झापा । पेचिलो रस्साकस्सी, सुप्त र आन्तरिक तिक्तताका बीच नेकपा एमाले झापा अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेको छ। अरु पदमा अहिले पनि सहमति जुटेको छैन। पार्टी हाइकमाण्डले कुनैपनि हालतमा चुनाव गराउन नहुने र सर्वसम्म नेतृत्व चयन गर्न निर्देशन दिएपछि अध्यक्ष र उपाध्यक्ष छानिएका हुन् ।
एमाले झापाका अनुसार अध्यक्षमा प्रेम गिरी र उपाध्यक्षमा शिव ढुङ्गेल सर्वसम्मत भएका छन् । नेतृत्वको चर्को दबाबपछि उनीहरू सर्वसम्मत भएका हुन् । कार्यबाहक अध्यक्ष गिरी र बहालवाला सचिव ढुङ्गेल अध्यक्षका आकांक्षी थिए। एउटै लाइनका उनीहरूले अध्यक्षमा दाबी गरेपछि जिल्ला तहबाट बल पार्टी अध्यक्ष केपी ओलीको कोटमा पुगेको थियो। अध्यक्ष ओलीको ठाडो निर्देशनमा अध्यक्ष र उपाध्यक्षको टुङ्गो लागेको एमाले स्रोतले बतायो।
एमाले झापाको जिल्ला अधिवेशन गर्न आउनु भएका अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममा नै नेतृत्व सर्वसम्मत छान्न निर्देशन दिनुभएको थियो। अध्यक्ष ओलीको सो निर्देशनपछि पनि सर्वसम्मत नेतृत्व छानिएको छैन। शनिबार अध्यक्ष ओलीको ठाडो निर्देशनमा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत भएको एमाले झापा स्रोतले दाबी गरेको छ। चैत १५ गते उद्घाटन भएर १६ गते तीन वर्षे कार्यकालका लागि नेतृत्व छान्ने अधिवेशन कार्यतालिका थियो। तोकिएको भन्दा दुई दिन बढी समय बितिसक्दा पनि सचिव र उपसचिवमा आइतबारसम्म किचलो कायमै छ। अन्य पदमा सहमति जुटेको छैन।
सचिवमा तुलसी कार्की र भोजराज घिमिरेले दाबी गरिरहेका छन् । यसैगरी उपसचिवमा एक महिला सहित चारजनाले दाबी गरेका छन् । महिला उपसचिवमा अनिता कन्दङ्वाको मात्रै दाबी रहेपनि खुल्ला उपसचिवमा असारु राजवंशी, टिकाराम मंग्राती र चन्द्र सुब्बाले दाबी छाडेका छैनन् ।
विवाद मिलाउन शनिबार बिर्तामोडमा एमाले नेताहरू छलफलमा जुटेका थिए। छलफलमा सहमति नजुटेपछि सोमबारसम्म पर्खने र सहमतिको प्रयास विफल भए मंगलबार निर्वाचन मार्फत नेतृत्व चयन गर्ने मानसिकतामा पुगेको स्रोतले जनाएको छ ।
पालिका तहमा छलफल गरेर विवाद सुल्झाउने, विवाद नसुल्झिए मंगलबार चुनावमा जाने सहमति जुटेको थियोे । तर आइतबार त्यो सल्लाह भाँडिएको एक नेताले बताए । अब केन्द्रीय निर्देशन अनुसार एमालेको झापा नेतृत्वको टुङ्गो लाग्ने भएको छ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा