काठमाडौं । लामो समय पानी नपरी हावाहुरी मात्र चलिरह्यो भने धुवाँधुलोले वायुमण्डलमा प्रदूषण बढाई ब्याक्टेरियालाई सक्रिय पार्ने भएकाले यो समयमा आँखासम्बन्धी संक्रमण पनि बढ्ने गरेको आँखा रोग विशेषज्ञले बताउने गरेका छन् ।
आँखासम्बन्धी समस्या गर्मीयाममा युवायुवती, वृद्धवृद्धासँगै बालबालिकामा पनि उत्तिकै देखा पर्ने गर्छ। पाँच वर्षमुनिका बालबालिकामा आँखा पाक्ने, आँखा रातो हुनेजस्ता समस्या बढी नै देखापर्ने देखिन्छ ।
बाहिरी वातावरणमा धेरै खेल्ने हुँदा यो समस्य बालबालिकामा बढी देखिनु स्वाभाविक पनि हो। घरबाहिर धुलोधुवाँको असरले आँखामा संक्रमण भई आँखा पाक्ने, आँखा रातो हुनेजस्ता समस्याले बालबालिकालाई सताउने गर्छ ।
आँखा पाक्ने समस्या देखा परे बालबालिकालाई समयमै अस्पताल लगेर आँखा जँचाउनु श्रेयस्कर हुन्छ ।
गर्मी मौसममा आँखा चिलाउने, बिझाउने समस्या बढी देखिन्छ । हाम्रो शरीरबाटै उत्पन्न हुने प्रतिक्रियाका कारण यस्तो हुने र मेडिकल भाषामा यसलाई ‘एलर्जी कन्जुम्टिभाइटिस’ भनिने गरिन्छ ।
सूर्यको विकिरण र वातावरण प्रदुषणका कारण गर्मीमा आँखालाई बढी खतरा हून्छ । प्रदुषित प्राकृतिक तातो हावाले आँखामा समस्या पारिदिन्छ । गर्मीका कारण आँखामा मेलानोमा या लायमोफोमाजस्ता रोग निम्तिने खतरा रहन्छ ।
गर्मी तथा घामा आँखा जोगाउन मुख्यतया: तीन सुत्र अनिवार्य जस्तै मानिन्छ ।
सनग्लासः सनग्लासले घामबाट आउने खतरनाक अल्ट्राभाइलेट ‘बी’ किरण रोक्छ । छाँयामा बस्दासमेत सनग्लास प्रयोग गर्नुपर्छ । छाँयामा पनि अल्ट्राभाइलेट हुन्छ, सीधा घाममा भन्दा केही डिगी्र कम मात्रै हो । आँखामा धुवाँ–धुलो सीधा पर्न पनि सनग्लासले दिँदैन ।
ह्याटः गर्मीमा ह्याट सकेसम्म नछुटाएको राम्रो हुन्छ । अल्ट्राभाइलेट किरणको सीधा असर घाममा पर्नबाट ह्याटले रोकिदिन्छ ।
हाइड्रेसनः आँखा स्वास्थ्य राख्न शुद्ध पानी निकै जरुरी हुन्छ । हरेक दिन कम्तीमा दुई लिटर पानी अनिवार्य पिउनुपर्छ, ताकि आँखामा डिहाइड्रेसन (पानीको कमी) नहोस् । डिहाइड्रेसनले आँखामा चिप्लोपना कम आउन सक्छ र आँखा सुक्खा भएर लाग्ने रोग निम्तिन सक्छ । पर्याप्त पानी पिउँदा आँखाको गतिविधिले गर्मीको प्रभाव सन्तुलित बनाउँछ ।
आँखा भनेको मानिसको संवेदनशील अंग हो। यसमा औषधीको प्रयोग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ।
एलर्जी हुँदा कडा खालको औषधी प्रयोग गर्ने गरेको पाइन्छ। जुन औषधी पसलमा सजिलै किन्न पाइन्छ। त्यसले आँखाको एलर्जीलाई तत्कालको लागि निको पार्छ। तर पछि गएर दृष्टिलाई नै असर पार्छ। यस्ता औषधी लामो समयसम्म प्रोग गर्यो भने पछि गएर आँखै नदेख्ने समस्या हुनसक्छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता