काठमाडौं । नेपाल बाल संगठनले बृहस्पति विद्या सदनसँग भएको लिज सम्झौता खारेज गर्ने निर्णय गरेको छ । संगठनले यसअघि ९० वर्षका लागि भएको लिज सम्झौता खारेज गर्ने निर्णय गरेको हो । बाल मन्दिरको २९ रोपनी चार आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिजमा दिनेगरी सम्झौता भएको थियो । संगठनको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।
संगठनकी अध्यक्ष विद्या न्यौपानेले लिज सम्झौता सकिन १७ वर्ष अवधि बाँकी छँदै थप ४३ वर्ष बृहस्पतिलाई दिनेगरी पहिले भएको सम्झौता खारेज गरिएको बताउनुभयो । खारेज मिति कहिलेदेखि लागू हुने भन्ने विषय आइतबार बस्ने अर्को बैठकले निर्णय लिने उहाँले बताउनुभयो । संगठनको लिजमा लिइएको उक्त जग्गामा देशकै पहुँचवाला मध्येको एक व्यापारिक घराना विशाल ग्रुपको अधिकांश लगानी रहेको थियो ।
विगतमा गैरकानुनी रूपमा गरिएको सम्झौताका कारण संगठनलाई चौतर्फी क्षति पुगेको निष्कर्ष निकाल्दै त्यसलाई रद्द गर्ने निर्णय भएको बैठकपछि संगठनकी अध्यक्ष विद्या न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नेतृत्वको जिम्मेवारी सम्हालिसकेपछि बृहस्पति सँगको जग्गा लिज सम्झौता गहन रूपमा अध्ययन-विश्लेषण गर्यौँ । यसले संगठनलाई निकै ठूलो नोक्सानी पुर्याएको रहेछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बृहस्पतिका सञ्चालकलाई सम्झौता रद्द गर्न पटक-पटक आग्रह पनि गर्यौँ, तर उहाँहरूले सुन्नुभएन । छलफल गर्न खोज्दासमेत आउनुभएन । त्यसैले बाध्य भएर खारेज गर्ने निर्णयमा पुग्यौँ ।’
बृहस्पतिले संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य सहितका पदाधिकारी तथा स्वार्थ समूहको मिलेमतोमा २९ रोपनी जग्गा वार्षिक ९० लाख रुपैयाँमा भाडा बुझाउने गरी बिना प्रतिस्पर्धा हत्याएको थियो । बृहस्पतिले जग्गा लिजमा पाएपछि एउटै व्यवस्थापनबाट सञ्चालन हुनेगरी भारतीय शिक्षा बोर्डअन्तर्गत सञ्चालित राय स्कुललाई भित्र्याएर पाँच रोपनी सव-लिजमा लगाएको थियो । त्यसबापत वार्षिक ६० लाख राय स्कुलबाट लिनेगरी बृहस्पतिले सम्झौता गरेको थियो । लिखितमा भने त्यो रकम एक लाखमा देखाइएको छ । संगठनको २०७८ असार ९ गतेको महाधिवेशनले संगठन र त्यहाँ आश्रित सहाराविहीन बालबालिकाको हितविपरीत बृहस्पति स्कुल लगायतसँग गरिएका जग्गा लिज सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । त्यसैका आधारमा यसअघि भएका जग्गा लिज सम्झौताहरू खारेजीका लागि सम्बन्धित पक्षहरूसँग संगठनले निरन्तर ताकेता गरिरहेको थियो । यससम्बन्धी समाचार हिमालय टाइम्सले निरन्तर प्रकाशित गरिरहेको छ ।
यसरी हडपिएको थियो जग्गा
२७ माघ २०४९ मा संगठनले घरटहरा सहितको जग्गा भाडामा दिन सम्झौता गरेको थियो । त्यसबेला नौ रोपनी जग्गा भाडामा दिइएको देखिएको थियो । पहिलो सम्झौता १ फागुन २०४९ देखि १ फागुन २०५२ सम्म तीन वर्षको थियो । सम्झौतामा दुवै पक्षले कुनै कारण देखाएर सम्झौता भंग गर्न नमिल्ने, सम्झौता अवधि सकिएपछि नवीकरण गर्न सकिने एकलौटी प्रावधान राखिएका थिए । त्यसपछि पुनः २०५३ मा बाल संगठन र बृहस्पतिबीच भएको अर्को सम्झौता भएको थियो ।
२०५३ देखि आठ वर्षका लागि बृहस्पतिलाई जग्गा भाडामा दिने निर्णय गरिएको कागजातले देखाउँछ । १० माघ २०६१ सम्म संगठनको जग्गा भोगचलन गर्ने अधिकार पाउँदा बृहस्पतिले नौ रोपनीको मासिक भाडा एक लाख ५० हजार रुपैयाँ तिर्ने, भाडा तीन-तीन महिनामा बुझाउने र वार्षिक १० प्रतिशत भाडा वृद्धि गर्ने सम्झौता भएको थियो ।
दोस्रो सम्झौता अवधि १० माघ २०६१ सम्म थियो । विशाल ग्रुपले जग्गा हडप्नकै लागि २०५८ मा थप ३० वर्षका लागि तेस्रो बहाल सम्झौता गरेको देखिएको थियो । यही सम्झौतापछि नाफा कमाउने उद्देश्यले बृहस्पतिले भाडामा लिएको जग्गामा ठुल्ठूला भवन निर्माण गर्ने अधिकार पाएको थियो । २०८८ सम्मलाई बाल संगठनको १४ रोपनी नौ आना जग्गा पाइसकेको बृहस्पतिले २०५९ मा थप १३ रोपनी जग्गा लिन सफल भएको देखिन्छ ।
२०७२ मा दुवै पक्षबीच अर्को पूरक सम्झौता गरी पुनः अवधि थप गरेको देखिन्छ । यस सम्झौताबाट भाडा अवधि बढाएर २१३२ सालसम्म पुर्याएर संगठनको २८ रोपनी पाँच आना एक पैसा जग्गा हडपेको देखिएको छ । २०२१ सालमा तत्कालीन राजपरिवारले जग्गा उपलब्ध गराइदिएर बाल संगठन स्थापना भएको थियो । कुल १०२ रोपनी जग्गामध्ये ४९ रोपनी जग्गा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लिएपछि बाल संगठन सँगको एकल स्वामित्वमा ५१ रोपनी जग्गा थियो । जसमा २९ रोपनी चार आना जग्गा बाल संगठन र ललितकलाको साझा रहेको थियो । जसमध्ये साढे २८ रोपनीमा विशाल ग्रुपले कब्जा जमाएको थियो । सेटिङ र कमिसनमा चरम चलखेल गरेर दशकौँदेखि बाल मन्दिरको जग्गा हत्याएको समूहले संगठनलाई नगण्य भाडा तिरेर चार गुणा बढी मुनाफा लिइरहेको थियो । बाल संगठनको २८ रोपनी पाँच आना जग्गा २१३२ साल सम्मलाई लिजमा लिएर स्कुल चलाइरहेको बृहस्पति विद्या सदनले थप जग्गा गैरकानुनी रूपमा राय स्कुललाई ‘सबलिज’मा दिएको थियो । यी दुवै स्कुलमा अधिकांश स्वामित्व व्यापारिक घराना विशाल ग्रुपकोे छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts