काठमाडौं । पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ । बुधबार आयोजित दीक्षान्त समारोहमा विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर चार सय ८५ विद्यार्थीलाई दीक्षित गरिएको थियो । दीक्षित हुनेमा एमबिबिएस, एमएस, एडी, एमपिएच, बिएससी, बिएनएस जस्ता विषय उत्तीर्ण विद्यार्थी थिए ।
सो अवसरमा प्रधानमन्त्री तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले स्वास्थ्य सेवामा नवीनतम् विकास, विशेषगरी चिकित्सा, मानविकीजस्ता विषयकोे समावेशितालाई प्राथमिकतामा राखेर स्वास्थ्य विकास पहलको अवधारणा अघि सारेको भन्दै प्रतिष्ठानको प्रशंसा गर्नुभएको थियो । उक्त अवधारणाले दक्षतासँगै करुणा भएका स्वास्थ्यकर्मी उत्पादन गर्ने भएकाले समुदायभित्र प्रभावकारी र गुणस्तरीय काम हुने उहाँको भनाइ थियो ।
प्रमुख अतिथि तथा वक्ता नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले भन्नुभयो, ‘प्रतिष्ठानले सामुदायिक सहकार्य तथा स्वास्थ्य मानविकी शिक्षामार्फत् अब्बल स्वास्थ्यकर्मी उत्पादन गर्न गरेको पहल प्रशंसनीय छ । यस प्रतिष्ठानले गरेका महान् कार्यबाट विश्वले सिक्न सक्छ र सिक्नुपर्छ । कृतज्ञताको भावना महसुस गर्नु अत्यन्त महत्वपूर्ण छ र त्यसैले म सबै विद्यार्थीलाई आफ्नो देशको, आमाबाबु र परिवारको सेवा गर्न आग्रह गर्दछु । हामी सबैले यस संसारलाई अझ राम्रो र अझ न्यायपूर्ण ठाउँ बनाउन आफ्नोतर्फबाट आवश्यक पहल गर्न सकेको काम गर्नुपर्छ ।’
सत्यार्थीलाई बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न उहाँले देखाएको अटल प्रतिबद्धताका लागि सन २०१४ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । ‘बचपन बचाओ आन्दोलन’मार्फत् उहाँले एक लाख १५ हजारभन्दा बढी बालबालिकालाई बालश्रम, दासत्व, बेचबिखन र अन्य प्रकारका शोषणबाट मुक्त गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भने उनीहरूको शिक्षा, पुनःस्थापना र समाजमा पुनःएकीकरणको सफल नमुना विकास गर्नुभएको छ । उहाँकै नेतृत्वमा सुरु भएको वल्र्ड मार्च अगेन्स्ट चाइल्ड लेबर अभियानले एक सय तीन देशको समर्थन प्राप्त गर्दै बालश्रमको खराब रूपबारेमा आइएलओ महासन्धि १८२ को अवलम्बन गरिएको थियो ।
त्यस्तै, उपकुलपति डा. राजेशनाथ गोन्गलले भन्नुभयो, ‘प्रतिष्ठानका सम्पूर्ण शैक्षिक संस्थाहरूले उल्लेखनीय उपलब्धि हासिल गरेका छन् र तीनवटै शैक्षिक संस्थाको पाठ्यक्रम प्रतिष्ठानको मिसनसँग मेल खाने गरी विकास गरिएको छ । पाटन अस्पतालले पनि उल्लेखनीय प्रगति गरेको छ र यस महत्वपूर्ण उपलब्धिका लागि म सम्पूर्ण दीक्षित विद्यार्थीलाई बधाई दिन चाहन्छु । विदेशमा बसोबास गर्ने विद्यार्र्थीलाई पनि आफ्नो घर फर्केर आउन अनुरोध गर्न चाहन्छु किनकि आफ्नो देशको सेवा गर्नुभन्दा ठूलो सम्मान अरू केही छैन ।’







Breaking news with related posts