काठमाडौं । खोजौँ नेपाली, रोजौँ नेपाली र नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ भन्ने नाराका साथ नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ काठमाडौंमा सुरु भएको छ । भृकुटीमण्डपमा बुधबार मेला उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई औद्योगिक विकासतर्फ अग्रसर गराउन साना तथा घरेलु उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभएको छ । गरिबी न्यूनीकरण, रोजगारी अभिवृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले साना तथा घरेलु उद्योग क्षेत्रको विद्यमान पुँजी, कच्चा पदार्थ, प्रतिस्पर्धात्मक क्षमता, बजारीकरण र दक्ष जनशक्तिलगायतका समस्या समाधानमा सरकार र व्यवसायीले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरेको भन्दै महिला, युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जालाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिनुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगार सिर्जना गरेकाले यसको प्रवद्र्धनमा विशेष कार्यक्रम आवश्यक छ । महिला, युवा र उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई प्रभावकारी बनाउनुपर्ने खाँचो छ । बिक्री कक्ष स्थापना स्वदेशी वस्तु बिक्री बजार सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका विषयलाई महत्व दिनुपर्ने आजको आवश्यकता हो । पुँजी पहुँचमा अहिले पनि घरेलु तथा साना उद्योगी मारमा परेकाले राज्यले सहुलियतपूर्ण कर्जाको व्यवस्था तथा साना उद्योगमैत्री नीति तथा कार्यक्रम ल्याएर यो क्षेत्रको विकासमा सहयोग पु¥याउनुपर्नेछ ।’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि गर्न स्वदेशी वस्तु उपभोग निर्देशिका चाँडै जारी गरिने बताउनुभयो । स्वदेशी वस्तुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि बिक्रीकक्ष स्थापना, स्वदेशी वस्तु बिक्री बजार, सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोगजस्ता अभियानलाई राज्यले सकारात्मकरूपमा लिएको भन्दै उहाँले त्यसका लागि आवश्यक नीतिगत व्यवस्थाको तयारीसमेत अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । मन्त्री भण्डारीले महिला, युवा र कृषि उद्यमीको लागि सहुलियतमा स्टार्टअप कर्जाको व्यवस्था थप विस्तार गर्दै प्रभावकारी बनाउने नीति मन्त्रालयले लिएको बताउनुभयो । सरकार तथा विभिन्न निकायको सहयोगमा नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा आयोजित व्यापार मेला लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो । छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहे पनि पनि परम्परागत प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले प्रतिस्पर्धी बन्न नसकेका कारण समस्यामा रहेको उहाँको भनाइ थियो ।
आयोजकका अनुसार मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्था उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई समावेश गरी बिटुवी, बिटुसी र बिटुजी जस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव मेलाका थप आकर्षण रहनेछन् । मेलामा नेपाल मौरीपालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन रहेका छन् । दुर्ई सय ५० वटा स्टल रहेको मेलामा काठ÷ढुंगा÷धातु कला, सेरामिक्स, भाँडाकुँडा, बाँस, बेतबाँस आदिबाट निर्मित सजावट सामान, गलैंचा, राडीपाखी पश्मिनाका वस्तु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम् प्रविधि, नेपाली हाते कागजका वस्तु, परम्परागत हस्तकलाका सामान, कृषि तथा वनमा आधारित उत्पादन, शिक्षा, पर्यटनलगायतका सेवा प्रदायक संघसंस्था, वैकल्पिक र नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरण र अन्य औद्योगिक वस्तु रहेका छन् । मेला वैशाख ३० गतेसम्म सञ्चालन हुने बताइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा