काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाई क्षेत्रमा कार्यरत श्रमिकले नेपाल सरकारको स्वामित्वका नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सले शोषण गरिरहेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गर्दै उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्समा कार्यरत कर्मचारीलाई गरेको शोषणबारे उजागर गर्दै शोषण अन्त्यका लागि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
त्यस्तै, एयर इण्डिया टाटाले गरेको शोषणको पनि भण्डाफोर गर्ने उनीहरूले चेतावनी दिएका छन् । उल्लेखित संस्थाहरूले श्रमिक एवं कर्मचारीबीच नै तलब, भत्तादेखि सबै सेवा, सुविधामा विभेद गरेको उनीहरूको आरोप छ । कार्यथलोमा मर्यादित ज्यालाका साथै सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षा नभएको भन्दै युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले श्रमिकले मे दिवसजस्तो चाड, महिला दिवसदेखि सीपमूलक कार्यक्रममा सहभागी हुन जाँदा उल्टै तलब, भत्ता काट्ने र श्रमिकलाई शोषण गर्ने कार्य भइरहेको आरोप लगाउनुभयो ।
युनिट्राभका अनुसार प्राधिकरणमा दुर्ई फरक तरिकाबाट श्रमिक राखिएको र त्यसमध्ये आउट सोर्सिङ कम्पनीबाट रोजगारीमा राखिएका श्रमिकलाई कानुनअनुसार पाउनुपर्ने बिदा सुविधा नदिने, चार वर्षदेखि वृद्धि भएको तलब, भत्ता नदिने, कानुनले दिएको अन्य सेवा, सुविधा पनि नदिने गरेको छ । श्रमिकका परिवारमा कसैको निधन भएर बस्नुपरेको बिदासमेत श्रमिकले नपाउने, श्रमिकले सुत्केरी स्याहार बिदा बस्दा पनि बिदा नदिई तलब काट्ने गरेको युनिट्राभका अध्यक्ष पराजुलीको भनाइ छ । उहाँले भन्नुभयो, ‘सुत्केरी स्याहारका लागि तीन दिन बिदा बस्दा पाँच दिनको तलब काट्ने, पाँच दिन बिदा बस्दा आठ दिनको तलब काट्ने जस्ता कार्य हुने गरेको छ । यस्ता विषयमा मुख्य रोजगारदाता प्राधिकरणसँग श्रमिकका समस्याबारे कुरा राख्दा आउट सोर्सिङ कम्पनीलाई राखेर समस्या समाधान गर्नुको साटो उल्टै ठेकेदारको पहरेदारका रूपमा कार्य गरी श्रमिकलाई हप्काउने गरेको छ ।’
युनिट्राभका अनुसार नेपाल वायु सेवा निगममा पनि चरम श्रमशोषण भइरहेको छ । निगमबाटै पारिश्रमिक लिने ट्रान्सपोर्ट ग्राउण्ड हृयाण्डलिङदेखि कार्यालयमा छ वर्षदेखि २८ वर्षसम्म कन्ट्र्याक्ट, क्याजुअल, ज्यालादारी, करारमा कार्यरत करिब छ सय श्रमिकको उपदान, सञ्चयकोष, अन्य कर्मचारी सरहको सेवा, सुविधा दिइएको छैन । एयरलाइन्समा भएको विभेद एवं शोषण अन्त्य गर्न माग गर्दै श्रमिकहरूले सामाजिक सुरक्षाअन्तर्गत पाउनुपर्ने मौलिक हकभित्र रहेका सबै सेवा, सुविधा उपलब्ध गराउन र श्रमिकलाई बाँच्न पुग्ने हिसाबले तलब, भत्ता उपलब्ध गराउन माग गरेका छन् ।
त्यस्तै, युनिट्राभले नेपालमा चार दशकदेखि पहिला इण्डियन एयरलाइन्स, त्यसलगत्तै एयर इण्डिया र हाल नाम परिवर्तन गरेर एयर इण्डिया टाटाको नामबाट उडान भरिरहेको एयर इण्डिया टाटाले व्यापक श्रमशोषण गरिरहेको आरोप लगाएको छ । स्थायी कर्मचारी हटाउँदै करार गरेर राख्ने, करारलाई सामाजिक सुरक्षाअन्तर्गतको उपदान, सञ्चयकोषदेखि बिमा पनि नगरी केही नदिई विभेद गरेको युनिट्राभले जनाएको छ । माथिल्लो तहमा कार्यरत कर्मचारीले व्यवस्थापकलाई राइट हृयाण्डका रूपमा सहजता ल्याउन यलो युनियन बनाएर आफू अनुकूल प्रमोसन, ज्याला वृद्धि गर्ने गरेको युनिट्राभको आरोप छ । हवाई क्षेत्रमा रहेको समस्या तत्काल सम्बोधन नगरिए आन्दोलनमा उत्रिने पनि उसले चेतावनी दिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts