नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाभित्र सञ्चालनमा रहेका हाटबजार अखाद्य वस्तुको अखडा बन्दै गएका छन् । गत आइतबार र बुधबार गरी बर्दघाट ९ पञ्चनगर र बर्दघाट २ चिसापानीको हाटबजार अनुगमन गरेको नगरले शुक्रबार बर्दघाट ४ को हाटबजार अनुगमन गरेको छ ।
हाटबजारको अनुगमनका क्रममा तीनवटै हाटबजारमा अखाद्य वस्तु खुलेआम बिक्री भइरहेको पाइएको हो । गत साता बजार अनुगमनका क्रममा नगरले अखाद्य वस्तु बिक्री नगर्न निर्देशन दिए पनि शुक्रबार अखाद्य वस्तु भेटिएका छन् । नगरको निर्देशन पालना नगरी व्यापारीहरू उल्टै नगरपालिकालाई चुनौती दिँदै अनुगमनमा खटिएका प्रतिनिधिलाई गालीगलौजमा उत्रिने गरेका छन् ।
बर्दघाट नगरपालिकाले बजारमा मासु बिक्रीमा प्रतिबन्ध लगाए पनि तीनबटै बजारमा खुलेआम मासु बिक्री हुने गरेको छ । व्यापारीले नगरको निर्देशन पालना नगरेर उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाटका अध्यक्ष हुमनाथ आचार्यले बताउनुभयो । पञ्चनगर र चिसापानी बजार अनुगमन गरी मासु र अखाद्य वस्तु बिक्री नगर्न सचेत गराउँदासमेत व्यापारीले टेरपुच्छर नलगाएका हुन् ।
कार्यपालिका सदस्य मञ्जु चालिसेको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले शुक्रबार बर्दघाट ४ को हाटबजार र नगरपालिका वरपर भएका केही होटलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा झिँगा भन्केको र कोल्ड चेन प्रयोग नभएको माछामासु, दालमोठ नमकिनलगायका अखाद्य वस्तु बिक्री भइरहेको पाइएको अनुगमन टोलीले जनाएको छ । बजारमा धेरै बिक्री हुने चटपट, जेरीलगायतका परिकार प्रिन्टेड पेपरमा बेरेर दिएको भेटिएको छ ।
झिँगा भन्केको र कोल्ड चेन प्रयोग नगरेको करिब १० केजी मासु नष्ट गरिएको नगरका पशु चिकित्सक देवेन्द्र घिमिरेले बताउनुभयो । त्यस्तै, उत्पादन मिति उल्लेख नगरी प्याकेजिङ गरिएका दालमोठ नमकिन पनि नष्ट गरिएको नगरको उद्योग शाखा प्रमुख पशुपति गैरेले जानकारी दिनुभयो ।
अटेरी गर्ने र निर्देशन नमान्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउने नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक रुद्रप्रकाश उपाध्यायले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अटेरी गरी अखाद्य वस्तु बिक्रीवितरण गर्नेलाई कारबाही गर्न कानुनअनुसार अघि बढ्ने र मर्यादितरूपमा व्यापार गरिरहेका व्यापारीलाई प्रोत्साहन मिल्ने गरी अनुगमन निरन्तर चलिरहन्छ ।’






