शब्दकोशका अनुसार ‘गृह’ शब्दले घर, भवन, बासस्थान आदिलाई जनाउँछ । बोलिचालीको भाषामा मानिसले बसोवास गर्ने ठाउँ घर हो । दुई अक्षर मिलेर बनेको घरले मानव जातिलाई जन्मदेखि मृत्युपर्यन्त अपनत्व र आश्रय दिन्छ । घरसँग मानवको भावनात्मक अन्तरसम्बन्ध हुन्छ । समानताका नमुनाका रूपमा रहेका अष्ट्रेलियाका आवासीय घरलाई सशरीर स्थलगत हेर्ने अवसर जुटाउने छोरी प्रतिभा र ज्वाइँ अनिल जोशी धन्यवादका पात्र छन् । झट्ट हेर्दा सबै उस्तै र आर्थिक हैसियत समान देखाउने आकार, रङ बनावटमात्रै समान नभएर लगानीमा समेत लगभग समान देखिने आवासीय घरहरु अष्ट्रेलिया सरकारको नागरिक समानतालाई प्रतिबिम्बित गर्ने प्रयास बाँकी संसारका लागि अनुकरणीय छ ।
आवासीय घर, गाडी, पहिरन र सडक, हरियाली आदिले समानतालाई प्रतिबिम्बित गर्छ । प्रत्येक घरको चित्रले आर्थिक असमानता झल्कने नेपाल, भारतजस्ता देशहरुका लागि अष्ट्रेलिया सरकारले आवासीय घरहरु र जीवनशैलीमा अनुवाद गरेको समानता अनुकरणीय छन् । समानतालाई फगत कागज र भाषणमा होइन व्यवहारमा अनुवाद गरेको छ भन्ने ज्वलन्त प्रमाण हुन् आवासीय घर । अष्ट्रेलियाका आवासीय घर प्रायः जसो भूइँतलाका हुन्छन् भने ती सबैमा मेसिन निर्मित एकै प्रकारका टायल र केहीमा टिनले छाएको भए पनि बाहिरी आवरणमा समान उचाइ, आकार र रङका कारण नितान्त समानता पाइन्छ । तला भएका घरभन्दा तुलनात्मक रूपमा झलक्क हेर्दा यहाँका भूइँतले घर सुन्दर लाग्छन् ।
अष्ट्रेलियामा सामान्यतः कसैले आफ्नो घडेरीमा घर आफैंले बनाउन सम्भव छैन । सामन्यतया घर निर्माण कम्पनीहरुले नै जमिनको निश्चित क्षेत्रफल खरिद गरेर त्यसलाई सामूहिक रूपमा घरवासका लागि आवश्यक सम्पूर्ण पूर्वाधारको व्यवस्था पहिल्यै नगरिकन घर बनाउने अनुमति नै पाइँदैन ।
अष्ट्रेलियाको प्रमुख विशेषता समानता र न्याय हो । समानताले आर्थिक समानतालाई प्रतिनिधित्व गर्छ भने न्यायिक समानताको अर्थ न्यायिक निष्पक्षता हो । आर्थिक अवसरहरुका साथै न्यायिक निष्पक्षताको ग्यारेन्टी जहाँ देख्छ मानिस त्यहाँ बसोवास गर्न आकर्षित हुन्छ । यो मानवीय स्वभाव हो । आर्थिक र न्यायिक समानताको प्रत्याभूति गर्ने क्षमता, योग्यता, निष्पक्षता र सुशासनको प्रत्याभूति आदिले आप्रवासी बसोवासका लागि आकर्षित छन् । यातायात संचारको सुगमताले विश्वका धेरै देशका नागरिकको शारीरिक र बौद्धिक श्रम अष्ट्रेलियाको श्रमबजारले सदुपयोग गरेको छ । अष्ट्रेलियालाई विकासको शिखरमा पुर्याउन आप्रवासीको उल्लेखनीय योगदान छ ।
