काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री दाहालले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै उहाँले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने तथा एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।
“आयोगले सरकारको थिङ्क ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,” प्रधानमन्त्री दाहालले भन्नुभयो– “आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।” तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन सो अवसरमा उहाँले निर्देशन दिनुभयो ।
“मलाई विश्वास छ, अहिले बनेको नयाँ टोलीले राष्ट्रिय योजना आयोगको काम–कारबाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धान र विकास–निर्माणका आयोजनाको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।” उहाँले १६औँ योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेकालाई अन्तिमरूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति तथा कार्यक्रमलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई निर्देशन दिनुभयो ।
सोह्रौँ योजनाले प्रमुख रूपमा देशभित्र उत्पादन र रोजगारी बढाउने दिशामा नयाँ खालका नतिजामूलक कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले अब निर्माण गर्ने पूर्वाधारले कुन हदसम्म उत्पादन र रोजगारी बढाउन सहयोग पु-याउँछ, त्यसको आधारमा मात्र पूर्वाधारका आयोजना छनोट गरी कार्यान्वयनमा लैजानुपर्छ ।”
सो अवसरमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र आयोगका सदस्यहरुको उपस्थिति रहेको थियो ।
रासस







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts