काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले आगामी आर्थिक वर्षभित्र किसान परिचयपत्र वितरण गर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्षको कृषिसम्बन्धी बजेट तथा कार्यक्रमसम्बन्धी छलफलमा उहाँले किसानको पहिचान, जग्गा वर्गीकरणलगायतका विषयमा मन्त्रालयले काम गरिरहेको जानकारी गराउँदै किसान पहिचान गरी आगामी आर्थिक वर्षभित्रै किसान परिचयपत्र दिने बताउनुभएको हो । साथै मन्त्री साहले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी रहेको बताउनुभएको छ ।
‘नेपालमा सुन्तला मिठो फलका रूपमा रहेको छ । जुन फल खान पनि सजिलो छ । काट्न चक्कु आवश्यक परेन । त्यसैले सुन्तलालाई राष्ट्रिय फलफूलका हिसाबले लैजान प्रयत्न गर्दैछु ।’
उहाँले भन्नुभयो, ‘सुन्तलालाई राष्ट्रिय फलफूल घोषणाका लागि म केही दिनमा मन्त्रिपरिषद्मा लैजाने तयारीमा छु । किनकि नेपालमा सुन्तला मिठो फलका रूपमा रहेको छ । त्यो फल खान पनि सजिलो छ । काट्न चक्कु आवश्यक परेन । त्यसैले सुन्तलालाई राष्ट्रिय फलफूलका हिसाबले लैजान म आफ्नो ठाउँबाट प्रयत्न गर्दैछु । तुरुन्तै क्याबिनेटमा पास हुने जानकारी गराउन चाहन्छु ।’ मन्त्री ज्वालाले दुई लाख हेक्टर बाँझो जग्गा प्रयोगमा ल्याउन सके कृषि उत्पादन बढाउन सकिने बताउनुभएको थियो ।
कार्यक्रममा सहभागी सांसदहरूले कृषि नीति परिवर्तन गर्न सुझाव दिएका थिए । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कृषि क्षेत्रले एक लाखलाई रोजगारी दिने गरी आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेट ल्याउन सुझाव दिनुभयो भने कृषिमन्त्री ज्वालाकुमारी साहले कृषि अनुदान लिने गैरकिसानलाई तत्काल कारबाहीको दायरामा ल्याउन सुझाव दिनुभयो ।
कृषिमा उत्पादित वस्तुलाई ठूला शहरमा बजारीकरण गर्ने व्यवस्था गर्नुपर्ने पनि सांसदहरूले औँल्याएका छन् । नेकपा एमालेकी सांसद विद्या भट्टराईले महानगरपालिका र उपमहानगरपालिका जस्ता ठूला शहरमा किसानका उत्पादनको बजारीकरणका लागि आवश्यक नीति बनाउनुपर्ने बताउनुभयो । सांसद रेखा यादवले किसानलाई आवश्यक मलको तत्काल व्यवस्था गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।
साथै नेपालमा उत्पादित सुपारी तस्करको हातमा जाने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा सांसदहरूले सरकारले किसानलाई प्रोत्साहित हुने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता