✍️ डा. अरुणा उप्रेति
२० वर्षअघि इरानको ‘वाम’ शहरमा म जनस्वास्थ्य विज्ञ भएर काम गरिरहेकी थिएँ, भूकम्प गएको क्षेत्रमा । एकदिन त्यस शहरबाट केही टाढा एउटा सानो शहरमा खाना खान गयौं । सानो चमेनागृहको मालिकलाई मैले भनें, ‘म शाकाहारी हुँ, मासु नहालेको परिकार दिनू है ।’ तिनले ‘हुन्छ’ भने र मेरा लागि नान, रोटी, सुप ल्याइदिए । म दंग परें । मुखमा सुप हाल्नेबित्तिकै मलाई थाहा भयो, त्यसमा मासु छ ।
‘मैले मासु खान्नँ भनेको, किन मासु हालेको ?’ मैले तिनलाई सोधें । ‘यो त मासुको रसमात्रै हो, मासु त मैले झिकिसकेँ । यहाँ मासु नखाने मानिस आउँछन्, तिनीहरूका लागि हामी यसैगरी सुप पकाउँछौं,’ तिनले भने । तीन महिना इरान बस्दा होटलमा मैले तरकारी, दाल कहिल्यै खाइनँ, फलफूल, दही-भात र भान्टामात्र खाएँ । त्यसबेला मलाई अनुभव भयो, ‘मासुको टुक्रा नखाने मानिसहरू’ त्यहाँ शाकाहारी हुँदारहेछन् ।
अफगानिस्तान, पाकिस्तान बस्दा म आफैंलाई एउटै प्रश्न गर्थें, ‘मासु नखाए पनि मान्छे बाँच्न सक्छ ?’ खासमा ठाउँ र समयानुसार गरिन्छ-मासु खाने कि नखाने भन्ने बहस । मासु खानु स्वास्थ्यकर हो कि होइन ? शाकाहारी भन्लान्, ‘स्वास्थ्यकर होइन ।’ मांसाहारी भन्लान्, ‘शाकाहारीलाई प्रोटिन नै पुग्दैन ।’ शाकाहारीलाई लिएर मांसाहारीले राख्ने यो विचारप्रति मेरो तीव्र असहमति छ, जति शाकाहारीले मांसाहारीप्रति राख्ने यस्तो विचारसँग– ‘मांसाहारीहरू सबै अस्वस्थ हुन्छन् ।’
‘सुत्केरीलाई खुट्टीको रस ख्वाएपछि मात्रै उनी तंग्रिन्छिन् र उनको दूध आउँछ’ भन्नेहरू के बिर्सन्छन् भने शाकाहारीले खाने दाल, सुप, ज्वानोको झोल, कोदो, फापर आदिले शरीरलाई पर्याप्त प्रोटिन दिन्छन् । ‘२५ वर्ष भयो मैले मासु नखाएको, तर मलाई न रगत कम छ, न सूक्ष्म पोषक तŒवको कमीले क्याप्सुल खानुपरेको छ,’ म आफ्नो अनुभव सुनाउँदा प्रायः भन्छु, ‘तर, मासु खाने मानिसले पनि विभिन्न तरकारी, दाल खाएपछि मात्रै उसको शरीरमा रेसादार पदार्थ पुग्छ । र, कब्जियत भएर अनेकथरी औषधि खानुपर्दैन ।’
सायद पहिले-पहिले मासु धेरै खान नपाइने भएकाले होला हामीकहाँ कुनै तरकारी स्वादिष्ट भए यस्तो भन्ने चलन छ, ‘मासु जत्तिकै मीठो ∕’
५० वर्षअघि हाम्रो घरमा दशैँमाबाहेक, शनिबार त्यो पनि पाहुना आउने दिनमा मात्रै मासु पाक्थ्यो । बुबासँग मासु किन्न को जाने भनेर घरमा म र दाइबीच सानोतिनो युद्ध नै हुन्थ्यो । किनभने ६ रुपैयाँको आधा धार्नी मासु किनेर/बोकेर ल्याउँदा ‘बक्सिस’ स्वरूप ‘मोहनभोग र स्वारी’ खान पाइन्थ्यो । मासु पकाएको भाँडा पनि लुछाचुँडी हुन्थ्यो, त्यसमा भात दलेर सोहोरेर खानका लागि ।
त्यसबेला यस्ता कुरा सुनिन्थे, ‘विदेशमा मानिसहरू बिहान-बेलुकै मासु खान्छन् । थोरै पैसामा मासु किन्न पाइन्छ, त्यहाँ तरकारी महँगो, मासु सस्तो हुन्छ ।’ यस्ता कुरा सुन्दा सोच्थें, ‘आहा ∕ त्यहाँ जान पाए त म कत्ति मासु खान्थें ।’
समय बदलिँदै गयो । दैनिक मासु खाने देश पुग्दा पनि हरियो तरकारी, भात, सुप, फलफूल नै खाएँ । फलफूल त जीवनको अभिन्न अंग बन्यो । तर, अहिले कसैले मलाई ‘मासु खाने कि नखाने ?’ भन्ने प्रश्न गरे मेरो उत्तर हुन्छ, ‘मन लागे खाने ।’
मासु खानेलाई ‘पापी’, ‘नर्क जान्छौ’ भनी प्रयोग गरिएका शब्दले मेरो मनमा पनि चसक्क बिझ्छ । तिब्बतको अनकण्टार कुना, जहाँ मासु मुख्य भोजन हो, त्यहाँ पुगेर ‘तरकारी खाऊ, मासु नखाऊ’ भन्न सकिन्छ होला ?
गंगटो, भ्यागुतो, मुसा, अनेकथरीका माछा खाने विश्वका भिन्न-भिन्न समुदायमा पुगेर ‘मासु खाए देवी रिसाउँछन्’ भन्ने तर्क गर्दा बुद्धिमत्ता होला ? खाना/भोजन मान्छेको संस्कृति, भौगोलिक अवस्थासँग गाँसिएको हुन्छ । जहाँ जे पाइन्छ, त्यसैलाई प्रयोग गर्ने हो । र, त्यसैबाट स्वस्थ बन्ने हो । शाकाहारीले मांसाहारीलाई र मांसाहारीले शाकाहारीलाई होच्याउनुको कुनै तुक छैन ।
शाकाहारी खाद्यपदार्थमा प्रोटिनको कमी हुन्छ भन्ने भ्रम छ । तर, सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ । टोफु, बिन्स, दाल, फलफूल र रोटीबाट भरपुर प्रोटिन प्राप्त हुन्छ । शाकाहारी खानामा आइरनको कमी भएको कतिपयले बताउँछन् तर, पालक, बिन्स र टोफुजस्ता शाकाहारी खानामा आइरन हुन्छ । (लेखक सामाजिक अभियनता हुनुहुन्छ । उहाँले पौष्टिक आहार सम्बन्धमा वैचारिक अभियानसमेत सञ्चालन गरिरहनु भएको छ ।)







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts