ललितपुर । मेड इन नेपाल भन्ने नाराका साथ चैत अन्तिम साता ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने इन्टरनेसनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक ललितपुर चेम्बर अफ कमर्सले जनाएको छ ।
इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, चीनलगायतका देशमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवासम्बन्धी स्टल रहने आयोजकले जनाएको छ । ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्स र जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकला, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता-चप्पल, नक्कली गरगहनालगायत रहने बताइएको छ । मेलाको सहयोगी संस्थाका रूपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् ।
आर्थिक गतिविधि बढाउनुका साथै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न एक्स्पो फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले बताउनुभयो ।
सार्क मुलुकमा निर्मित सामग्रीले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत् सहभागी देशका उत्पादन प्रवद्र्घनमा सघाउ पुग्ने बताउनुभयो । मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रो डक्सन ट्रेड शोका प्रबन्ध निर्देशक सुमन महर्जनले बताउनुभयो ।
मेलाका आकर्षणमा विभिन्न देशका स्वादमा फुड स्टल, बालबालिकाका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा निःशुल्क स्वास्थ्य शिविर रहने एक्स्पो संयोजक सुनिल विष्टले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts