काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विभिन्न परियोजना र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रिल तथा स्टिलजन्य व्यवसाय प्रवद्र्धन गर्न सकेमात्रै देशको आर्थिक विकासमा योगदान पुग्न सक्ने बताउनुभएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको २९औँ स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
जति आधुनिक निर्माण व्यवसाय अगाडि बढ्छ त्यति नै यो क्षेत्रको जिम्मेवारी बढ्ने भन्दै मन्त्री तामाङले आधुनिक भवन र पूर्वाधार निर्माण कार्य तीव्ररूपमा भइरहेका सन्दर्भमा पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएको ग्रिल तथा स्टिल उद्योगको भविष्य उज्ज्वल रहेको समेत बताउनुभयो । महासंघ अध्यक्ष ठूलोबाबु श्रेष्ठले व्यवसायीतर्फबाट गर्नुपर्ने सुधार तथा मापदण्ड पुर्याउँदा पनि सरकारले व्यवसाय दर्ता गर्न आनाकानी गरिरहेको गुनासो गर्दै समस्या समाधानका लागि मन्त्रीको ध्यानाकर्षण गराउनुुभयो ।
ग्रिल तथा स्टिल व्यवसाय हरेक हिसाबले जोखिमयुक्त व्यवसाय भएकाले कर्मचारीको दक्षताका आधारमा श्रम ऐनअनुसार सेवा सुविधासहितको व्यवस्था गरिनुपर्ने भन्दै श्रेष्ठले कर्मचारी नियुक्ति, कम्पनी ऐन र नियमबमोजिम जीवन बिमा, म्यादी बिमा, स्वास्थ्य बिमा, मूल्यमा एकरूपता र अन्य आधारभूत कुरा, उत्पादनबाट हुने खुद मुनाफाबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वसमेत संस्थागत गर्दै लैजाने विषयमा महासंघ सरकार तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता