काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ वर्षको अवसरमा व्यक्तिगत घटना दर्ता सप्ताह घोषणा गरेको छ । विभागले शुक्रबार सिंहदरबारमा आयोजित एक कार्यक्रमबीच वैशाख १ गतेखि एक सातासम्म व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाइने जानकारी दिएको हो । विभागले तोकिएको समय अर्थात् ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता अनिवार्यरूपमा गराउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न सप्ताह आयोजना गरिएको जनाएको छ ।
व्यक्तिको जीवनमा घट्ने पाँच प्रकारका घटना जस्तै जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदसम्बन्धी घटना घटेको ३५ दिनभित्र घटना दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । समयमै राज्यलाई नागरिकको घटनाबारे अभिलेख प्राप्त हुँदा राज्यबाट पाउने सेवा, सुविधा र नीति निर्माणमा पनि टेवा पुग्ने, नागरिकले पनि राज्यबाट पाउने सेवा, सुविधा साथै आफ्नो व्यक्तिगत पहिचान पनि अझै महत्वपूर्ण हुन्छ भन्ने विषयमा जनचेतना अभिवृद्वि गर्ने उद्देश्यले हरेक वर्षको वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गरिएको विभागले जनाएको छ ।
व्यक्तिगत घटना दर्ताको काम स्थानीय तहमा हुने भएकाले सबै स्थानीय तहमा सूचनामूलक सन्देश प्रवाहका लागि विभिन्न कार्यक्रम गर्न विभागले आग्रह गरेको छ । व्यक्तिगत घटना दर्ता सप्ताह चलिरहेको अवधिमा अनिवार्यरूपमा व्यक्तिले घटना दर्ता गराउनैपर्ने भन्ने नभई घटना घटेको ३५ दिनभित्र घटना दर्ता गराउनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु मूल उद्देश्य रहेको विभागको भनाइ छ ।
पछिल्लो राष्ट्रिय जनगणनाअनुसार पाँच वर्ष वा सोभन्दा कम उमेरका बालबालिकामध्ये ७४ प्रतिशतको मात्रै जन्मदर्ता हुने गरेको छ । अझै पनि २६ प्रतिशत बालबालिकाको जन्मदर्ता हुन बाँकी नै छ । हाल छ हजार सात सय ४३ वडामध्ये छ हजार पाँच सय ७६ वडामा घटना दर्ता अनलाइनमा हुने व्यवस्था छ । विभागका अनुसार अनलाइन माध्यमबाट झण्डै ४८ लाख व्यक्तिगत घटना दर्ता भएका छन् । हालसम्म ४८ लाख ४५ हजार नौ सय १३ व्यक्तिगत घटना अनलाइनमार्फत् दर्ता भएका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts