विकास निर्माणको नाममा, सडक विस्तारको नाममा राज्यले विटप (वृक्षहरू कटान गर्ने) गरेको छ । ठाउँठाउँमा भएका वर पिपलका चौतारा वा शमीको वृक्षसहित कटान गर्ने गरेको छ । जब कि विकसित मुलुकहरूमा रूख बिरुवाहरू जोगाएर सडक र विमानस्थल निर्माण गर्ने गर्छन् । राज्य कतै कमिसनको चक्करमा त कतै विकासको नाममा विटप हत्या गर्ने काम गरिरहेको छ । सरकारका लागि विटप हत्या एउटा मामुली घटना हुनसक्छ । पुरानो बांगला फिल्म ‘चिरदिनेर’ मा एउटा गीत छ (मानुष खुन होले परे, मानुषेइ तार विचार करे, नेइ तो खुनेर माफ, तबे केनो पाएना विचार निहत गोलाप ।’
मानिसको हत्या भए, मानिसले नै त्यसको निसाफ गर्छ, छैन हत्याको माफ, तब किन पाउँदैन निसाफ निहत गुलाफ । जड प्राणीमा अर्थात् वनस्पतिमा पनि प्राण हुन्छ भन्ने कुरा हाम्रा वेदहरूले भनेकै छ । सर जगदीशचन्द्र बसुुले रूख–बिरुवाहरूमा पनि प्राण हुन्छ भनेर वैज्ञानिक प्रमाण पेश गरेपछि उनले नोबेल पुरस्कार पाएका थिए । वनस्पतिहरू पनि एकआपसमा खेल्छन्, गीत गाउँछन्, माया लाउँछन्, सन्तान उत्पत्ति गर्छन् । मानिस र उसमा कुनै फरक छैन, फरक छ भने मानिस चलायमान प्राणी हो, वृक्ष, लताहरू जड अथवा स्थिर प्राणी ।
सनातन संस्कृतिमा वृक्षलाई मानवका लागि स्वास्थ्य तथा पर्यावरणको मुख्य घटकको रूपमा लिइएको छ । वनस्पतिको यही गुणका कारण उसलाई देउताको रूपमा पूजिन्छ । हाम्रो पृथ्वी वृक्षबाट उत्पन्न भएको हो । ब्रहृमाजीले पहिले जलमा बीज रोपे र वनस्पति उत्पन्न भयो ।
आत्मा वृक्ष र वनस्पतिहरूमा पनि छ, त्यसैले आध्यात्मिक कारणले उसँग सद्व्यवहार गर्नुपर्छ । सनातन धर्ममा वृक्ष रोपण गर्नु र त्यसको स्याहार गर्नु पुण्य कार्य हो भनेर मानिएको छ । त्यस्तै त्यसलाई काट्नु र बढ्न नदिनु पाप भनिएको छ । वृक्षले हामीलाई प्राणवायु, जीवनतत्व, हरितिमा, छाया, दाउरा, पुष्प, फल आदिका साथै औषधि दिन्छ । वैदिक मान्यतानुसार वृक्षहरूमा प्राण छ जसलाई वैज्ञानिकहरूले पनि सत्य प्रमाणित गरेका छन् । हरियो हुनु वृक्ष, लता आदिको जीवन हो र ऊ सुक्नु उसको मृत्यु । मनुष्यजस्तै आहारमा जीवित रहने, सास लिने, सूर्य रश्मिहरूबाट जीवन ग्रहण गर्ने, कामक्रीडालगायत क्रिया वृक्ष वनस्पतिहरूले पनि गर्दछन् ।
त्यसैले उनीहरू पनि प्राणी जगतको एउटा अंग हुन् । (जीवला न धारिषाँजीवन्तीमोषधीमहम् । अथर्ववेद) यस मन्त्रले औषधिहरू ( वनस्पतिमा जीवन भएको प्रमाणित गर्छ । अस्य सोम्य महतो वृक्षस्य यो मूलेस्भ्यालन्याज्जीवन्स्रवेद्योक ग्रेक भ्याहन्याज्जीवन्स्रवेत्स एष जीवेनात्मनानुप्रभूतः पेपीयमानो मोदमानस्तिष्ठति । छान्दोग्य उपनिषद्) अर्थात् हे सौम्य ¤ यदि यो ठूलो वृक्षलाई मूलबाट काटे यसबाट रक्तपात हुन सक्छ तर जीवित रहन्छ, मध्य र अग्रभाग काटे त्यस्तै जीवन रस चुहिन्छ तर जीवित रहन्छ । यसैले प्रतीत हुन्छ कि वृक्ष जीवात्माले अधिष्ठित भएको छ ।
एक स्थानबाट जीवन रक्त निस्केपछि रोगी अंग जस्तै वृक्षहरूको अनेक हाँगाहरू सुक्न थाल्दछन् । जब वृक्षबाट जीवात्माको अन्त्य हुन्छ तब ऊ सुक्छ र त्यसमा कुनै प्रकारको प्राण स्पन्दन हँदैन । मनु स्मृतिमा भनिएको छ, ‘उद्भिजाः स्थावराः सर्वे बीजकाण्ड पुरोहिण, औषध्य फलपाकान्ता वह पुष्प फलोपणाः ।।’ कर्मानुसार जीव, उद््भिज र स्थावर योनिहरू औषधि फलफूलहरू भएको वृक्षहरू, बिरुवाहरू पनि जन्म ग्रहण गर्छ । अनेक मन्त्रहरूमा यो पनि भनिएको छ कि उनीहरूलाई पनि मनुष्य जस्तै सुखदुःखको अनुभूति हुन्छ । बोटबिरुवाले सास पनि लिन्छन् र जराद्वारा भोजन लिन्छन् । उनीहरू केवल हिँडडुल गर्न सक्दैनन्, त्यसैले उनीहरूलाई स्थावर भनिएको हो । जसले हामीहरूलाई प्राणवायु दिन्छ, फलफूल दिन्छ, औषधि दिन्छ, दाउरा दिन्छ, छहारी दिन्छ त्यसलाई काट्नु महापाप हो ।
हामीले यदि उपवनतिर गएर हे¥यौँ भने फूलहरूमाथि बसेका पुतली, मौरीहरू, भ्रमर आदि आफ्ना खुट्टामा एक प्रकारको पहेंलो धुलो बेरेका हुन्छन् । तर, उनीहरूलाई थाहा हुँदैन यो परागद्वारा उनीहरूले वृक्षहरू, बिरुवाहरू, वनस्पतिहरूमा रतिक्रीडाको आवश्यकता त्यसरी नै पूरा गरेका हुन्छन् जसरी स्त्री र पुरुषको संयोगले जीवको उत्पत्ति हुन्छ, वृक्ष, वनस्पतिहरूमा पनि ठीक त्यस्तै क्रिया सम्पन्न हुन्छ । उनीहरू विना वंश वृद्धि हुँदैन । वनस्पति विज्ञान अनुसार फूल दुई प्रकारका हुन्छन् । पुंकेशर (पुरुष योनी र स्त्रीकेशर (स्त्री योनी) । स्त्रीकेशरको तल्लो भागमा बीजाण्ड हुन्छ । जबसम्म यस भागमा पुंकशेरको परागकण पुग्दैन तबसम्म प्रजनन् कार्य हुँदैन । फूल सुकेर जान्छ जबसम्म वर्तिकाग्रमा पराग झर्दैन ।
परागकणको क्रिया गर्भधारणजस्तै हो र त्यसैले फूलबाट फल उत्पत्ति हुन्छ । यदि वृक्ष, वनस्पितिमा प्राण न भएको भए यो क्रिया हुने थियो र ? वृक्ष, वनस्पतिहरूको प्रजनन् विज्ञान मनुष्यको जस्तै हुन्छ । वर्णसंकर पैतृक बिरामी र गुणहरू सबै कुरा उसमा पनि मनुष्यकै जस्तो हुन्छ । असल नस्लको फलफूल उत्पन्न गर्न असल नस्लको पुंकेशर र स्त्रीकेशरहरू मिसाइन्छ । प्रत्येक वृक्षहरूको फूलमा मादा र नरको प्रकार अलग अलग हुन्छ र ती दुबैको संयोगले उसको वंश वृद्धि हुन्छ । बीजाण्डमा फलको विकास गर्भकोषमा भएको वीर्यबाट शिशुको विकासजस्तै हुन्छ ।
जसरी जीवित प्राणी प्रोटो प्लाज्मा नामक तत्वले बनेको हुन्छ र त्यसको सबैभन्दा सूक्ष्म कणलाई सेल भनिन्छ । त्यस्तै वनस्पतिको सबैभन्दा सानो अणुको नाम जीवाणु हो । यसलाई एक कोशिका भएको बिरुवा भनिन्छ र यो यति सूक्ष्म हुन्छ कि माइक्रोस्कोपको सहायता बिना हेर्न सकिँदैन । यही जीवाणु नै मनुष्य र पशुहरूको आहार नलीमा हुन्छ र सेल्युलौजवाला (सेल्युलोज एउटा फाइबर हो जो बिरुवाको कोशिका पर्खालको भागको रूपमा फल, तरकारी र अन्य बिरुवाहरूको खाद्य पदार्थमा पाइन्छ । र यो बिरुवाहरूको कोशिकाहरूको पर्खालको मुख्य पदार्थ हो, जो बिरुवालाई कठोर र सोझै रहन मद्दत गर्छ । जीवाणु कोशिकाको लम्बाई ०.५ माइक्रोनसम्म हुन्छ ।
सनातन संस्कृतिमा वृक्षलाई मानवका लागि स्वास्थ्य तथा पर्यावरणको मुख्य घटकको रूपमा लिइएको छ । वनस्पतिको यही गुणका कारण उसलाई देउताको रूपमा पूजिन्छ । भूर्जज्ञ उत्तान पादो (ऋग्वेद अर्थात हाम्रो पृथ्वी वृक्षबाट उत्पन्न भएको हो । मान्यता यो छ कि ब्रहृमाजीले पहिले जलमा बीज रोपे र वनस्पति उत्पन्न भयो । गीतामा श्रीकृष्णले भन्नुभएको छ । ‘अहं क्रतुरहं यज्ञ स्वधाहमहमौषधम् ।’ अर्थात् म नै औैषधी हूँ र अश्वत्थः सर्व वृक्षाणां । वृक्षहरूमा पीपल । तर राज्य वरपीपलका चौताराहरू भत्काएर वृक्षको हत्या गर्न लाज मान्दैन । हाम्रो शास्त्रमा वरपीपलका वृक्ष काट्नु पाप भनिएको छ । पद्म पुराणमा भगवान विष्णुलाई पीपल रूप, वटलाई रुद्ररूप र पलाशलाई ब्रहृमरूप मानिएको छ ।
हामीभित्र जबसम्म वृक्ष, वनस्पतिहरूप्रति गहिरो संवेदना उत्पन्न हुँदैन तबसम्म पर्यावरणको दोहन र शोषण भइरहन्छ । हाम्रो धर्मशास्त्रले प्रत्येक प्राणीमात्र होइन, यो धरती, यो नभ, यी वनस्पति, वृक्ष, लता आदिको शान्तिको कामना गर्दै सबै शान्तिसँग बाँच्न पाउने अधिकारको कुरा गरेको छ ।
तर, हाम्रा शासकवर्ग हाम्रा धर्मको प्रतीक ब्रहृमा, विष्णु र रुद्रको हत्या गर्न पछि पर्दैनन् न त हामी यसको रक्षाका लागि राज्य विरुद्ध प्रतिरोध गर्न अगाडि सर्छौं । वाराह पुराणमा भनिएको छ जसले नीम, वर र पीपलको एक एक वटा, अनार वा सुन्तलाको दुई, आँपको पाँच र लताहरूको दश वृक्ष लगाउँछन् ऊ कहिल्यै पनि नारकीय पीडा भोग्दैन र नर्कको यात्रा गर्दैन । समुद्र मन्थनबाट कल्पवृक्षको उत्पत्ति हुनु र देउताहरूद्वारा त्यसलाई ग्रहण गर्नुले वृक्षको महत्वलाई दर्शाउँछ । पृथ्वीसूक्तमा लेखिएको छ वन तथा वृक्षले वर्षा ल्याउँछ, माटोलाई बग्नबाट बचाउँछ, बाढी र सुक्खालाई रोक्छ तथा दूषित ग्यासलाई स्वयं पिउँछ । तुलसीलाई वायु शोधन तथा पवित्रताको प्रतीक मान्दै आँगनमा लगाइन्छ ।
यसलाई सर्वाधिक अक्सिजन प्रदायक बिरुवा मानिन्छ । सनातनी संस्कृतिमा विल्ववृक्षलाई शिवजीसँग जोडिन्छ र यसको पात शिवलिंगमा चढाइन्छ, जसबाट शिवलिङ्गमा भएको तीव्र ऊर्जालाई उसले सोस्छ । अथर्ववेदमा भनिएको छ ‘वै भद्रो बिल्वो महान् भद्र उदुम्बरः ।’ अर्थात् औषधीय गुणहरूयुक्त भएको कारण बिल्वको तुलना उपकारी पुरुषसँग गरिएको छ । नीम बहुउपयोगी औषधीय गुण भएको वृक्ष भएकाले यसको पूजा पनि गरिन्छ । बौद्ध तथा जैन परम्परामा वृक्षलाई बडो सम्मान र आदरको दृष्टिले हेरिन्छ । भगवान बुद्धले पिपलको वृक्षमुनि तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए । हाम्रा सनातन धर्मविरोधी शासकवर्ग यसको हत्या गर्नमा पुरुषार्थ देख्छन् ।
जहाँ पिपल वृक्षले सर्वाधिक अक्सिजन दिने र कार्बन लिने गर्छ त्यहीँ यसको औषधीय गुण पनि छ । यसको बोक्रामा जीवाणुरोधक टेनिन पाइन्छ र फलले चर्मरोग र फोक्सोको रोग दूर हुन्छ । न्याउरी मुसालाई सर्पले डसे ऊ जडिबुटीद्वारा उपचार गरेर ठीक हुन्छ । वैज्ञानिक जर्नल नेचरको २ मई २०२४ को अंक अनुसार सुमात्राको एउटा वनमा ओरंगुटार (वानर प्रजातिको जानवर) आफ्नो गालामा लागेको घाउलाई सञ्चो पार्न औषधीय बिरुवाको लेप सात दिनसम्म लगाउँदा घाउ ठीक हुन्छ । यस्तै सुमात्रामा सन् २०२२ मा वानर प्रजातिकै राकसलाई तिखोे दाँतको घाउ गालामा देखिएको थियो ।
उसले एउटा बिरुवाका पातहरूको लेप घाउमा लगायो र केही दिनपछि त्यसको तना र पात खायो, जसको उपयोग स्थानीय मानिसले मधुमेह, पेचिस र मलेरियालगायत अन्य रोगहरूमा प्रयोग गर्छन् । पातलाई खाएपछि राकसले सात मिनेटसम्म त्यसको लेप अनुहारमा लगायो । भोलिपल्ट फेरि बिरुवा खायो । चोट लागेको आठ दिनपछि उसको घाउ पूर्णरूपेण सञ्चो भयो । यसरी वनस्पतिले मानिस मात्र होइन पशु र चराचुरुंगीहरूलाई पनि औषधि प्रदान गर्छ ।
जैन तीर्थंकर ऋषभदेवले वटवृक्षमुनि ज्ञान प्राप्त गरेका थिए । याज्ञवल्क्य स्मृतिमा वृक्ष काट्नुलाई अपराध मान्दै वृक्ष हत्यारालाई दण्डको विधान छ । धर्म निरपेक्षताको नाममा हाम्रो सनातन धर्म, संस्कृति र परम्परालाई मास्न राज्य युद्धस्तरमा लागेको छ । तर, हामी जनतामा हाम्रो अमूल्य धरोहरप्रति कुनै संवेदना नभएकाले राज्यले आफ्नो प्रवृत्तिलाई तेज पार्न बल प्राप्त गरेको छ । हामी सनातन धर्मावलम्बी जिउँदा लाशजस्तै भएका छौं । जब मानिसको हत्या हुन्छ तब न्यायालयले त्यसको निसाफ गर्छ तर वृक्षलताहरूको हत्या हुँदा उनीहरूले किन निसाफ पाउँदैनन् ? किन हामीले यज्ञवाल्क्य स्मृति अनुसारको वृक्षको हत्या गर्नेहरूलाई दण्डको भागी बनाउन सक्दैनौँ ?
हामीभित्र जबसम्म वृक्ष, वनस्पतिहरूप्रति गहिरो संवेदना उत्पन्न हुँदैन तबसम्म पर्यावरणको दोहन र शोषण भइरहन्छ । हाम्रो धर्मशास्त्रले प्रत्येक प्राणीमात्र होइन, यो धरती, यो नभ, यो अन्तरिक्ष, यी वनस्पति, वृक्ष, लता आदिको पनि शान्तिको कामना गर्दै सबै शान्तिसँग बाँच्न पाउने अधिकारको कुरा गरेको छ । प्रकृतिको वरदान वन, उपवन, वृक्ष, लता आदिले शान्तिपूर्वक बाँच्ने अधिकारको हनन् गर्दै उनीहरूको हत्या गर्ने अपराधीहरूमाथि कसले कठोर दण्ड दिने ? आखिर प्रकृतिको प्रत्येक सृष्टिमध्ये वन, उपवन, वृक्ष, लता आदिमा प्राण छ । प्राणीको प्राण हरण गर्ने अधिकार राज्यलाई कसले दियो ?

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा