिपिए) की उपमहानिर्देशक मिरियम फेरान, उद्योग, नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जो, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारी तथा नेपाल पस्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले संयुक्तरूपमा सार्वजनिक गरेका हुन् ।
उपमहानिर्देशक फेरान, राजदूत लोरेन्जो तथा सहसचिव अधिकारीले इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालनमा रहेको नेपाल फाइबर प्रशोधन सुविधाको पनि संयुक्तरूपमा शुभारम्भ पनि गरे । उक्त सुविधाले च्यांग्रा किसानबाट संकलित फाइबर प्रशोधन गरी पस्मिना उत्पादकलाई आपूर्ति गर्दै आएको छ ।
पस्मिना मूल्य शृंखलालाई सुदृढ गर्न युरोपेली संघको बृहत् सहयोगको एक हिस्साका रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा गाइड तयार गरेको हो । जापान, युरोपेली संघ, संयुक्त राज्य अमेरिका र बेलायतजस्ता प्रमुख अन्तर्राष्ट्रिय बजारका लागि विशेषरूपमा तयार पारिएको निर्देशिकाले नेपालको पस्मिना निर्यात प्रयासलाई उल्लेखनीयरूपमा बलियो बनाउने विश्वास गरिएको छ ।
निर्देशिकाले फर्म दर्ता, इजाजतपत्र, निर्देशन, भन्सार, ढुवानी प्रक्रिया समावेश गर्दै चरण–चरणगत प्रक्रियाका रूपरेखा दिनुका साथै गन्तव्य मुलुकमा निर्धारण गरिएका आयात आवश्यकता, भन्सार दर, गुणस्तर मापदण्ड, ढुवानी लागत, समयसीमालगायत व्यापारसँग सम्बन्धित अन्य महत्वपूर्ण जानकारी दिनेछ ।
नेपालका साना र मझौला उद्यममा अन्तर्राष्ट्रिय बजार र व्यापारसम्बन्धी जानकारीको कमी भइरहेका बेला निर्देशिकाले उनीहरूलाई निर्यातसम्बन्धी औपचारिकता र प्रक्रियाबारेमा जानकारी प्रदान गर्न महत्वपूर्ण उपकरणका रूपमा काम गर्ने बताइएको छ । निर्यातसम्बन्धी पर्याप्त जानकारीले नेपाली व्यवसायीलाई विश्वव्यापी मञ्चमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्नेछ । नेपालको हिमालयन च्यांग्रा पस्मिनाले आफ्नो अद्वितीय गुणस्तर र सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान ओगटेको छ । पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति २०२२-२०२६ ले सन् २०२६ सम्ममा पस्मिना निर्यातको आकार सात करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ ।
सहसचिव अधिकारीले नेपालको हिमालयन च्यांग्रा पस्मिनाले आफ्नो अद्वितीय गुणस्तर र सांस्कृतिक महत्वका कारण अन्तर्राष्ट्रिय बजारमा विशिष्ट स्थान ओगटेको भन्दै नेपालले पस्मिनालाई उच्च प्राथमिकताको निर्यातयोग्य वस्तुका रूपमा लिएको बताउनुभयो । उपमहानिर्देशक मिरियम फेरानले नेपालको विकास यात्रामा लामो समयदेखिको साझेदारका रूपमा युरोपेली संघले व्यापार र लगानीका माध्यमबाट नेपालको समृद्धिमा बढावा दिँदै आएको भन्दै निर्देशिकाले नेपाली निर्यातकर्तालाई अन्तर्राष्ट्रिय बजारबारे महत्वपूर्ण जानकारी प्राप्त हुने र यसको सदुपयोगबाट व्यवसायीले लाभ लिने विश्वास व्यक्त गर्नुभयो । भिडियो सन्देश दिँदै अन्तर्राष्ट्रिय व्यापार केन्द्रका डिभिजन अफ कन्ट्री प्रोग्राम निर्देशक आशिष शाहले निर्देशिकाले नेपाली निर्यातकर्ता विशेषगरी साना र मझौला उद्यमीहरूले निर्यात प्रक्रिया र गन्तव्य बजारका लागि आवश्यक गुणस्तर, मापदण्डबारे जानकारी प्राप्त गर्ने बताउनुभयो । पस्मिना उद्योग संघका अध्यक्ष लामिछानेले निर्देशिकाले अन्तर्राष्ट्रिय बजारमा नेपाली पस्मिना निर्यात प्रवद्र्धन गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा