काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुआत भएको बताउनुभएको छ । सोमबार वरिष्ठ राजनीतिज्ञ सिद्धनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा उहाँले मिसन ०८४ लाई सफल पारेर छाड्ने बताउनुभयो । ‘दुईवटा उपनिवार्चन एमालेले जित्यो । मिसन ०८४ तर्फको सफलताको सुरुआत हो,’ ओलीले भन्नुभयो, ‘मिसन ०८४ सफल पारेर छाड्छौँ ।’ ओलीले पार्टीले सही बाटो समातेको दाबी गर्नुभयोे । पार्टी नेतृत्वले गल्ती गरे सच्याएर अघि बढ्नेसमेत बताउनुभयो । उहाँले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न भूमिका खेल्न आग्रह गर्नुभयो । वामपन्थीहरूलाई पार्टीमा आउन आहृवानसमेत गर्नुभयो । ‘सबै आफूलाई वामपन्थी भन्ने, कम्युनिष्ट भन्ने सबै शक्ति र व्यक्तिलाई पनि एमालेको सही धार छ,’ ओलीले भन्नुभयोे, ‘यस धारमा समाहित हुन आग्रह गर्छु । सबै आउनुस् । एकजुट हुनुस् ।’
उहाँले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पार्टीमा आउन राखेको चाहनाबारे खासै जवाफ दिनुभएन । गौतमले उठाएको कुरामा पछि छलफल गर्ने उहाँको भनाइ थियो । ‘वामदेव कमरेडले कतिपय कुरा उठाउनुभएको छ । अहिले छलफल गर्ने यो थलो उपयुक्त हैन,’ च्यासलमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयोे, ‘त्यसमा प्रवेश गर्दिनँ । पछि छलफल गर्छौैँ ।’ उहाँले वामदेवले अभिव्यक्त गरेको एकताको भावना सकारात्मक रहेको बताउनुभयो । ‘वामदेवजीको अहिले जुन एकताको भावना अभिव्यक्ति भएको छ । सकारात्मक भावना हो । यो भावनालाई अघि बढाऔँ,’ ओलीले भन्नुभयो ।
एमालेमा फर्किन तयार छु : गौतम
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन तयार रहेको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिएर पार्टीमा भित्र्याउन अध्यक्ष केपी ओलीलाई आग्रह गर्नुभयो । ‘पार्टी फुटेपछि एकपटक मलाई उहाँले (ओली) बोलाउनुभएको थियो, त्यसबेला म आइनँ, पछिल्लो पटक म आएँ, हामी फेरि फर्किन्छौँ मलाई के जिम्मा दिनुहुन्छ ? अरूलाई के जिम्मा दिनुहुन्छ ? भनेको उहाँले भन्नुभयो । हामी लेबल कमिटीले निर्णय गर्छ तपाईँको बारेमा भन्नुभयो । त्यस कमिटीले के निर्णय गर्यो आजसम्म पर्खिरहेको छु ७८ महिना भइसक्यो । मैले अहिले पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सक्छु, मेरो गल्ती कमजोर भएका होलान् आत्मालोचना गरेर पार्टीमा आएको छु, मान्छेबाट गल्ती रियलाजेसन गर्नु सबैभन्दा ठूलो हो ।’
उहाँले आफू पार्टीमा आएर कसैको खुट्टा तान्ने नभई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘अब पनि म तपाईंको खुट्टा तान्न आउने होइन, सहयोग गर्न आउने हो । तपाईंले हासिल गरेको उपलब्धिभन्दा बढी हासिल हुनेगरी आउँछु । मैले उहाँले भनेर ०८४ को निर्वाचनमा ६० लाख मत पाउनेगरी योजना बनाऔँ । मैले त्यस बेलै भनेको हो’, उहाँले भन्नुभयो ।






