मस्को । युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्हृवासँगको लिखित अन्तर्वार्तामा उहाँले चीनले युक्रेन संकटको कारण र यसको विश्वव्यापी भूराजनीतिक प्रभावलाई स्पष्टरूपमा बुझ्ने बताउनुभएको हो ।
चीनले सन् २०२३ फेब्रुअरीमा जारी गरेको १२ सूत्रीय प्रस्तावले युक्रेन संकटको राजनीतिक समाधानमा चीनको स्थिति प्रतिबिम्बित गर्दछ । दस्तावेजमा संकेत गरिएका अवधारणा र सुझाबहरूले द्वन्द्व स्थिति स्थिर गर्न चीनको निष्कपट इच्छा देखाउने उहाँले बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि प्रस्ताव गर्नुभएको चार सिद्धान्तमाथि उल्लिखित दस्तावेजमा बिल्कुल फिट भएको पुटिनले जोड दिनुभयो । ‘यी कदम ‘शीतयुद्धको मानसिकता’ त्यागी अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रको सम्पूर्णता र अन्तरसम्बन्धका लागि अविभाज्य सुरक्षा र सम्मान सुनिश्चित गर्न आवश्यक छ भन्ने विचारमा आधारित रहेका छन्’, राष्ट्रपति पुटिनले भन्नुभयो, ‘हामीले वार्तालाई कहिल्यै अस्वीकार गरेका छैनौं, हामी शान्तिपूर्ण तरिकाले यो द्वन्द्वको व्यापक, दिगो र न्यायपूर्ण समाधान चाहन्छौं, हामी युक्रेनका बारेमा वार्ता गर्न तयार छौं तर यस्तो वार्तामा हामीसहित द्वन्द्वमा सामेल सबै मुलुकको हितलाई ध्यानमा राख्नुपर्छ ।’ रासस/सिन्हृवा ।






