काठमाडौं । नेपाल डेरी एसोसिएसनले पछिल्लो समय बिमा कम्पनीहरूले राज्यबाट पाउनुपर्ने बिमा अनुदान रकम समयमै नपाएका कारण कृषि बिमा प्रभावित भएको भन्दै बिमा रकम तत्काल भुक्तानी व्यवस्था गर्न माग गरेको छ । राज्यद्वारा बिमा कम्पनीलाई कुनै बक्यौता भुक्तानी गर्न बाँकी भए तुरुन्तै गर्नुपर्ने र कहीँ कतै नीतिगत त्रुटि भए त्यो पनि समाधान हुने गरी किसानले पाउने सुविधा बिनाझन्झट उपलब्ध गराइनुपर्ने एसोसिएसनको माग रहेको छ ।
कृषि बिमा प्रभावित हुँदा विशेष गरी दुग्ध किसान अत्यन्तै मारमा परेको, बेचेको दूधको भुक्तानी समयमा नपाउँदा पशु आहारा, कामदारको तलब, औषधि उपचारमा समस्या भइरहेको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
एसोसिएसनले आगामी दिनमा कुनै ठूलो महामारी वा अन्य कुनै कारणले पशु क्षति भएमा पशुपालक किसान ठूलो मारमा पर्ने भन्दै किसानलाई आफ्नो पेशामा टिकाइराख्नु राज्यको पनि दायित्व भएकाले किसानले पाउनुपर्ने बिमा सुविधा तत्काल उपलब्ध गराई बिमा कम्पनीहरूलाई पशुबिमा र कृषि बिमा गर्ने वातावरण बनाउन एसोसिएसनले सरकार तथा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।






