काठमाडौं । कनकाई नगरपालिकामा डिजिटल ठेगाना प्रणालीमा आधारित ठेगाना प्लेट जडान कार्य शुभारम्भ गरिएको छ । कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले एक समारोहबीच नेपालमै पहिलोपटक पालिकास्तरमा डिजिटल ठेगाना शुभारम्भ गर्नुभएको हो । ‘कता हो’ एपमार्फत् तयार गर्न सकिने तथा एलमुनियम पातामा मेसिनमार्फत् खोपिएर बन्ने विशेष किसिमको ठेगाना प्लेटमा घरधनीको नाम, २ शब्द र अंकको कता हो कोड, स्थानीय नाम तथा स्थानीय तहको नाम र वडा रहन्छ भने नेपाल सरकारले जारी गरेको हुलाक वस्तु वितरणका लागि गुगल प्लस कोडसमेत यस प्लेटमा रहेको छ । प्लेटमा रहेको क्युआर कोडमार्फत् घरधनीको मोबाइलमा घण्टी बजाउने सुविधासहितको उक्त प्रणालीको विकास नेपालमा लामो समय प्रविधि अनुसन्धानमा बिताउनुभएका चर्चित जुम्ल्याहा अनुसन्धानकर्ता रामलक्ष्मण संलग्न रहेको एड्रेसग्राफ नेपाल प्रालिले तयार गरेको हो ।
सो अवसरमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरको वडा ७, दुर्गापुरस्थित सामुदायिक भवनमा एक कार्यक्रमबीच प्लेट जडान गरी ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणालीको शुभारम्भ गर्नुभएको हो । मेयर पोखरेलले नेपालमै तयार पारिएको अत्याधुनिक ठेगाना प्रणाली पालिकास्तरमा सुरुवात गर्न पाउँदा खुसी लागेको बताउनुभयो । स्वदेशी प्रविधिलाई पालिकाहरूले आ-आफ्ना स्तरबाट प्रवद्धन गर्नुपर्ने कुरासमेत व्यक्त गर्नुभयो ।
डिजिटल ठेगाना प्रणालीको प्लेट तयार गर्न तथा त्यसलाई प्रयोग गर्नका लागि निकै कम समयमा कार्य गर्न सकेकोमा प्रविधि विकासकर्ताहरूलाई धन्यवाद दिँदै नेपालका शहरका लागि मात्र नभई विकट स्थानका लागि समेत यो प्रविधि उत्तिकै उपयोगी रहनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कता हो प्रणालीका प्रविधि अनुसन्धानकर्ता रामप्रसाद रिमालले पाँच वर्ष लामो अनुसन्धानपछि विकास भएको प्रणालीमार्फत् नेपालभर जोसुकैले पनि मिनेटभरमा डिजिटल ठेगाना प्लेट तयार गर्न सक्ने र पालिकाहरूले समन्वय गर्न सकेमा ठेगाना प्रदान गर्न सरकारको ठूलो बजेटको बचत हुन सक्ने बताउनुभयो ।
कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, स्थानीय वडाका वडाध्यक्ष भीष्मभूषण सिटौलासहित वडाका जनप्रतिनिधि, दुर्गापुर सामुदायिक भवनका अध्यक्ष अमृत योङहाङ, टोल विकास संस्थाका प्रतिनिधि, दुर्गापुर बजार व्यवस्थापन समिति, विभिन्न संघ संस्थासहित स्थानीय राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा नयाँ प्रविधिको शुभारम्भ गरिएको रिमालले जानकारी दिनुभएको छ । रिमालका अनुसार उक्त प्रणालीको सहायताले जुनसुकै पनि ठाउँ पत्ता लगाएर गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । प्रणालीलाई नक्सा नभएर जुनसुकै नक्सामा प्रयोग हुने अपरिहार्य पूर्वाधार भएको अनुसन्धानकर्ता रिमालको भनाइ छ । उक्त प्रणाली सुरुवात गर्ने स्थानीय तह कनकाई नगरपालिका देशमै पहिलो नगरपालिका हो ।
नगरप्रमुख पोखरेलका अनुसार नगरलाई डिजिटल प्रविधिमैत्री नगर बनाउने अभियानअन्तर्गत कार्यपालिका कार्यालयलाई डिजिटलमैत्री बनाइसकेको छ, अब कनकाईका हरेक घरलाई डिजिटल प्रणालीमा जोड्ने अभियान सुरु भएको छ । नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘१२ वर्षअघि फ्रान्स भ्रमणमा गएका बेला गाडीमा चढेपछि आफू पुग्ने घरसम्म पुग्न डिजिटल प्रणालीले बाटो देखाएको थियो, त्यो बेला यो प्रविधि देख्दा म अचम्म परेको थिएँ । आज त्यही प्रविधि, प्रणाली आफ्नै नगरमा सुरु गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ ।’ घर-घरमा डिजिटल नम्बर प्लेट टाँस गर्न एउटा प्लेटबापत छ सय रुपैयाँ खर्च आएको छ । तर, साझेदारीमा प्रविधि प्रयोगको महत्व र आवश्यकतासँगै अपनत्व बोध गराउन एक सय रुपैयाँमात्र लिने अरू खर्च नगरपालिकाले बेहोर्ने जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता