दर्शनका व्यावहारिक पक्ष :
हामी सरल जीवन बाँच्न सक्दैनौँ ? भन्ने जिज्ञासा दर्शनको आध्यात्मिक पक्षलाई स्वीकार गरेर अघि बढ्दा उठ्न सक्छ । एकोहोरो वा सरल के अर्थमा भने हाम्रो हृदयको भाषामा दोहोरो मानदण्ड प्रायः कम हुने गर्छ । बुद्धिले थिचेर निर्माण भएको भाषा र मनले स्वीकार गरेको भाषाका दुई तहमध्ये मनले अङ्गीकार गर्न चाहेका कुराहरू अलि बढी भरपर्दा हुन्छन् भनिन्छ । जस्तो हाम्रो जीवनको निर्धारक हामी होइनौँ । जन्म र मृत्यु हाम्रो अधीनमा छैन । हामीले विमति जाहेर गर्ने भनेको हाम्रा भनिएका कर्म र निर्णयहरूमा हो । हामीलाई हाम्रा कर्म र निर्णयहरू हाम्रै अधीनमा होऊन् भन्ने लाग्छ तर चेतनाले हाम्रो बुद्धिको जिद्दीलाई खिज्याइरहेको हुन्छ ।
केही प्रयत्न र निर्णयहरूले आफूलाई कर्ताको अभिमानको तहमा उभिएझैँ लाने पनि हामी कर्ता होइनौँ, हामी निर्णयकर्ता पनि होइनौँ भनेर हाम्रो अन्तःचेतनाले खबर्दारी गरिरहेकै हुन्छ । यो ऊ भन्न सक्दैनौँ कतै न कतै अदृष्टबाट निर्देशित हुन्छौँ । हामीले ईश्वर, धर्म आदि कुनै निर्धारक छैन भनेर बुद्धिको बलमा जिद्दी गरे पनि मनले कसैको अधीन स्वीकार गरिरहेकै हुन्छ । सार्वजनिक जीवनमा विभिन्न उपाधिहरूले सजिएर कतै धर्मविरोधी, कतै परम्पराविरोधी, कतै ईश्वरविरोधी यसैको प्रतिपक्षमा आवश्यकता अनुसारका उत्तरहरू खोजिरहेका हुन्छौँ । यसो भनिरहँदा हाम्रो आफ्नो मनले अर्कै भाषा बोलिरहेको पनि हुनसक्छ । अर्थात् हामी एक्लै बस्दा आफ्नै मनसँग यस्ता प्रश्नको उत्तर खोज्दा के पाइरहेका छौँ त ?
ईश्वर भनेको एउटा तत्व हो तर ईश्वरीयता यसको विस्तृत रूप हो । ईश्वरीयता भनेको दर्शनको अध्यात्मतर्पmको व्याख्या हो । अध्यात्म र ईश्वरवादका बीचमा गहिरो सम्बन्ध छ । ईश्वरीय तत्वहरूले ईश्वरको अस्तित्वलाई अझ प्राञ्जल पार्दछन् ।
उपाधिरहित मानिसको रूपमा उभिँदा हाम्रो शक्तिशाली परम्परा त्यसले निर्धारण गरेका निर्धारक तत्वहरूबाट पर रहेर आफ्नै बलबुताको कर्ममा भर पर्न र विश्वास गर्नसक्ने मानिस बन्न सकेका छौँ त ? संसारका यति धेरै मानिसहरू ईश्वर, धर्मको बहसमा सामेल भएका छन् तिनले आफ्नो चित्त बुझाउने उत्तर कतैबाट पाएका छन् त ? यति धेरै महत्वपूर्ण समय खर्चेर चिन्तनको क्षय किन बेहोरिरहनु परेको छ ? यसको समाधान सजिलो छैन । यसो भनिरहँदा यो कुनै धार्मिक वा सम्प्रदाय विशेषको प्रवचन माला होइन र कुनै मनगढन्ते गफमात्र पनि होइन भनेर बुझ्न आवश्यक छ । ईश्वर वा धर्मसम्बन्धी कुरा गर्दा वा मोक्षको विषयमा चिन्तन केन्द्रित गर्दा लाग्नसक्छ हामी पुरातनको अँध्यारोमा मक्किँदै गइरहेको परम्पराको भारी बोकेर कतै ढुन्मुनाउँदै त छैनौँ ?
अनि कतिपय नवीनताका पक्षधरहरूले त्यसैगरी आफूहरूलाई ईश्वरीय तत्वका विपक्षमा उभिएर धेरै आधुनिक बन्दै गइरहेका छौँ भन्ने खालको भ्रम वितरण गरिरहँदा पनि हामी पुरानै कुराको वरिपरिमात्र छौँ कि भन्नेजस्तो लाग्छ । तर, यो चिन्तनको पृष्ठभूमि ईश्वर, धर्म वा मोक्षको आध्यात्मिक भक्तिवादी समर्पणमा मात्र सीमित छैन । अनुदार भक्तहरूका रूप र विश्वासभन्दा धेरै भित्र, ईश्वरीय अस्तित्व, धार्मिक सत्ता र यसले मानव चेतनामा पार्ने गहिरो प्रभावको तार्किक निक्र्यौल अनि हामी अत्याधुनिक बन्दै जाँदा पनि भेटिन नसकेको भित्री जिज्ञासा, बुद्धिको क्षमताले भ्याउन नसकेको उचाइमा अवस्थित ईश्वरीय चेतनाको सम्मानमात्र पनि धेरै आधुनिक तर्कहरूभन्दा शक्तिशाली रहेको छ ।
अनि ईश्वर, धर्म आदिका कुरा पूर्वीय पद्धतिका अनुयायीहरूले मात्र गर्दैनन् पाश्चात्य साहित्यशास्त्रका प्रसिद्ध चिन्तकहरू पनि ईश्वर र धर्मको बहसमा सक्रियतापूर्वक सामेल भएका छन् । हामी प्लेटोका कुरा गरौँ, किकेगार्ड, माथ्यू अर्नोल्डलाई सम्झियौँ, नित्सेको ईश्वरका विरुद्ध स्थानापन्न महामानवको कल्पनाको कुरा गरौँ वा टी.एस.इलियटकै नैतिक धार्मिक विश्वासका कुरा गरौँ ईश्वर र धर्मको बहसमा यिनीहरूको उपस्थिति कम महत्वपूर्ण छैन । मानिस आफ्नो जीवनमा ईश्वर, धर्म आदि चिन्तनबाट नितान्त पर निस्पृह बस्न सकेको छ ? आस्थावादीहरू त आस्थामै रहेका छन् जसले आस्था छैन भनेका छन् ती पनि यिनै विषयको बहसलाई मुद्दा बनाएर किन हिँड्नु परेको ? छैन भन्ने कुरालाई सिद्ध गर्ने प्रयत्नमा आफ्नो सम्पूर्ण बौद्धिक ऊर्जा किन खर्च गर्नु परेको ?
यस विषयमा अध्यात्मवादी दर्शन अलि स्पष्ट छन् । उनीहरूले कुनै तत्वमा विश्वास गरेका छन् अपेक्षाकृत रूपमा उनीहरूलाई सजिलो छ । यद्यपि दर्शनको उद्देश्य मान्नु र नमान्नुको पक्ष विपक्षमा उभिनु होइन । उनीहरूको काम तर्क गरेर देखाउनु हो तापनि तार्किक जिद्दी पनि महत्त्वपूर्ण कुरा हो । श्रीमद्भागवत्गीता भन्छ नासतो विद्यते भावो नाभावो विद्यते सत (गीता, २/१६) । अर्थात् असत् वस्तुको सत्ता हुँदैन । छैन भन्ने कुराको चर्चा नहुनुपर्ने हो । आध्यात्मिक कोणबाट हेर्दा हामी ढुङ्गामा पूmल नफुलेको कुरालाई वा घोडाको सिङ नभएको विषयलाई चर्चाको विषय बनाउँदैनौँ । ईश्वर, धर्म आदि विषयमा चर्चा र बहस हुनु सत्मा सत्को चर्चा हो ।
यो कुरा आध्यात्मिकतातर्पmको झुकाउ जस्तो लाग्न सक्छ तर दर्शनको तहमा यो तर्कको विषय हो । त्यसैले दोहोरो मानदण्डमा बस्न धेरै अस्वाभाविकताहरूसँग जुध्नुपर्दछ त्यो घातक हुन्छ र उचितप्रति न्याय पनि हुँदैन । ईश्वर बारेको कुरा गर्दा भन्नै पर्ने वा बिर्सनै नहुने कुरा के पनि हो भने ईश्वर भनेको एउटा तत्व हो तर ईश्वरीयता यसको विस्तृत रूप हो । ईश्वरीयता भनेको दर्शनको अध्यात्मतर्पmको व्याख्या हो । अध्यात्म र ईश्वरवादका बीचमा गहिरो सम्बन्ध छ । ईश्वरीय तत्वहरूले ईश्वरको अस्तित्वलाई अझ प्राञ्जल पार्दछन् । सामान्यतया ईश्वरीय तत्व भन्नाले ईश्वर भन्ने शब्दसँग जोडिएको अर्थ र ईश्वरबारेका जिज्ञासाका साथै अध्यात्मतर्फको झुक्याउ भन्ने पनि बुझिन्छ ।
जगत्मा ईश्वरको अस्तित्व छ भनेर मान्नेहरूले अरू धेरै कुरा मानेका हुन्छन् । हामीले ईश्वरीय चिन्तनको प्रारम्भ वेदबाट भयो भन्ने मानेपछि र वेदको अपौरुषेयता स्वीकारेपछि वेद मान्ने अध्यात्मवादीहरूले मान्ने केही कुराहरू पर्दछन् । जस्तै मीमांसा र साङ्ख्य दर्शनले ईश्वर भन्ने तत्वलाई प्रत्यक्ष स्वीकार गर्दैन त्यसको ठाउँमा आत्माको नित्यता र वेदको अपौरुषयेता मानेर मीमांसकहरू ईश्वरवादी बन्दछन् भने साङ्ख्यले पुरुष भन्ने तत्वलाई चेतन तत्व र नित्य तत्व मानेर आध्यात्मिक मानिन्छ ।
कुनै न कुनै रूपमा यो सृष्टि र जीवनको निम्ति केही न केही तत्व आवश्यक छ, त्यसलाई ईश्वरीय तत्व मान्न सकिन्छ । आत्म तत्व मानेर होस् वा ब्रहृम तत्व, पुरुष तत्व मानेर होस् या वेद, हामी कहीँ न कहीँ ईश्वरीय तत्व अर्थात् अदृष्ट तत्वकै विश्वासमा रहेका हुन्छौँ ।
न्याय दर्शनले ईश्वरलाई नै सप्रमाण सिद्ध गरेर ईश्वरवादी मानिन्छ भने वैशेषिकले आत्मालाई शाश्वत र सर्वव्यापी तत्व मानेर ईश्वरीय तत्वलाई मान्दछ । वेदान्तीले ईश्वरको सट्टा ब्रहृम तत्वलाई ईश्वरीय तत्व मानेर आस्तिक मानिन्छन् भने चित्तको एकाग्रताको निम्ति आत्मज्ञान र ईश्वरको ध्यान आवश्यक छ भनेर योगदर्शनले ईश्वरलाई मान्दछ । सबै आस्तिक दर्शनले ईश्वरलाई, वेदलाई, आत्मालाई फरक फरक दृष्टिले मानेर आध्यात्मिक बनेका छन् । यहाँ स्मरणीय के छ भने ईश्वर, आत्मा, धर्म, स्वर्ग, मोक्ष, सुख, दुःख आदि तत्वहरूका विषयमा सकारात्मक चिन्तन प्रस्तुत गर्ने सबै आध्यात्मिक दर्शनहरू एक प्रकारले ईश्वरवादी दर्शन हुन् तापनि सबैका आआफ्ना सीमाहरू छन् ।
अर्को सत्य त के हो भने ईश्वरीय शक्तिमा कुनै प्रकारका प्रश्न नै नगरी आस्थाले पुज्ने ठूलो समुदाय छ जसले अदृष्टको शक्तिलाई आँखा बन्द गरेर प्राप्त गर्न चाहन्छ । विश्वास गर्न चाहन्छ । फेरि हामी जतिसुकै कडा बहसमा सामेल किन नहोऊँ त्यो हाम्रो बौद्धिक र तार्किक उपस्थितिले नभ्याउने गरी भित्रबाट हामी कतै आस्थावादी हुन्छौँ जुन कुरा व्यक्त गर्न चाहन्नौँ विश्वास गर्न चाहन्छौँ । मानिसभित्रको आस्था र विश्वास कुनै पनि प्रकारको वाद वा सिद्धान्तले फेरिने कुरा होइन । हिजो आज हामीले देख्छौँ भर्खर भर्खरमात्र प्रतिपादन भएका राजनीतिशास्त्रका सिद्धान्तमा बाँडिएर मानिसहरू पक्ष-विपक्ष भएका छन् ।
एउटा कागजको टुक्राको रसिद काटेर मानिसको भित्री आस्था र विश्वास फेरिन्न । त्यस्ता टुक्रे राजनीतिमा केवल भौतिक लेनदेनको प्राविधिक सम्झौता हुन्छ । मानिसको आस्थाको मूल्याङ्कन गर्ने आधार राजनीति, जातीयता, धर्म, सम्प्रदाय वा वादविवादको बाँडफाँड निश्चय पनि होइन । यहाँ ईश्वरवादका कुरा गर्दा प्राविधिक दृष्टिले सहमति र असहमति प्रकट गर्ने हाम्रो भौतिक बाध्यता हुनसक्छ तर चेतनाको स्वीकृति वा अस्वीकृतिको पक्ष मानिसको आन्तरिक आस्थासँग जोडिएको छ ।
निष्कर्ष
कुनै न कुनै रूपमा यो सृष्टि र जीवनको निम्ति केही न केही तत्व आवश्यक छ, त्यसलाई ईश्वरीय तत्व मान्न सकिन्छ । आत्म तत्व मानेर होस् वा ब्रहृम तत्व, पुरुष तत्व मानेर होस् या वेद, हामी कहीँ न कहीँ ईश्वरीय तत्व अर्थात् अदृष्ट तत्वकै विश्वासमा रहेका हुन्छौँ । कुनै न कुनै रूपको ईश्वर हामी टिक्ने, अडिने आधार हो । हामी यत्तिमै कुनै पनि तत्वप्रतिको आस्था र विश्वासविना रहन सक्दैनौँ भन्ने कुरा भने सबै प्रकारका विचारहरूबाट ध्वनित हुन्छ । यो छलफलले हामीभित्रको विश्वासको शक्ति र आधार केही तत्व छ जसको भरमा हामी रहेका हुन्छौँ भन्ने कुरालाई भने निर्विवाद स्वीकार गर्दछ ।
यी धेरै कुराहरू पछि संसारमा धेरै पढिएको र धेरै चर्चामा रहेको श्रीमद्भगवद्गीताको दर्शन र साहित्यले तरङ्गित नपार्ने कमै चिन्तकहरू हुन्छन् । ईश्वर र ईश्वरीय तत्व बारेको ज्यादै महत्वपूर्ण मानिएको गीतादर्शनले मानवजीवनको निम्ति कर्तव्यका कुराहरू र ती सबैमा पनि निर्णायक रहने ईश्वरीय विश्वासले दिने सन्देश सबैभन्दा महत्वपूर्ण चिन्तन हो भन्ने बुझेपछि ईश्वर तत्वसम्बन्धी धेरै चिन्तनहरू त्यसैमा समाहित हुन्छन् र हाम्रो चिन्तनले पनि सार्थकता पाउँछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts