
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चार वाणिज्य बैंक र दुर्ई विकास बैंक गरी छवटा संस्थालाई कारबाही गरेको हो । चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासमा केन्द्रीय बैंकको सुपरीवेक्षण विभागले प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक तथा लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकका अनुसार प्राइम कमर्सियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडिक्विसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको पाइएको छ ।
त्यस्तै, बैंकको २०७८ चैतको अपरिष्कृत वित्तीय विवरणका आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेको पनि केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक तथा लुम्बिनी विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो ।
प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) अनुसार नसिहत दिनुका साथै प्रचलित कानुन र बैंकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए, नभएका सम्बन्धमा सञ्चालक समितिबाट पर्याप्त अनुगमन नभएपछि सञ्चालक समितिलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।
त्यस्तै, कुमारी बैंकलाई पनि निर्देशनअनुसार कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडिक्विसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ विपरीत ब्याज अनुदान दिएको भन्दै राष्ट्र« बैंकले कुमारी बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।
साथै बैंक र वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलब भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शनको व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी दुर्ई करोड तीन लाख भुक्तानी दिने निर्णय गरेको बताइएको छ । सोबापत कुमारी बैंक सञ्चालक समितिलाई सचेत गराउँदै उक्त रकम ३५ दिनभित्र असुलउपर गर्न सञ्चालक समितिलाई निर्देशन दिई उक्त रकमसमेत असुलउपर गराएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्रअन्तर्गत भएको कारोबारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रमिसरी नोट जारी गरी बेनेफेसियरीबाट बैंकले कुल ४१ करोड ३६ लाख रुपैयाँ बराबरको बिल पर्चेज गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको अवधि समाप्त हुने मिति बारम्बार थप गरी सो कर्जालाई २०७९ चैतसम्म इभरग्रिन गरी असल कर्जाकै रूपमा देखाई केन्द्रीय बैंकबाट जारी एकीकृत निर्देशनविपरीत कार्य गरेको फेला परेको छ । त्यसैगरी बैंकले आधारदर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्वबापतको खर्चसमेत समावेश गरी आधारदर गणना गरेको र क्यापिटल एडिक्विसी फ्रेमवर्क २०१५ बमोजिम पुँजीकोष गणना गर्दा केही कर्जाको जोखिम भारित सम्पत्तिलाई कम देखाई पुँजीकोष गणना गरेको पाइएको पनि राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी लक्ष्मी सनराइज बैंकले पनि एकीकृत निर्देशन तथा तथा व्यवस्थाको उल्लंघन गरेको बताइएको छ । केन्द्रीय बैंकका अनुसार उक्त बैंकका एक प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी राजेन्द्र कुमार खेतानले सोही बैंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी गराई उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी र गराई भुक्तानी भएको पाइएको छ । नेपाल राष्ट्र« बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम खेतानलाई १० लाख रुपैयाँ जरिवाना तिराएको छ भने साबिक लक्ष्मी बैंकबाट प्रवाह भएको कर्जा बैंकका सेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकाले कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ ।
लुम्बिनी विकास बैंकलाई ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्तमात्रामा हुन नसकेको र शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्णरूपमा लागू हुन नसकेको पाइएपछि केन्द्रीय बैंकले कारबाही गरेको छ भने सोहीबमोजिम लुम्बिनी विकास बैंकलार्ई सचेतसमेत गराएको छ । त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक्सेल डेभलपमेन्ट बैंकलाई पनि सचेत गराएको छ । बैंकले ऋणीबाट धितो सकार्दा जमानतकर्ताले कबुल गरेको दायित्वबमोजिमको रकम सर्वप्रथम सम्बन्धित ऋणीबाट नै असुलउपर गर्ने र जमानतकर्ताले कबुल गरेको जमानतको रकम जुनसुकै समयमा दाखिला गर्न ल्याएमा बुझिलिई जमानत सुरक्षणमा राखेको सम्पत्ति फुकुवा गरिदिने व्यवस्था रहेकोमा बैंकले उक्त व्यवस्था कार्यान्वयन नगरेको केन्द्रीय बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच