काठमाडौं । कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याइएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।
सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
महरालाई कपिलवस्तुबाट आज विहान काठमाडौँ ल्याइएको प्रवक्ता ढकालले जानकारी दिनुभयो।
उनीमाथि सुन तस्करी सम्बन्धमा लागेका आरोपहरूको मुद्दा तयार गरेर सोमबार नै अदालतबाट म्याद थप गरिने सीआईबी स्रोत जनाएको छ ।
यसअघि सोही प्रकरणमा महरालाई केही महिना अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बयान लिइ कागज गरी छाडेको थियो ।
यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिनुभएको थियो।

अनुसन्धान सुरू गर्न प्रहरीले तयारी गर्दा–गर्दै महरा स्थलमार्ग हुँदै काठमाडौंबाट बाहिरिएका थिए ।
सोमबार उनी एकाएक भैरहवा हुँदै दाङ हिँडेको सूचना आएपछि प्रहरी प्रधान कार्यालयले पक्राउ गर्न निर्देशन दिएको थियो। गिरफ्तारीको सूचना पाएपछि उनी भारत पस्ने तयारीमा रहेका थिए । स्रोतका अनुसार उनी कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका थिए ।
स्थलमार्गबाट दाङ हिँडेकाे भनिएकाे महरालाई पक्राउ गर्न कपिलवस्तु प्रहरीले निर्देशन पाएलगत्तै नियन्त्रणमा लिन सडकमा प्रहरीले ब्यारिकेट लगाएको थियो। महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर नै राखेको थियो । तर महरा चढेको गाडी ब्यारिएर छलेर भाग्दा भाग्दै प्रहरीले गाडीलाई घेरा हालेर पक्राउ गरेको थियो ।

महरा चढेको बा ०१० २७ च १९९३ नम्बरको गाडी प्रहरीको ब्यारियर छलेर अगाडि बढ्यो । गाडी भारतीय सीमा क्षेत्र अलिगढवातिर लागेपछि घेरा हालेर नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।
त्यसपछि केन्द्रको आदेश अनुसार भैरहवाबाट यति एयरलाइन्सको फ्लाइटबाट उनलाई काठमाडौं ल्याइएको हो । महरालाई काठमाडौं ल्याएर सीआईबी पुर्याइएको छ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।
उक्त प्रकरणमा उनका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा