काठमाडौं । कैलालीको टीकापुरस्थित ३० बिगाहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ ।
टीकापुर विकास समिति र पहुँचवालाको मिलेमतोमा उक्त क्षेत्रमा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ।
यसैबीच अख्तियारको पत्राचारपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (ब्यूरो)ले कीर्तेतर्फ पनि अनुसन्धान थालेको हो ।
ब्यूरो प्रमुख श्यामलाल ज्ञवालीका अनुसार अख्तियारको पत्राचारपछि कीर्तेतर्फ पनि अनुसन्धान थालिएको र ब्यूरोबाट अनुसन्धान टोली तत्काल नै कैलाली पठाइँदैछ ।
यसअघि अख्तियारले दायर गरेको मुद्दामा ‘टीकापुर नगरपालिका–१ स्थित टीकापुर बजार क्षेत्रको करिब ६ सय रोपनी जग्गा नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको’ उल्लेख छ।
समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ(संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्थाबमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
राजनीतिक पहुँच र मिलेमतोमा जग्गा हिनामिना भएको आरोप लाग्दै आएको छ।
सो जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेतृ डा आरजु राणादेखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीसम्म संलग्न रहेको दाबी गरिएको थियो।