अष्ट्रेलियामा सामान्यतः कसैले पनि आफ्नो घडेरीमा घर आफैंले बनाउन सम्भव छैन । सामन्यतया घर निर्माण कम्पनीहरुले नै जमिनको निश्चित क्षेत्रफल खरिद गरेर त्यसलाई सामूहिक रूपमा घरवासका लागि आवश्यक सम्पूर्ण पूर्वाधार मोटर, साइकल र मानिसका लागि छुट्टाछुट्टै सडक र पानी, बिजुली, ग्यास, टेलिफोन, ढल निकासको व्यवस्था पहिल्यै नगरिकन घर बनाउने अनुमति पाइँदैन । पानी तातोचिसो, पिउने नपिउनेको व्यवस्था गर्नुपर्छ । अष्ट्रेलियामा खाना पकाउने सिलिण्डर र पानीका लागि छानामाथिको र जमिनमुनिको ट्यांकी जरुरी हुँदैन । ग्यास र पानी दुवै सप्लाईबाट सोझै उपभोग गरिन्छ ।
सरकारले तोके अनुसारको कुशल जनशक्ति, औजार, उपकरण नभइकन घर निर्माणको ठेक्काको अनुमति पाइँदैन । ठेकेदार कम्पनीहरुसँग सम्बन्धित क्षेत्रमा प्रशिक्षित जनशक्ति हुनुपर्ने अनिवार्य व्यवस्था छ । अष्ट्रेलियाको विकासको आधारस्तम्भ भनेको कानुनको दृष्टिमा सबै समान, सबै कामका लागि दक्ष र योग्य जनशक्ति उत्पादन गर्ने प्रशिक्षणको व्यवस्था नै गुणस्तरीय विकासका लागि जिम्मेवार छन् । अष्ट्रेलियाबाट बाँकी दुनियाँले सिक्ने भनेको सबै कामका लागि सम्बन्धित कामको प्रशिक्षण कामदारले लिनुपर्ने अनिवार्य व्यवस्था मुख्य हो । प्रशिक्षण र सीप छ भने रोजगारी छ अन्यथा रोजगारी छैन भन्ने सन्देश महत्वपूर्ण छ ।
कामदारहरु प्रशिक्षित र योग्य बनाउने काममा राज्यले विशेष ध्यान दिएका कारण सबै निर्माणसँग सम्बन्धित कामहरु सरसर्ती हेर्दा तिनीहरुको गुणस्तरीयतामा दोष दिने ठाउँ भेटिँदैन । विकास निर्माणलाई भरपर्दो र गुणस्तरीय बनाउने भूमिका भनेकै प्रशिक्षित कामदार हुन् । विश्वका विभिन्न देशबाट आएका र देशभित्रैका कामदारहरु सबै सम्बन्धित काममा प्रशिक्षित हुँदा नै अष्ट्रेलियाले विकासमा गुणस्तरीय फट्को मार्न सफल भएको हो । विकासमा प्रशिक्षित र लगनशील कामदारहरुको भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ । प्रशिक्षित, विज्ञ र विशेषज्ञ समेतको समूहबाट हुने काम वास्तवमा गुणात्मक र परिमाणात्मक विकासका आधार हुन् ।
कामसँग सम्बन्धित प्रशिक्षणले नै अष्ट्रेलियालाई विकासको शिखरमा पु¥याएको हो । अष्ट्रेलियामा प्रशिक्षितले मात्रै काम पाउने अवस्था र व्यवस्थालाई नेपालजस्ता विकासमा पछि परेका तर विकासलाई द्रुत गतिमा अगाडि बढाउन चाहने देशहरुले सिको गर्न सक्नुपर्छ । कामलाई विभिन्न विधाहरुमा विभाजन गरेर कामको प्रकृति अनुसारको गुणस्तरीय प्रशिक्षणको नतिजा हो अष्ट्रेलियाको विकासको चकाचौध । घर बनाउने कामलाई विभिन्न भागमा विभाजन गरेर विभाजित गरिएका सम्पूर्ण कामहरुको प्रशिक्षणबाट जिम्मेवारी पाएका कामदारहरु र तिनको इमानदार, गुणस्तरीय कामको परिणाम र परिणति हो, अष्ट्रेलियाका समान, सुन्दर आवासीय घर र समग्र विकास ।
विभिन्न प्रकारका सानाठूला मेसिन औजारहरुको प्रयोग अत्यधिक गरिन्छ । कामहरुलाई सहज, छिटो र सजिलो बनाउन ठूलासाना औजारहरुको प्रयोगले फिनिसिङको विषयमा प्रश्न गर्ने ठाउँ कतै भेटिँदैन । त्यसैले विकास भाषणले हुँदैन विकासको भरपर्दाे पूर्वशर्त नै विविध कामसँग सम्बन्धित व्यावहारिक र गुणस्तरीय प्राविधिक शिक्षा, औजार उपकरण मेहनती, दक्ष र इमानदार प्रशिक्षित जनशक्ति हुन् । विकासमा बामे सर्ने प्रयास गर्दै गरेका देशले दिगो विकासको पूर्वशर्तहरु पढ्ने पाठशाला हो अष्ट्रेलिया । विकासको पूर्वशर्त हो गुणस्तरीय प्रशिक्षण, आधुनिक औजारको प्रयोग र गुणस्तरीय जनशक्ति उत्पादन । प्रशिक्षण र रोजगारीलाई अन्तर्सम्बन्धित बनाउने नीतिका साथै विविध प्रकारका औजारहरु र मेसिनरीहरुको प्रयोग गर्न योग्य कामदारहरुको दक्षताको परिणाम हो, अष्ट्रेलियाको सुन्दरता र विकास साथै मानवनिर्मित भूस्वर्ग ।
हाम्रो जस्तो आँगन भने अष्ट्रेलियाका घरहरूमा पाइँदैन । पुराना घरहरुमा काठको कम्पाउण्ड छ । नयाँ घरहरुमा टिन र फलामका डण्डीहरुले कम्पाउण्ड गरेको पनि देखिन्छ । कुनै कुनै घरहरुमा अत्यन्तै सीमित रूपमा फलामे खम्बामा काठ वा सिमेन्टका फलेकहरुले कम्पाउण्ड गरेको पनि देखिन्छ । यसरी लगाइएका कम्पाउण्डहरु कलात्मक तरिकाले लगाएका कारण हेर्दा सुन्दर छन् । काठको प्रयोग हाम्रो सन्दर्भमा धमिरो लाग्ने र वर्षाले कुहिने हुन्छ तर यहाँ प्रयोग हुने काठको आयु जानकार ४०/५० वर्षसम्म हुन्छ भन्छन् । सबै घरहरुको अगाडिपट्टि सडकबाट मूलढोकासम्म धेरै घरहरुमा काठले बनेको सुन्दर बाटो हुन्छ । सीमित घरहरुमा प्रवेश गर्ने बाटोमा सिमेन्ट प्रयोग हुन्छ ।
घरअगाडिको भाग विभिन्न जातका सुन्दर फूलहरुले र थोरै भए पनि दुबो लगाउने ठाउँले प्रायः सबै घर सजिएका छन् । सरसफाइ र दुबोको काँटछाँट नभए हुने दण्ड जरिवानाले सबैलाई सचेत रहन निर्देश गर्छ । छिटपुट घरहरुका अगाडि फलफूलका बिरुवा देख्न सकिन्छ । घरको ठिक्क अगाडि एउटा रूख भने अनिवार्य रोपिएको हुन्छ । पार्कहरुमा हरियालीको समुचित व्यवस्था संसारले नै हेर्न लायक छ । पार्कमा मात्रै होइन पार्कमा जाने ठाउँहरुमा जतासुकै बेन्च र टेबुलको व्यवस्था छ । सडक, पार्कका रूख बिरुवालगायत सबै विषयको रेखदेख, काँटछाँट, मलजल आदिको समुचित व्यवस्था काउन्सिलले अर्थात् स्थानीय सरकारले गर्छ ।
पार्कमा रहेका बालक, जवान र वृद्धहरुका मनोरञ्जन र व्यायामका सामग्रीमा टुटफुट, तोडफोड कतै नदेखिनु नेपालसँग तुलना गर्दा अनौठो लाग्छ । सडकको दायाँबायाँ हरिया, पहेँला र राता पात भएका रूखहरुले घरपरिवेश र सडकसमेत सुन्दर छन् । अष्ट्रेलियाको राजधानी क्यान्बेरा शहरको विशेष हरियाली र सुन्दरता बाँकी विश्वका लागि पक्कै पनि अनुकरणीय हुनुपर्छ । सबै काममा सरकार असफल भएको नेपालजस्तो देशले अष्ट्रेलियामा हरियाली प्रबद्र्धन र पार्क, सडक व्यवस्थापनमा सरकारले निर्वाह गरेको भूमिकाबाट सिको गर्नुपर्ने विषयको छुट्टै महत्व छ । शहरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने यदि इमानदार प्रयत्न गर्दा किन हुँदैन भन्ने गहकिलो प्रमाण जताततै भेटिन्छ ।
यहाँ घर इँट्टा माटोबाट होइन सिमेन्टबाट बन्छ । रातो, कालो, फुस्रो विभिन्न रंगका इँट्टा प्रयोग भएको देखिन्छ । घरको पर्खालमा बाहिर इँट्टा बीचमा तोतोचिसो रोक्ने वस्तु र भित्रपट्टि देख्दा इँट्टाजस्तै लाग्ने तर प्लाइउडमा कलात्मक तरिकाले रङ गरिएको हुन्छ ।
आवासीय घरहरुको निर्माणमा फलामे मसिना डण्डीको प्रयोग भूइँको ढलानमा बाहेक अन्यत्र कतै हुँदैन । तलैबाट फलाम र कंक्रिटले बनेका जंगी पिलर ठड्याउने गरिँदैन । झ्यालहरुमा ग्रिल र दण्डीको प्रयोग हुँदैन । झ्यालहरुमा काठको प्रयोग छैन । फगत आल्मुनियमको फ्रेम र सिसाको प्रयोग हुन्छ । सुरक्षाको दृष्टिकोणले भने असुरक्षितजस्तो लाग्छ । सुरक्षाका साथै मानिसलाई अनुशासित, जनजीवनलाई व्यवस्थित गर्ने जिम्मा सिसी क्यामराको हुन्छ । यहाँ मानिस कि त कानुनसँग डराउँछन् कि त सिसी क्यामरासँग डराउँछन् । सबै घरहरुमा सिसी क्यामरा चौकिदारको रूपमा छन् । घरमा प्रवेश गर्ने एक मूलढोका हुन्छ । त्यहाँ हाम्रामा जस्तो साँचो झुण्डिएको देख्न पाइँदैन । हेण्डिलमा नै नदेखिने ठाउँमा लक हुन्छ ।
अर्को प्रवेशद्वार भनेको मोटर राख्ने ग्यारेज हो । अष्ट्रेलियामा मोटरकार नहुने र नेपालमा चप्पल नलगाइकन हिँड्नेको संख्या बराबर होला । खासगरी मूलढोका आवतजावतमा कम प्रयोग हुन्छ । किनकि सबै गाडी लिएर जाने र आउने हँुदा सबैले ग्यारेजको बाटो प्रयोग गर्छन् । ग्यारेजमै जुत्ताचप्पल राखिन्छ । ग्यारेजको ढोका अटोमेटिक हुन्छ । कारबाटै खुल्न र बन्द गर्न मिल्छ । घरभित्रको सुविधामा कमी छैन । किचेनमा कसरी सुविधा हुन्छ त्यसको राम्रो प्रबन्ध छ । किचेनमा पिउने तातो र चिसो पानीको व्यवस्था छ । अधिकांश घरमा भाँडा माझ्ने डिसबासरको व्यवस्था पनि छ । लुगा धुने र सुकाउने मेसिन सामान्य मानिन्छ ।
धेरै घरहरुमा सफाइ रोबर्टले गर्छभन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । किचेन पनि प्रायः बाहिर र भित्र दुईवटा हुन्छन् । धेरै परिकारहरु पकाउन बाहिरी चुल्हो प्रयोग हुन्छ भनेभित्र थोरबहुतमात्रै पाक्छ । दुईवटा भान्साकोठा भने सीमित घरहरुमा मात्रै हुन्छ । कम्तीमा दुई-तीन बेडरुमभन्दा कमका घर हुँदैनन् । कोठाहरुको संख्या जमिनको क्षेत्रफलमा निर्भर हुन्छ । कम क्षेत्रफल हुनेहरुले बनाउने र ठूलो क्षेत्रफल हुनेहरुले बनाउने आकारप्रकारभित्र फरक भए पनि बाहिरी आवरण भने सबैको समान देखिने अष्ट्रेलियाका आवासीय घरहरुको प्रमुख विशेषता हो । ठाउँठाउँमा सानो परिवारका लागि सस्तोमा अपार्टमेन्टहरु छन् । घरभित्रको परिवेश नेपाल-भारतका घरभन्दा नितान्त भिन्न छ ।
त्यो के भने यहाँका घरका कोठाहरुका ढोकाहरुमा बाहिर साँचो लगाउने र भित्रपट्टि चुकुलको व्यवस्था हुँदैन । यहाँका दराजहरुमा पनि साँचो लगाउने ठाउँ नै हुँदैन । त्यतिमात्र होइन यहाँका घरहरुका शौचालयहरुमा भित्रबाट चुक्कुल लगाउने व्यवस्था छैनभन्दा हुन्छ । सार्वजनिक शौचालयहरुमा भने भित्रबाट चुकुल लगाउने प्रबन्ध छ । अर्को अनौठो के छ भने व्यक्तिगत घरका शौचालय र स्नान कक्ष अलग हुन्छन् । शौचालयहरुमा फ्लस गर्नेबाहेक पानीको धाराको प्रबन्ध हुँदैन । सार्वजनिकदेखि निजी शौचालयमा ट्वाइलेट पेपररोल राखेको हुन्छ । त्यसले पुच्छ्दा चित्त नबुझ्नेहरुका लागि वैकल्पिक व्यवस्था नहुने विषय नेपालको सन्दर्भमा अनौठो भन्नुपर्छ ।
यहाँ घर इँट्टा माटोबाट होइन सिमेन्टबाट बन्छ । रातो, कालो, फुस्रो विभिन्न रङका इँट्टा प्रयोग भएको देखिन्छ । घरको पर्खालमा बाहिर इँट्टा बीचमा तोतोचिसो रोक्ने वस्तु र भित्रपट्टि देख्दा इँट्टाजस्तै लाग्ने तर प्लाइउडमा कलात्मक तरिकाले रङ गरिएको हुन्छ । बस्नलाई स्वस्थ्यकर होस् भनेर भित्री भागमा काठको मात्रै प्रयोग हुन्छ । घर निर्माण सामग्रीको रूपमा काठको अत्यधिक प्रयोग हुन्छ । आफ्नो जंगलमा प्रशस्तै काठ हुँदाहुँदै आवश्यकता आयातबाट पूरा गर्छ ।
सबै घरमा भान्सा, स्टोर, डाइनिङ हल र बैठक कोठा जोडिएका हुन्छन् । घरको धेरै क्षेत्रफल यस भागले ओगट्छ । सार्वजनिक धाराबाट आपूर्ति हुने तातो र चिसो पानी यति स्वच्छ हुन्छ कि सबैले निर्धक्क पिउँछन् । घरको छानामाथि र अण्डरग्राउण्ड पानीको ट्यांकी राख्नु पर्दैन । बिजुली ग्यास र पानी राज्यले पाइपबाट आपूर्ति गर्छ । अष्ट्रेलियामा २०/२५ वर्षदेखि बस्दै आएका आप्रवासीहरु पानी, बिजुली र ग्यासको आपूर्ति रोकिएको थाहा छैन् भन्छन् ।
सरकारको सेवा यदि सरकारका संयन्त्रहरु राम्रो सञ्चालन गर्दा व्यवस्थित हुन्छन् भन्ने राम्रो उदाहरण हो अष्ट्रेलियाका सार्वजनिक सेवाहरुको नियमितता र गुणस्तर । आवासीय क्षेत्रहरुमा बाक्लै पार्कहरुको व्यवस्था तिनीहरुको सञ्चालनमा काउन्सिलको नियमित, विश्वसनीय सेवाले नै आवास क्षेत्रलाई स्वर्गसरह बनाएको कुरा बाँकी संसारले कहिले अनुकरण गर्ने ? गरे किन हुँदैन भन्ने प्रमाणले अष्ट्रेलिया भ्रमणले मुटु चस्कन्छ । अष्ट्रेलिया भ्रमण गर्दा आनन्द लाग्छ तर आफ्नो देशका नेता, व्यवस्थासँग तुलना गर्दा भने औडाहा हुन्छ । (अष्ट्रेलियाको मेलवर्न शहरको ओलर्टबाट)







आवासिय घर बारे यथार्थ जानकारी।