नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।
पहिलोपटक चैते धानको खेती गर्नुभएकी बैजनाथ गाउँपालिका–६ की किसान गीता खत्रीले चैते धानको खेतीमा धमिरो लागने गरेको अनुभव सुनाउँदै मलखाद पनि बढी प्रयोग हुने बताउनुभयो । उहाँले बर्खे धान खेतीभन्दा चैते धान खेतीमा बढी मिहिनेत गर्नुपर्ने र उक्त धान खेतीमा रोग बढी लाग्ने भएकाले विषादीको मात्रा पनि बढी हुने उल्लेख गर्नुभयो । यद्यपि उहाँले मनग्य उत्पादन हुनेमा आफू ढुक्क भएको बताउनुभयो ।
करिब पाँच कट्ठा जमिन क्षेत्रफलमा चैते धानको खेती गर्नुभएकी खत्रीले बीउको ब्याड राख्न नजानेर समस्या झेल्नुपरेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत रामप्रसाद यादवले अहिलेसम्म ९२ जना नयाँ किसानले यस वर्षदेखि चैते धानको खेती सुरु गरेको जानकारी दिनुभयो ।
उहाँले चैते धान खेतीका लागि किसानलाई निःशुल्क बीउ वितरण भएको उल्लेख गर्दै हर्दिनेटा १, ३ र चैते ५ जातको चैते धानको खेती भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चैते धान लगाउन किसानले झन्झट मानेका कारण कतिपय सिँचाइको सुविधा भएको ठाउँमा मकै खेती पनि गरेका छन् ।”
बागवानी अधिकृत यादवले अहिले चैते धानको गाँज लाग्ने बेला सुरु भएको जानकारी दिँदै बर्खे धानलाईजस्तै प्रशस्त पानी नचाहिने बताउनुभयो । कृषि ज्ञान केन्द्रका अनुसार केही किसानले आफ्नै लगानीमा र केहीले कृषि अनुसन्धान केन्द्र खजुराले दिएको बीउबाट गरी कूल ४० हेक्टर क्ष्जमिनमा चैते धानको खेती गरेका छन् ।
यस वर्ष जिल्लाको बैजनाथ गाउँपालिका–८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका–३ को सूर्य, लालपुर्जा, वनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका–२ को के गाउँमा चैते धानको खेती भएको छ । साथै गाउँपालिकामा स्थापना भएका कृषि सहकारी समूहमार्फत किसानलाई बीउ, मल र विषादी वितरण गरिएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts