काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्डलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको छ ।
मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताउनुभएको हो ।
उपप्रधानमन्त्री यादवले २/४ जना लोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवा स्वप्ना मात्रै रहेको बताउनु भयो । निर्दलीय व्यवस्थाबिरुद्ध लडेका काँग्रेस कम्युनिष्ट बिरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको बताउनु भयो । पार्टीबाट केही लोभीहरु अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने दाबी गर्दै अब जसपा नेपाल थप गतिका साथ अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘षड्यन्त्र गर्नेहरु मात्रै नभई त्यो व्यवस्था नै सखाप भए, अहिले आएर जसपा नेपाल बिरुद्ध गरिएको षड्यन्त्र स्वरुप २/४ जनालाई फुटाएर लग्दैमा रण जितेको सोच्नु भ्रम मात्रै हो । मधेसको मुद्दा, संघियता संस्थागत लगायतका मुद्दालाई कमजोर पार्ने उद्देश्यले पहिलेदेखि नै षडयन्त्र हुँदै आईरहेको थियो, सोही षड्यन्त्र स्वरुप अतृप्त आत्माहरुलाई प्रयोग गरेर जसपा नेपाल माथी मात्रै नभई मधेसमाथि प्रहार गरिएको हो । यहाँबाट भागेकाहरु उतैबाट फुटेर आएका थिए, त्यही गएका छन् अब कहाँ जान्छन् ठेगान छैन, जता स्वार्थ पूर्ती हुन्छ उतै लाग्छन् होला । जसरी शरीर स्वस्थ रहनका लागि विकार निकाल्नुपर्छ राम्रै विकार निक्लिएर गएको छ अब स्वच्छताका साथ पार्टी थप वेगले अगाडी बढ्नेछ ।’
उहाँले मधेसको मुद्दा र संघियता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताउनु भयो । अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts