ललितपुर । नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघदेखि मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेकामा हालसम्म २३ जनाको मिर्गाैला प्रत्यारोपण गरिसकेको जनाएको छ । अस्पतालमा १७ वर्षका युवादेखि ६५ वर्षका वृद्धको सफलरूपमा प्रत्यारोपण गरिएको अस्पतालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौंडालगायतबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेको बताइएको छ । प्रत्यारोपण भइसकेका बिरामीमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मिर्गाैला दिएका छन् । मिर्गाैला दान गर्नेमा १८ वर्षका दातादेखि ६५ वर्षसम्मका दाता रहेका छन् । मिर्गाैला दान गर्नेमा महिला बढी अर्थात् १६ महिला र सात पुरुष रहेका छन् भने मिर्गाैला ग्रहण गर्नेमा १६ जना पुरुष र सातजना महिला रहेका छन् । प्रत्यारोपण गर्न आउने अधिकांश बिरामीको मिर्गाैला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मिर्गाैला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘२३ जनामा अधिकांश उच्च रक्तचाप र मधुमेहकै कारण मिर्गाैला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटिस्, शरीरमा प्रोटिनको मात्रा बढी भएर लिकेज हुन थालेपछि मिर्गाैला बिग्रेर जान्छ ।’
अस्पतालका अनुसार त्यतिमात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्किएका व्यक्तिको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरूमा समस्या देखिएको छ । पाँचजना मिर्गाैला प्रत्यारोपण भएका व्यक्तिहरू कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् । प्रत्यारोपण गर्न सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कुल खर्च ७ देखि आठ लाखसम्म पर्छ तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मेडिसिटी अस्पतालमा प्रत्यारोपणदेखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मिर्गाैला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताउनुभयो । उहाँका अनुसार मिर्गाैला दाता तीनदेखि चार दिनमा र ग्रहणकर्ता छदेखि सात दिनमा डिस्चार्ज हुने गरेका छन् । हालसम्म एक सय ५० भन्दा बढी बिरामी प्रत्यारोपणका लागि अस्पताल आएका र तीमध्ये २३ जनाको सफल प्रत्यारोपण गरिएको हो भने नौजना प्रत्यारोपणका लागि कुरिरहेका छन् ।
विश्व मिर्गाैला दिवसका अवसरमा मिर्गाैला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुँच रहेकामा अस्पतालबाट पनि सकेसम्म धेरैभन्दा धेरै मिर्गाैला रोगीहरूको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्ने गरी उपचार विधि अपनाइएको अस्पतालको दाबी छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता