बेइजिङ । बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार आरोप’ को चीनले मङ्गलबार निन्दा गरेको छ ।
“संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ठूलो मात्रामा सहायता विधेयक अगाडि ल्याएको छ, साथै चीन र रुसबीचको सामान्य व्यापारविरुद्ध आधारहीन आरोप पनि लगाएको छ”, विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भन्नुभयो, “यस्तो प्रकारको दृष्टिकोण अत्यन्त कपटी र पूर्णतः गैरजिम्मेबारपूर्ण छ र चीन यसको कडा विरोध गर्दछ ।”
चीन र रुसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथि आक्रमण गरेपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ भएको छ ।
चीनले आफू युक्रेन द्वन्द्वमा तटस्थ पक्ष भएको बताउँछ तर मस्कोको हमलाको निन्दा गर्न अस्वीकार गरेकामा उसको आलोचना गरिएको छ । साथै यसै साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको बेइजिङको योजनाबद्ध भ्रमणअघि अमेरिकाले चीनमाथि युक्रेन युद्धमा सोभियत युगपछिको सबैभन्दा ठूलो सैन्यकरणका रूपमा रुसलाई सहयोग गरेको आरोप लगाएको थियो ।
ब्लिङ्केनले शुक्रबार रुसलाई उसको सैन्य विस्तारका लागि प्रयोग गर्ने घटकहरू आपूर्ति गरेर चीनले युक्रेन युद्धलाई बढावा दिइरहेको बताउनुभएको थियो । “रुसको रक्षा औद्योगिक आधारको कुरा आउँदा अहिलेको समयमा यसमा मुख्य योगदानकर्ता चीन हो”, काप्रीमा जी७ का मन्त्रीहरूको बैठकपछि उहाँले पत्रकारहरूसँग भन्नुभयो, “युक्रेनविरुद्ध रुसको आक्रामकता जारी राख्नका लागि यसले अनुमति दिइरहेको छ ।”
अमेरिकी अधिकारीहरूले चीनले प्रत्यक्ष सैन्य सहायता दिन बन्द गरेको भए पनि दोहोरो प्रयोगको आपूर्ति प्रदान गरेको बताएका छन् । यसबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्समा निष्क्रियताका कारण युक्रेनलाई अमेरिकी सहायतामा भएको लामो ढिलाइले रुसलाई पुनः सङ्गठित हुन सहयोग पुगेको छ ।
युक्रेन युद्धमा रुसलाई सहयोग गरिरहेको भन्ने दाबीहरूलाई चीनले लामो समयदेखि खण्डन गर्दै आएको छ । साथै उसले रुससँगको आफ्नो सम्बन्धमा ‘आलोचना वा दबाब’ स्वीकार नगर्ने बताएको छ ।
“युक्रेन युद्धमा चीनले सधैँ उद्देश्यपूर्ण र न्यायपूर्ण अडान राखेको छ, शान्ति वार्ताका लागि सक्रियरूपमा वकालत गरेको छ र राजनीतिक समाधानमा जोड दिएको छ”, मन्त्रालयका प्रवक्ता वाङले भन्नुभयो, “दोहोरो उपयोग हुने वस्तुहरूको निर्यातमा चीनले लगातार नियम लागु गर्दछ ।”
“चीन न युक्रेन सङ्कटको निर्माता हो न त यसको पक्ष नै हो र उसले कहिल्यै पनि आगोमा घिउ हालेको छैन”, उहाँले भन्नुभयो, “हामी दोस्रो पक्षलाई दोष दिने वा हामीमाथि दोष लगाउने स्वीकार गर्दैनौँ ।”
एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts