
काठमाडौं । चलचित्र ‘महाजात्रा’ प्रदर्शनको आठौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला चलचित्र जस्तै यसले पनि ५१औँ दिनको यात्रा पार गरेको हो । अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको ‘महाजात्रा’ले आज (शनिबार) काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगञ्जमा रहेको सिनेरोयलमा ५१औँ दिनको यात्रा पार गर्न लागेको हो ।
गत वर्ष विसं २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शन सुरु गरिएको ‘महाजात्रा’ ले अहिलेको समयमा समेत ५१औँ दिनको यात्रा तय गर्नु सम्पूर्ण फिल्म उद्योगकै लागि खुसीको खबर रहेको निर्माता म्याक्स दीपेश खत्रीले बताउनुभयो ।
‘हामीलाई यो सफलताले अझै दायित्व बोध भएको छ । आगामी दिनमा दर्शकको भरोसालाई बढाउने र विश्वास टुट्न नदिने गरी काम गर्नेछौँ । षट्कोण आर्ट्समार्फत् हामी आगामी दिनमा पनि स-परिवार एकसाथ हेर्न मिल्ने फिल्म ल्याउनेछौँ,’ निर्माता खत्रीले भन्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित रहेको सुनाउनुभयो । अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेनमेन्टले डायस्पोरामा चलचित्रको खडेरी हटाउन सफल भएको जनाएको छ । उक्त कम्पनीका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भइसकेको छ । यो अहिलेसम्मको सिड्नीमा कुनै नेपाली चलचित्रको भएको सर्वाधिक शो हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतको अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्तरूपमा निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ । षट्कोण आर्ट्सले विसं २०८२ को दशैँमा नयाँ चलचित्र दर्शकमाझ ल्याउने घोषणासमेत गरेको छ । षट्कोण आर्ट्सले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ जस्ता चलचित्र निर्माण गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच