काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । २४ एमभिए पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न भई बिहीबार चार्ज गरिएको हो । भरतपुर महानगरपालिका-११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पुर्याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर रहेका छन् ।
देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गीतानगर, पटिहानी, सीतामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेज समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने नेपाल विद्युत प्राधिकरणको अपेक्षा रहेको छ । उक्त क्षेत्रमा ग्राहस्थ ग्राहकका अतिरिक्त ठूलो संख्यामा सिँचाइ र होटलका ग्राहक रहेका छन् ।
सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज-९) अन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ-देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत करिब साढे नौ करोड रुपैयाँ रहेको आयोजना प्रमुख संगीता कार्कीले जानकारी दिनुभयो । सबस्टेसन तयार भए पनि लाइन निर्माणमा स्थानीय अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उहाँको भनाइ थियो । कार्कीले भन्नुभयो, ‘कोरोना महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जंगल हुँदै प्रसारण लाइन लैजानुपर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा ढिलाइ, स्थानीयको अवरोधलगायतका कारणले निर्माण केही ढिलाइ भएको उहाँको भनाइ थियो । संरक्षित वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरी लाइन निर्माण गर्न फागुनबाट सुरु गरिएको थियो तर लाइन निर्माणमा केही स्थानीयबाट अवरोधपछि रोकिएको थियो ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, सम्बन्धित वडाध्यक्षलगायत न्यून भोल्टेज विद्युत् आपूर्तिको समस्या भोगिरहेका होटल व्यवसायी, सिँचाइका उपभोक्ता, आयोजना व्यवस्थापन, सुरक्षाकर्मीको पहलमा अवरोध हटाइएको थियो ।






