अब लेकका गोठमा को बस्ला ?

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । लेकबेसी गरेर जीवन निर्वाह गर्ने पश्चिम बागलुङको ग्रामीण क्षेत्रका नागरिकको प्रचलन हो । एकै परिवारले हजारौँ पशुचौपाय पाल्ने हुँदा पुखौँदेखि लेकबेसी गर्दै आएका हुन् । लेकबेसी गर्दै आएका अधिकांशको लेकमा अस्थायी गोठ बनाउने र बेसीमा घर हुन्छ । बेसीमा मात्रै पशुचौपाया पल्न नसकिने हुँदा जेठदेखि कार्तिक महिनासम्म लेकमा बस्ने गर्छन् । लेकमा काठैकाठ र ढुङ्गाले गोठ बनाइएका हुन्छ । एक दशक अगाडिसम्म ति गोठमा पुग्दा गोठालासहित भेडाबाख्रा, गाईगोरु र भैँसी भेटिन्थे । तर पछिल्लो समय ति गोठ जीर्ण बनेका छन् । उजाडिएका छन् । गोठालाले घामपानी, हावाहुरी र जाडो छेक्नका लागि बनाएको गोठ हिजोआज बेवारिसे बनेका छन् ।

पशुचौपाया कम पाल्ने र लेकबेसी गर्ने प्रचलन घट्दै गएपछि लेक पनि उराठिलो बन्न थालेका छन् । कुनै बेला सेताम्य भेडाबाख्राले ढाकिने खर्च, अग्ला डाँडा र बुकीहरु सुनसान छन् । गोठालाले भरिने गोठहरु भत्किएका छन् । बुढाकापा लेकबेसी गर्न छोडे । युवा पुस्ताको रोजाई सहर बजार र विदेश भयो । त्यसले गर्दा गोठालाको संख्या पनि कम हुँदै गयो । जब गाउँहरु मोटरबाटोले जाडिए, सेवा सुविधाको पहुँच सहज भयो, त्यसपछि पशुचौपाया पाल्ने पनि कम हुँदै गए । बागलुङको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोला लगायतका ठाउँहरु उच्च पहाडी क्षेत्रम पर्ने हुँदा यहाँका स्थानीय पशुपालनमा आश्रित थिए । स्थानीय तहले लेकसम्मै मोटरबाटो निर्माण गरेपछि पशुपालनको सट्टा अन्य पेसा अङ्गाल्नेको संख्या बढ्दै गयो ।

बुढापाका लेकमा पुग्न छोडे । युवालाई त्यसप्रति चासो छैन । दशकौँदेखि पशुपालनमै रमाउँदै आएका केही व्यक्ति भने अहिले पनि निरन्तर लेकबेसी गरेर गुजारा चलाउँदै आएका छन् । गोठमै जन्मिएर, गोठमै हुर्किएका पुस्ताले मात्रै पशुपालन गरेर लेकबेसी गर्ने तर अरुले चासो नदिने ढोरपाटन नगरपालिका-९ का तिलु घर्ती मगरले बताउनुभयो । आफूले जान्ने हुँदादेखि नै लेकबेसी गर्दै आएको सुनाउँदै अहिले ६९ वर्ष पुगेको उहाँको भनाइ छ । आफ्नो दौतरी मध्ये धेरैले गाउँमै सीमित पशु पाल्ने तर लेकमा आउजाउ भने गर्न छोडेको घर्ती मगरले बताउनुभयो । अहिले धेरै भेडाबाख्रा पाल्नेहरु पनि पहिलेको जस्तो माथिल्लो बुकीमा नजाने उहाँ बताउनुहुन्छ ।

घर्ती मगरले भन्नुभयो - “अहिले त बुढेसकाल लागेछ, जवानीमा जस्तो हिँडेर बुकीमा पुग्न गाह्रो-गाह्रो पो हुन्छ, मेरा अहिले पनि दुईभन्दा धेरै भेडाबाख्रा छन्, गाईभैसी पनि ३० वटा छन्, गाउँमै बसेर यति धेरै सम्पत्तिलाई पाल्न सकिन्न, लेकबेसीनै गर्नु पर्छ, बर्खामा ढोरपाटनको मुख्य बुकीमा पग्छौँ, जाडो याम सुरु भयो भने बेसी झर्छौँ, पहिले एउटै गाउँका ५०/६० गोठाला हुन्थे, अहिले त धेरै गाउँका पनि २० जना पुग्न गाह्रो हुन्छ, पहिले बस्नका लागि बनाइएका गोठ अहिले पुरै भत्किन थालेका छन्, मान्छेहरु यहाँ आउन छोडे, गोठलाहरु पनि कम भए, गोठको त्यो दुर्दशा देख्दा मनै अमिलो हुन्छ ।”

ADVERTISEMENT

निसीखोला गाउँपालिका-६ का हर्कबहादुर बुढा मगरले गोठालो गर्न थालेको ५० वर्ष बढी भयो । पशुपालनबाटै सात जनाको परिवार चलाउँदै आउनु भएका बुढा मगरले अझै १० वर्ष लेकबेसी गर्न सक्ने बताउनुहुन्छ । आफू सानैदेखि गोठमा बस्ने र पशुचौपायाको हेरचारमा खटिँदा पढाई लेखाई गर्न नपाएको सुनाउनुभयो । उतिबेलाको जमानामा पढ्ने लेख्ने चलन नहुँदा गोठमै बाल्यकाल बिताउनु परेको बुढा मगरको भनाइ छ । अचेलका बालबालिका जन्मेको तीन वर्षमै स्कुल जाने भन्दै जान्ने बुझ्ने हुँदा पनि गोठमा नपुग्ने प्रवृत्ति बढेको उहाँ बताउनुहुन्छ ।

“पहिलेको जस्तो जमाना छैन नि अहिले, हाम्रो पालामा त खेतीपाती गर्ने, कि वन जंगल पुगेर पशुको हेरचाह गर्नु पथ्र्यो, पढेलेको भए मास्टर बन्ने थिए, लेख पढ पनि भएन, पहिला पहिला त लेक जाने बेला पनि गाउँ भरीका जम्मा भएर एकै पटक जान्थ्यौँ, रमाइलो हुन्थ्यो, लेकमा गोठ बनाउँदा पनि पालैपालो गराउँथ्यौँ,” बुढा मगरले भन्नुभयो - “अहिले त लेक जाने धेरै कम छन्, पहिले बनाएका गोठहरु सबै भत्किएका छन्, गोठालहरु जानै छोठे, गोठमा मान्छे बस्न छोडेपछि भत्किने भयो, हामी नसक्ने भयौँ भने त यो लेक, बुकीहरुमा कोही पनि आउँदैन होला ।”

तमानखोला गाउँपालिका-३ का भीमबहादुर रोका पनि साढे चार दशकदेखि निरन्तर पशुपालनमा हुनुहुन्छ । करिब पाँच सयको संख्यामा रहेका भेडा गाउँमा मात्रै घाँस र दाना पुर्‍याउँन नसक्दा सिजन अनुसार लेकबेसी गर्दै आउनु भएको छ । लेकमा बस्दा पशुचौपाय पालनसँगै चोया तथा काठका सामग्री बनाउने र बेसी झर्दा बेच्ने गरेको रोकाले बताउनुभयो । गाउँभन्दा झण्डै एक दिनको दूरीमा अस्थायी गोठ बनाउने र त्यही बस्ने गरेको भन्दै पछिल्लो समय गोठहरु भत्किदै गएको र बनाउन पनि छोडेको उहाँको भनाइ छ ।

रोकाले भन्नुभयो - “पशुचौपाया लगेर एक हप्तासम्मको यात्रा गरेर बुकीमा पुग्ने गरिन्थ्यो, तर अहिले भेडाबाख्रा र गाईभैसी कम भए, कोठालाहरु पनि घटे त्यही भएर धेरै टाढा पुग्नु पर्दैन, पहिलेको जस्तो दुई/तीन वर्षमा गोठहरु पनि बनाउनु परेको छैन, भएका गोठहरु पनि रित्तै छन्, नयाँ पुस्ता जाँदैनन, हामीहरु पनि अब धेरै वर्ष काम गर्न सकिएला, यसरी उकाली ओराली गरिला भन्ने लाग्दैन, लेकमा गोठहरु धेरै छन्, अब यहाँका गोठमा को बस्ला ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज