यस वर्षको जाडोयाम सकिनै लागेको छ । धर्ती तात्न थालेको छ । कतिसम्म तात्ने हो मौसमविद्हरूले बताएका छैनन् । धर्तीमा तातो वाफ नउड्दै नेपाली राजनीतिमा एकाएक तापमान बढेको छ । राजनीति भनेकै तताउने, अर्कालाई उचाल्ने र पछार्ने खेल हो भन्ने मान्ने हो भने यसलाई स्वाभाविक भन्न सकिएला । हाल जसरी एकाएक राजनीतिमा तरंग पैदा गर्ने काम भएको छ त्यसले गर्दा राजनीति देश र जनताको हितका लागिभन्दा पनि राजनीतिक दलहरूको स्वार्थका लागि गरिन्छ भन्ने प्रमाणित भइरहेको छ । वर्तमानमा विकसित राजनीतिक परिघटनाले एउटा स्थिर तलाउका बीचमा ढुंगो हानेर तरंग पैदा गर्न खोजेको जस्तै अवस्था सिर्जना गरिदिएको छ । शान्त हुँदै गएको राजनीतिक पोखरी खनायास तरंगित हुन पुगेको छ ।
कहिलेकाहीँ वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले भन्ने गर्नुभएको ‘यो त टेलरमात्र हो सिनेमा त सुरु नै भएको छैन’ भन्ने भनाइलाई आधार मान्ने हो भने वर्तमान संविधानले निर्देश गरे अनुसार भएको दोस्रो पटकको आमवनिर्वाचन पछिको अभ्यास त भरखर सुरु भएको छ भन्दा हुन्छ । अझै लगभग चार वर्ष त यसको कार्यावधि बाँकी नै छ । त्यस बेलासम्म अझै अरू कति तमासाहरू नेपाली जनताले हेर्नु र भोग्नुपर्ने हो त्यसको पूर्वानुमान वर्तमान परिघटनाहरूबाट मात्रै गर्न सकिँदैन । उथलपुथल कति हुने हो स्पष्ट तस्वीर प्रकट भएको छैन । सरकारको नेतृत्व गरिरहेको माओवादी पार्टी आफैंमा जति अस्थीर छ त्यो भन्दा अगलवगलमा बसेर उसलाई समर्थन गर्ने अवसरवादीहरूले राजनीतिलाई अस्थिर बनाउने खेल खेलिरहेका छन् । जनताविरुद्ध भएको हिंसालाई जनयुद्ध भनेर संबोधन गरे पनि यो आफैंमा अराजकताको सर्जक थियो । नेपाललाई कम्तीमा पनि पचास वर्ष पछाडि धकेल्न त्यो विगतको हिंसा सफल भएको छ । अपार भौतिक क्षतिको त कुनै लेखाजोखा नै गर्न सकिँदैन । यसले पुर्याएको मनोवैज्ञानिक क्षतिको कुनै मूल्य निर्धारण हुनसक्दैन ।
सुरक्षित अवतरणको बाटो खोजेरमात्र शान्तिप्रक्रियामा आएको माओवादी पार्टीले शासन गर्न पाएमा राजनीतिक स्थिरता, शान्ति र विकास हुने अपेक्षा नेपाली जनतामा थियो । मुख्यधारका अरू राजनीतिक दलहरूले माओवादीलाई शान्तिको बाटोमा हिँडाउन पाए जनताले आरामको सास फेर्न पाउने थिए भन्ने विश्वास र आस दुवै थियो । यो आसासँगै तत्कालीन राजाको महत्वाकांक्षाबाट देश र जनताले समेत मुक्ति पाउने आधार खडा भयो । तर, सर्प श्रीखण्डमै बेरिए पनि ऊ निर्विष बन्न सक्दैन भनेर कविशिरोमणि लेखनाथ पौडेलले भनेझैँ माओवादीहरूसहित अरू दलहरूसमेतले नेपाली जनतालाई डस्ने कृत्यलाई निरन्तरता दिएको अनुभव भइरहेको छ ।
त्यसमा पनि एकअर्कामा अविश्वास, धोखाधडीलाई दलहरूले आफ्नो सत्ताको बलियो वैशाखी बनाउन लागेको हुनाले मानिसहरूमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान स्मरण हुन लागेको छ । पुरानो कुरा नगर्दा पनि ०६२ सालपछि मात्रै अनेक धोखाधडीका खेल प्रत्यक्ष छन् । ०६३ को सफल जनआन्दोलनको नेतृत्व गर्नुहुने गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने सर्तका विरुद्ध काम गरेर धोकेबाज प्रवृत्ति देखाएको माओवादीलाई त्यसपछि पनि लगातार पार्टीहरूले विश्वास गर्दै आए र मूलधारका दलहरूले एकअर्काविरुद्ध करिब अठार वर्षयता प्रयोग गरिरहेका छन् ।
यथार्थमा माओवादीको पैताला फेराईसँगै अन्य ठूला साना पार्टीहरूको अवसरवादी रणनीति निरन्तर छ । यसलाई कमजोरी भन्ने कि दुश्मनी भन्ने कि स्वार्थी भन्ने धेरै शब्द जुन प्रयोग गर्दा पनि कम हुन्छ । पहिलो धोखाधडीको सिकार हुनुभएका कोइरालापछि बागमतीमा जति पानी बहेको छ त्यो जस्तै धोखाधडीका अनगिन्ती छालहरूको सामना नेपाली राजनीतिले गरिरहेको छ । ०७४ मा एमालेसँग एकता गरेको माओवादी विभाजनको बाटोतर्फ उन्मुख भयो र एमाले नेतृत्वको सरकार गिर्यो । संघ, प्रदेश र पालिका तहका सबै निर्वाचन-२०७९ को निर्वाचन सकिनासाथ निर्वाचनका सहयात्री दललाई त्यागेर हतार हतार एमालेसँग मिलेर सरकार बनाउन पुग्यो तर तीन महिनामै पुन कांग्रेसको सामिप्य खोज्यो । एक वर्ष भएपछि फेरि कांग्रेसलाई लात मारेर एमालेसँग टाँसिन पुगेको छ । यसले गर्दा माओवादीले जनविश्वास जति गुमाउँदै गएको छ अरू उपयोगितावादले सिर्जना गरेको अवसरवादका पक्षपोषक नेपाली कांग्रेस, एमाले, राप्रपा, मधेसकेन्द्रित अनेक अनुहारका दलसहित पछिल्लो चरणमा रास्वपासमेत अविश्वसनीय हुनपुगेको छ । सत्ताको चञ्चल खेलमा माओवादी नेतृत्व जति अस्थिरता र अधैर्यको पर्याय हो त्यो भन्दा बढी नेपाली कांग्रेस र एमाले अस्थीर राजनीतिका उदाहरण बनेका छन् । यसले गर्दा अबका दिनमा नेपाली जनताले कसलाई विश्वास गर्ने त ? भन्ने प्रश्न टड्कारो रूपमा देखिन आएको छ । साना दलहरू भरोसा गर्न सकिने देखिएका छैनन् र तिनले नेपालको राजनीतिको अगुवाइ गर्न सक्दैनन् ।
अर्कोतिर सदा सत्ताको फेरमा अल्झिन खप्पिस मधेसकेन्द्रित दलहरू आफ्ना स्वार्थमा पौंठेजोरी खेल्ने, टुट्ने र फुट्ने गर्दागर्दै तिनीहरूको समय बितेको छ । संगठित र एक भएर अगाडि आउन सकेका छैनन् । संसद्मा कुनै पार्टीको बहुमत पुग्न नसकेको अवस्थामा सरकार बनाउने क्रममा गठबन्धन गर्नु आवश्यक भए पनि निर्वाचनमा पार्टीहरूबीच गठबन्धन गर्नु देश र जनताका लागि हितकर नहुने रहेछ भन्ने माओवादीको हालको व्यवहारले गर्दा प्रमाणित भएको छ । यसरी हेर्दा नेपालको राजनीति पार्टीहरूका बीच मुसा र बिरालाको खेलमा परिणत भएको छ । राष्ट्रमा राजनीतिक फोहोर थुप्रिनाले प्रदूषण बढेको छ । यो फोहोरको डंगुरलाई सफा गर्नसक्ने राजनीतिक नायक राष्ट्रले खोजिरहेको छ । छलकपटको राजनीति गरेर जनता अल्मल्याउने र आफ्नो स्वार्थ सिद्ध गर्ने नेता र नेतृत्वबाट देशको भलाई हुन सक्दैन ।
अहिले केही नेताहरूबाट नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरणको सम्भावना र आवश्यकता सम्बन्धी प्रश्नहरू उठिरहेका छन् । नाममा कम्युनिष्ट भए पनि एमाले प्रजातन्त्रको पुनस्र्थापनापछि निरन्तर प्रजातान्त्रिक अभ्यासमै रहिरहेको छ र यस पार्टीमा धेरैको विश्वास छ । नेपाली कांग्रेस त प्रजातन्त्रको संबाहक र संरक्षक नै भइहाल्यो । त्यसकारण हिंसाको पृष्ठभूमिबाट खहरे खोला जसरी उर्लिएर आएको र छोटो समयमै आफ्नो स्वत्व गुमाउँदै गएको पार्टीको चक्रव्युहमा अल्झिनुभन्दा देश र देशवासीको भलाइमा समर्पित हुने प्रतिबद्धतासहित ठूला दलहरूको सहकार्य हुनु आवश्यक भएको छ । तर, ठूला दलका केही नेताहरूबाट अभिव्यक्त आक्रोश र बदलाको भावनाले नै सहकार्यलाई टाढा पु¥याउन लागेको देखिन्छ । यस्ता कथन समाधान नभएर प्रत्युत्पादक हुनसक्छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता