आगलागीले जंगल नासिएपछि बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट १२ सय हेक्टर बढी क्षेत्रफलमा फैलिएको जंगल उजाडिएको छ । वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन । ठूला-ठूला काठ मुडा डढेर अङ्गार बनेका छन् । झाडी सबै जलेर सकिएको छ । आगलागीले वन मात्रै जलेन वन्यजन्तुको बासस्थाननै ध्वस्त बन्यो । कति चराचुरुङ्गी र वन्यजन्तुसमेत आगोमा परि जले त्यसको लेखाजोखा छैन । आगलागीबाट ज्यान जोगाउन भागेका वन्यजन्तु यति बेला नजिकको गाउँ पसेका छन् । गाउँमा झरेका वन्यजन्तुले स्थानीयलाई दुःख दिन थालेका छन् ।

ढोरपाटन सिकार आरक्ष नजिक पर्ने निसीखोला गाउँपालिका-४ खाडाचौरदेखि सुरु भएको आगो बढाचौर हुँदै साम्झाधुरी नजिकै पुगेको छ । स्थानीयले बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । पाँच दिनदेखि लागेको आगो अझैसम्म पनि नियन्त्रणमा आएको छैन । आगोका कारण गाउँ झरेका वन्यजन्तले पाक्न थालेको गहुँ, जौँ, तरकारी खाई दिन थालेपछि स्थानीय हैरानी बनेका छन् । पछिल्लो समय बसाइँसराइका कारण गाउँमा झाडी बढ्न थालेपछि बाँदर, बँदल, घोरल लगायतका वन्यजन्तु तल्लो क्षेत्रमा झरेका छन् । त्यसमाथि पछिल्लो समय आगलागीले गर्दा ठूलो संख्यामा वन्यजन्तु बस्ती छिरेको स्थानीय बताउँछन् ।

पहिले गाउँमा मानिसहरुको चहलपहल हुने हुँदा कहिलेकाहीँ बाँदर आउने गरे पनि अरु वन्यजन्तु नआएको ढोरपाटन नगरपालिका-८ का गुमानसिंह घर्ती मगरले बताउनुभयो । एक महिनादेखि गाउँमा वन्यजन्तुको हुलनै ढुल्ने गरेको उहाँको भनाइ छ । खासगरी माथिल्लो बस्तीमा वन्यजन्तुले आतङ्कनै मच्याउन थालेको घर्ती बताउनुहुन्छ । बारीमा लगाएको तरकारीदेखि घरमा राखेको अन्न वन्यजन्तुले नष्ट गरि दिन थालेको उहाँले बताउनुभयो । निसीखोला पट्टीबाट लागेको आगोले ठूलो रुप लिएको घर्तीको भनाइ छ ।

“पहिले घाँस दाउरा ल्याउन जंगलमा पुग्दा बाँदर भेटिन्थे, चार/पाँच वर्षदेखि गाउँमा कम मान्छे भएर होला अहिले गाउँमै बाँदर आउँछन्, वनभरी आगो लागि रहेको छ, त्यही भएर होला अहिले वन बस्ने अन्य जनावरहरु पनि आएका छन्” घर्तीले भन्नुभयो - “घर छोडेर एकैछिन कतै गए आउँदा सबै सामानहरु नष्ट गरि दिन्छ, एक जना हेरालु राख्नु पर्ने स्थिती आएको छ, गाउँमा आएका जनावरलाई लखेटेर कहाँ जाउन् ?, वनमा आगो लागेको छ ।”

ADVERTISEMENT

स्थानीय पानकुमारी विकले बासस्थान जलेपछि वन्यजन्तु घरको करेसामा आएर बस्न थालेको सुनाउनुभयो । बाँदर, घोरल र स्यालले भित्राउन बेलाको गहुँबाली नष्ट गरि दिएको उहाँको भनाइ छ । आफ्नो घर जंगल छेउमै रहेको हुँदा सबैभन्दा बढी क्षति पनि आफ्नै गरि दिएको विकले बताउनुभयो । पहिलेको तुलनामा यस वर्ष धेरै ठाउँमा आगलागी भएको भन्दै माथिल्लो क्षेत्रका जिवजन्तु सबै तल्लो भेगमा झरेको उहाँको भनाइ छ ।

दिनप्रति दिन आगालागी हुँदै गएपछि वन्यजन्तु ततरबितर बनेर गाउँ झर्न थालेको डिभिजन वन कार्यालय बागलुङकी सूचना अधिकारी लक्ष्मी केसीले बताउनुभयो । फागुनदेखि हालसम्म ४० बढी सामुदायिक वनमा आगलागी भएको जानकारी दिनुभयो । दिनप्रति दिन जिल्लामा आगलागी बढ्दै गएको उहाँको भनाइ छ । आगो नियन्त्रणका लागि जिल्लामा रहेका डिभिजन वन कार्यालयबाट कर्मचारीसहित स्थानीय खटि रहेको केसी बताउनुहुन्छ । अझै पनि एक दर्जन वनमा लागेको आगो नियन्त्रण बाहिर रहेको उहाँको भनाइ छ ।

केसीले भन्नुभयो - “बागलुङमा यस वर्ष धेरै ठाउँमा आगलागी भयो, नागरिकको लापरबाहीका कारण आगलागीका घटनाहरु धेरै भएका छन्, नियन्त्रणमा लिनका लागि धेरै प्रयासहरु भएका छन्, आगलागीबाट वन जंगल जोगाउनका लागि डिभिजन वन कार्यालय बागलुङले विभिन्न सञ्चार माध्यमबाट सचेतना मुलक सन्देशहरु प्रवाह गरि रहेको छ, तर नागरिक गम्भीर नहुँदा दिनदिनै वनमा लागो लागि रहेको छ, आगो लगाउनेलाई नियन्त्रणमा लिने प्रयास पनि गरेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज