बाहै्र महिना वसन्तले जति छोए पनि
निख्रिँदैन आँसु मेरो जति रोए पनि
कोही भन्छन् अभागी यो कोही भाग्यमानीे
कोही भन्छन् बित्यो यसको यसै जिन्दगानी
सुनी दिन्नन् कोही पनि जति बोले पनि
निख्रिँदैन आँसु मेरो जति रोए पनि ।
माथिको गीतले मेरो जिन्दगीलाई तरंगित पारिरहेछ यतिबेला । गायक स्व. सत्यनारायण राजभण्डारीले मेरो जिन्दगीलाई सम्झेर गाएका रहेछन् यो गीत जस्तो लागिरहेको छ । मेरो राजनीतिक जिन्दगी, सुदूरपश्चिमको विकास, पहाडी जिल्ला बझाङ, ब्राहृमणकूलमा जन्मिएको सोझो कांग्रेसी कार्यकर्ता, पञ्चायतकालीन अवस्थामा पटक-पटक प्रजातन्त्र प्राप्तिका लागि कारागारमा बिताएका ती अविस्मरणीय महिनाहरू, २०६२/०६३ को प्रतिगमन कदमका विरुद्ध लाग्दाका यातना र बन्दी जीवन रिलझैँ घुमिरहेका छन् दिमागमा । भुल्न खोज्छु भुलिँदैन रहेछ ।
कुनै बेला विजयी र कुनै बेला पराजित हुनु राजनीतिक खेल हो, जसलाई स्वाभाविक प्रक्रिया मानिन्छ । तर, एकपटक पनि नेपाली कांग्रेस पार्टीले टिकटका लागि योग्य नठहराउनुलाई के भन्ने ? भाग्यको दोष या पारिवारिक सम्बन्ध अथवा जातीयताको राजनीतिक परिभाषा ।
वि.सं. २०३४ साल मंसिर १५ र १६ गते तत्कालीन वडा प्रहरी कार्यालय कमलपोखरीमा दुई रात निरंकुशताको डण्डा र भात खान पुगेँ चिसो कोठामा बसेर । २०३५/०३६ सालको विद्यार्थी आन्दोलन हुँदै २०३९ सालको सडक सफाइ र २०४२ सालको सत्याग्रह अनि २०४६ सालको जनक्रान्तिमा बहुदल प्राप्तिका लागि झण्डै २ वर्षसम्म प्रजातन्त्रवादी अग्रजहरूसँग राजधानीलगायतका विभिन्न कारागारमा थुनिएँ । युवा अवस्था थियो, जाडो, गर्मी, भोक तीर्खा सबै पचाउन सक्ने ताकत थियो । रोगव्याधी पनि लागेको थिएन । अहिले ६५ वर्षको उमेरमा क्रमशः रोगहरू शरीरमा प्रवेश गर्दैछन् । बहुदल क्रान्तिका लागि लंगडो भएको हात अहिले दुब्लाएर खिरिलो बन्दैछ । देउडागीतको प्रचारका लागि देश भ्रमणमा जाँदा, पोखराको सराङकोटमा लडेर लगंडो भएको गोडा पनि बेला-बेलामा दुखेर सास्ती दिइरहेको छ ।
मेरो गाउँको अवस्था बताइनसक्नुको छ । सदरमुकामबाट भिरको कच्ची सडक पार गर्दै सेती नदीको किनारा भएर जन्मभूमि तलकोट पुगिन्छ ३ घण्टाको गाडीको यात्रामा । ६ वर्षपहिलेसम्म ९ घण्टा पैदल हिँडेर सदरमुकाम चैनपुर पुगिन्थ्यो । तलकोटमा एउटा हाईस्कुल छ दुर्गा भवानी मावि । जुन मेरो सहोदर दाजु स्व. देवीचन्द्र जोशीले वि.सं. २०३७ सालमा स्थापना गर्नुभएको थियो । तलकोट दरा (बस्ती) अत्यन्त रमणीय भए तापनि सुविधाबाट त्यहाँका जनता वञ्चित छन् । सेती नदीमा पक्की पुल बनाउनुपर्छ भनी पंक्तिकारले गरेको मेहनत नेकपा एमालेका जिल्लाका कार्यकर्ताका विरोधका कारण केन्द्रबाट पठाएको १० करोड फ्रिज भयो र तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले विरोध गर्नबाट आफ्ना कार्यकर्तालाई रोक्न सक्नुभएन ।
अहिले उनीहरू पुल नहुँदा पछुताइरहेका छन् । अहिले आर्थिकरूपमा केही सबल भए तापनि १० वर्षपहिलेसम्म तलकोटबासी अधिकांश जनता गिठ्ठा, भ्याकुर, पाँगर, घँगारु र आलुको रोटीमा जीवन गुजारा गर्थे । बाध्य भएर भाङ खेती (चोस खेती) गर्थे । मुस्किलले ६ महिना खान पुग्थ्यो । साइपाल बझाङको उत्तरी सीमामा चीनसँग जोडिएको विशेष गाउँपालिका हो । सदरमुकामबाट त्यहाँ पुग्न अहिले पनि पैदल ४ दिन लाग्दछ । बैतडीको खोड्पेदेखि साइपाल गाउँपालिका हुँदै ताक्लाकोटसम्मको राजमार्गलाई जयपृथ्वी राजमार्ग नामकरण गरिएको छ ।
चैनपुरसम्म राजमार्ग भएर प्रतिदिन यातायातका साधन चले तापनि सोभन्दा उत्तरतिर सडकको काम कछुवाको गतिमा छ । अग्ला-अग्ला चट्टानीय भूभाग भएर सडक निर्माण गरिनुपर्ने हुँदा बझाङका जनतालाई सो राजमार्ग आकाशको फल आँखा तरी मर भइरहेको छ । २०६६ सालमा सेती नदीमाथि यो पंक्तिकारले पुलको अवधारणा राखेको विकाससम्बन्धी कामलाई व्यवधान नगरेको भए साइपालको सीमान्त गाउँ धुलीसम्म सडक पुगिसक्थ्यो । अब त्यो अधुरो काम कसले पूरा गरिदेला । ती दुर्गम बस्तीका बासिन्दाको यातायात, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका समस्या समाधान गर्ने व्यक्ति को जन्मेला ?
सदरमुकामबाट उत्तरपूर्वी भेगमा बाक्लो बस्ती छ । साइपाल, तलकोट, मष्टा र आधा जयपृथ्वी नपाको भूभाग पनि त्यही भागमा पर्दछ । पञ्चायतकालमा सो इलाकाबाट नवराज जोशीले तत्कालीन जिल्ला पञ्चायतको सभापति पद सम्हाल्ने मौका पाएका थिए । बहुदल प्राप्तिका ३५ वर्षसम्म सो ठाउँका बासिन्दाले एकपटक पनि आफ्नो जनप्रतिनिधि चुन्ने मौका पाएका छैनन् । सदरमुकामभन्दा दक्षिणी भूभागबाट ५ पटक पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंह र ३ पटक स्व. पृथ्वीबहादुर सिहंले सांसद पदका लागि टिकट पाए । बझाङ क्षेत्र २ बाट दुईपटक स्व. लोकराज जोशीले प्रतिनिधिसभाको टिकट हात पारे । तीनपटक पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह र एकपटक सत्यराज भण्डारीलाई सांसद पदका लागि नेका पार्टीले टिकट दिलायो ।
कुनै बेला विजयी र कुनै बेला पराजित हुनु राजनीतिक खेल हो, जसलाई स्वाभाविक प्रक्रिया मानिन्छ । तर, एकपटक पनि नेपाली कांग्रेस पार्टीले टिकटका लागि योग्य नठहराउनुलाई के भन्ने ? भाग्यको दोष या पारिवारिक सम्बन्ध अथवा जातीयताको राजनीतिक परिभाषा । डडेल्धुरा जिल्लाको रुवाखोला गाउँमा एउटा सामान्य परिवारमा जन्मेर राजनीतिको उचाइ नाप्दै हाल मा. शेरबहादुर देउवा दुईपटक नेका पार्टीको पार्टी सभापति हुनुहुन्छ । पाँचपटक प्रधानमन्त्री पदमा रही कुशलतापूर्वक कार्य सञ्चालन गर्नुभयो । यस्तो दुर्गम ठाउँबाट देउवाले देशको राजनीतिको केन्द्रमा भएर काम गर्न पाउँदा हामी सुदूरपश्चिमबासीलाई गौरव लाग्नु स्वाभाविक नै हो ।
२०५२ सालमा कर्णालीपारिका २२ वटा पुलको शिलान्यास पनि उहाँबाट नै भएको थियो । घटना र विचार नामक रेडियो नेपालको चर्चित राजनीतिक कार्यक्रमका सञ्चालक वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहालको टिममा रहेर काम गर्दा यो पंक्तिकार पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँगै पुल शिलान्यास कार्यक्रममा रेडियोको प्रतिनिधि भएर त्यहाँ पुगेको थिएँ । देउवाको स्वागत सुदूरपश्चिमबासीले भव्यरूपमा गरेका थिए । धनगढी महोत्सवमा त्यहाँका जनताद्वारा २५ किलोको फूलको माला लगाएर स्वागत गर्दा पनि यो पंक्तिकार साथमा नै थियो । सुदूरपश्चिमका उहाँका हरेक भ्रमणमा पनि सँगै हुने गर्थेँ । अब ती दिनहरू अतीत बनिसके ।
अब केही देउडा संगीत र संस्कृतिका कुरा गरौँ । वि.सं. २०३४ साल संगीतका क्षेत्रमा मेरा लागि फलिफाप वर्ष हो । कात्तिक १४ गते रेडियो नेपालमा देउडा गीतको बिजारोपण गरेँ । २०४३ सालमा देउडा गाएर प्रथम पुरस्कार पनि हात पारेँ । कर्णाली नदीमाथि पक्की पुल नबन्दा भारतमा रेलको यात्रा गरी नेपालगञ्जको सीमा रूपैडिहाबाट धनगडीको गौरीफन्टा नाका भएर देउडा गीतका २२ वटा गीति क्यासेट निजी लगानीमा उत्पादन गरी सुदूरपश्चिमका गाउँ-गाउँ र बस्ती-बस्तीमा पुर्याएँ । लोप हुन लागेको देउडा संस्कृतिको जगेर्ना गर्दै आफ्नो भाषा, शैली र गीतसंगीतको त्यहाँका बासिन्दालाई अपनत्व बोध गराएँ ।
सभापति देउवा प्रतिबन्धित कालमा आफैं पनि कष्टप्रद जिन्दगी बिताएका नेता हुन् । मैले जस्तै सुदूरपश्चिमका हरेक जिल्लाका बस्ती-बस्तीमा पुगेर सुखदुःख साटासाट गरेका भरपर्दा राजनीतिक अभिभावक पनि हुन् भन्ने मेरो सरल सोचाइ छ । यस सोचाइलाई कतै तिरस्कार भविष्यमा गर्दैनन् होलान् नि ?
त्यतिमात्र नभएर गौरा, बिसुपर्वमा राजधानीमा शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, दिलेन्द्रप्रसाद बडू, लेखराज भट्ट, भीम रावल, एनपी साउदलगायतका त्यस क्षेत्रका मूर्धन्य व्यक्तिहरूलाई टुँडिखेलमा देउडा खेल्न लगाएँ । सञ्चार क्षेत्रमा देउडा संस्कृति र देउडा गीतका विविध कार्यक्रम सञ्चालन गरेँ । जन-जनमा देउडा गीत सुनाएँ । नेपाली संगीतसँगै मूलधारमा देउडा गीतको उपस्थिति गराएँ ।
२०६२/०६३ को प्रतिगमनको विरोध गर्दै पहिले नागरिक आन्दोलनका तर्फबाट सडकमा लाखौं लोकतन्त्रवादी नेपालीलाई “झ्याम्म झ्याम्म” देउडा गीत गाएर आन्दोलनप्रति एकाकार हुन गीतमार्फत् सन्देश सुनाएँ । पछि मानव अधिकार तथा शान्ति समाजका तर्फबाट प्रा. पुरुषोत्तम दाहाल, कृष्ण पहाडी, डा. देवेन्द्र पाण्डे, अर्जुन पराजुली, राधा घलेलगायतका साथीसँगै देशव्यापीरूपमा संविधान लेखिनुपर्छ, समयमै जारी गरिनुपर्छ भनेर देउडा गीतबाट सन्देश सुनाउँदै हिडेँ ।
के मैले गरेका यी कर्महरू मेरा निजी स्वार्थका लागि हुन् र ? व्यवस्था बदल्न, देशमा सुशासन कायम राख्न १८ वर्षे उमेरदेखि वर्तमान कालखण्डसम्म इमान्दार भएर लागिपरेको सोझो बाहुनमाथि गरिने शीर्षस्थ नेताको व्यवहार के न्यायसंगत छ र ? हो, क्रियाशील सदस्य र आस्थाका हिसाबले म बिपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद कोइरालाको विचारको अनुयायी हुँ । तर, लोकसंस्कृति बचाउ अभियान र २०६२/०६३ सालको नागरिक अगुवाको नाताले सबैको समान नजरको अभियानकर्ता पनि त हुँ । मेरो नशामा बद्मासीको रगत बग्दैन । सिद्धान्त, निष्ठा र पूर्खाको बलिदानीपूर्ण संघर्ष अगाडि उभिन्छ, र त नतमस्तक हुन्छु अग्रजका सामु तर नेताले यसलाई मेरो कमजोरी सम्झेर हेपाहा प्रवृत्ति देखाउँछन् ।
नाता, गोता, धन र बाहुबललाई बिपीले कहिल्यै महत्व दिएनन् । क्षमता, योग्यतालाई आधारशिला बनाएर २०१५ सालको चुनावमा उनले संसद्को टिकट दिलाएकाले दुई तिहाइ सिट हासिल गरे । गौरवमय इतिहास बोकेको मेरो आस्थाको पार्टीमा ठीक विपरीत व्यवहार र कार्यशैली देख्दैछु विगत ३० वर्षदेखि । रिक्त रहेका २ सिटमा उपनिर्वाचन हुन अब धेरै दिन छैन । वैशाख १५ गते घरआँगनीमा आइसक्यो । लोकतन्त्र जोगाउनु छ, गाउँका मानिसलाई आफूले टिकट नपाउँदाका पीडा नसुनाई पार्टीले टिकट दिएका उम्मेदवारका पछाडि लागेर यो उमेरमा पनि पहिलेजस्तै नेपाली कांग्रेसका पक्षमा मत माग्नु छ । युग फेरिएको छ, पार्टीमा अनुहार पनि फेरिएका छन् । हामीले सिद्धान्त कहीँ कतै गएर पनि फेर्नुहुँदैन । नयाँ पिँढीलाई पनि यही सुझाव दिन्छु ।
सभापति देउवा प्रतिबन्धित कालमा आफैं पनि कष्टप्रद जिन्दगी बिताएका नेता हुन् । मैलेजस्तै सुदूरपश्चिमका हरेक जिल्लाका बस्ती-बस्तीमा पुगेर सुखदुःख साटासाट गरेका भरपर्दा राजनीतिक अभिभावक पनि हुन् भन्ने मेरो सरल सोचाइ छ । यस सोचाइलाई कतै तिरस्कार भविष्यमा गर्दैनन् होलान् नि ? म पनि आफ्नो गाउँठाउँको ठूलो जनाधार प्राप्त व्यक्ति हुँ । काठमाडौंमा मेरो घर छ, घरबार छ, शिक्षित श्रीमती छिन् । कुनै कमी छैन वर्तमानमा मलाई तर मेरो गाउँ शून्य छ, अभाव छ, अधिकार के हो ? मेरा दाजुभाइलाई सिकाउनु छ, अधिकार दिलाउनु पनि छ । गरिबीको अवस्थामा रहेका गाउँका दाजुभाइ, दिदीबहिनीको र विदेशिँदै गरेका अभावग्रस्त अनुहार सम्झँदा साह्रै भावुक हुन्छु । आँसु खस्छ शिरानीमा । ३० वर्षपहिले आफैंले गाएको देउडा गीत सम्झन्छु-
इस्तिरीले पिटायाको धोबीले धोयाको
क्या जान्दोछ सुखी मनले दुःखी मन रोयाको ?







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता