डोजर लगाएपछि सुक्यो खोरताल

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-४ तंग्राम स्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले भरि भराउ थियो । तालको बीचमा निलो गरि जमेको पानी बाह्रै महिना रहन्थ्यो । तर अहिले तालमा पानी होइन कमिला डुल्छन् । गाउँमा जथाभावी सडक निर्माण र तालमा डोजर लगाएपछि पानी रित्तिएको हो । तंग्राम गाउँका शिरमा रहेको खोरताल संरक्षण गर्ने भन्दै आर्थिक वर्ष २०७९/८० काठेखोला गाउँपालिकाले डोजर लगाएर कङ्क्रिटको पर्खाल लगाएको थिए । त्यसपछि ताल पानीविहीन भएको स्थानीय गंगाबहादुर किसानले बताउनुभयो ।

गाउँलेले ताललाई परम्परागत रुपमा संरक्षण गर्दै आएको सुनाउँदै सिमेन्टको पर्खालका कारण ताल सुकेको बताउनुभयो । धार्मिक महत्वसँग जोडिएको यो तालमा पहिले-पहिले स्थानीयले पूजाआजासमेत गर्ने गरेको भन्दै अहिले त्यो पनि हराएको उहाँको भनाइ छ । तालमा एकाएक पानी सुक्न थालेपछि स्थानीय अचम्मित बनेका छन् । किसनाले अहिले बाहिरबाट पानी लिएर हाल्ने स्थिती आएको बताउनुहुन्छ । दुई वर्ष अगाडि तालमा ४० प्रतिशत पानी रहेको उहाँको भनाइ छ ।

“यहाँ ठूलो पानीको ताल थियो, गाउँले यहीँ पानी भर्ने गर्थे, पहिले-पहिले भैँसी राँगा डुबेपछि कोही पनि ताल भित्र पस्दैनथे, तर अहिले तालमा धुलो उड्छ, किन यस्तो भयो हामीहरु निकै अचम्मित भएका छौँ, हिउँमा अलिअलि पानी घट्यो तर यस्तो सुख्खा कहिल्यै पनि परेका थिएन,” किसानले भन्नुभयो - “यो ताल निकै सुन्दर थियो, पानी निकै सफा हुन्थ्यो, हामी सानो हुँदा पानी भरेर खान्थ्यौँ, हावाले पात ल्याएर खसाले पनि चराले सफा गर्थ्याे, अहिले त धुलाम्मे बनेको छ, यहाँ पालिकाबाट योजना पर्‍यो, योजनाबाट यहाँ सिमेन्टको पर्खाल लगाउने काम भयो, त्यसपछि पानी पुरै सकेर सकियो ।”

स्थानीय दिलमाया किसानले ताल सुकेपछि वरपर खानेपानीको समस्या बढेको बताउनुभयो । आफू यो ठाउँमा आएको २५ वर्ष भएको सुनाउँदै यतिका समयसम्म खानेपानी अभाव नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो - “यो अवस्था त कहिलै भएको थिएन, म यहाँ आएको पनि साढे दुई दशक बित्यो तालमा पानी सुकेको कहिल्यै थाहा पाएको थिएन, सफा पानी थियो, वरपरकाले भरेर पिउने गर्थे, अहिले तालमा एक थोपा पनि पानी छैन ।”

ADVERTISEMENT

काठेखोला गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण पुनले जलवायु परिवर्तनका कारण ताल सुकेको बताउनुभयो । तालसँगै गाउँमा भएका थुप्रै पानीका मुहानहरु सुकेको उहाँको भनाइ छ । ताल निकै सुन्दर र पर्यटकीय संभावना बोकेको हुँदा गाउँपालिकाले ३० लाख लगानी गरे संरक्षण गरेको उहाँ बताउनुहुन्छ । पहिले हिउँद बर्खा पानी रहने ताल अहिले सुख्खा बनेको अध्यक्ष पुनको भनाइ छ ।

“यो धेरै वर्ष पुरानो ताल हो, पर्यटकीय हिसाबले यसको प्रचारप्रसार, संरक्षण र सौन्दर्यकरण गर्न जरुरी थियो, सोही अनुसार बजेट व्यवस्थापन गरेर काम गरेका थियौँ, तर अहिले तालमा पानीनै सुक्यो” अध्यक्ष पुनले भन्नुभयो - “तालसँगै अन्य ठाउँमा भएको खानेपानीको मुहानसमेत सुकेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष असर यहाँ परेको देखियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?