काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पुँजी बजारको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको भन्दै पुँजी बजार प्रवद्र्धनमा जोड दिइने बताउनुभएको छ । आइतबार नेपाल धितोपत्र ब्रोकर एसोसिएसनका प्रतिनिधिसँगको भेटमा उहाँले नीतिगत व्यवस्थामा सुधार गरेर भए पनि पुँजी बजारको विकास र प्रवद्र्धन गर्ने बताउनुभएको हो ।
अर्थमन्त्री पुनले नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डबाट देखिएका समस्या समाधान गर्न गभर्नर र बोर्ड अध्यक्षसँग बसेर समाधान पर्ने आश्वासन दिनुभएको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार ६०/६२ लाख लगानीकर्ता प्राथमिक बजार र २० लाख लगानीकर्ता दोस्रो बजारमा सक्रिय रहेको भन्दै बजारको आवश्यकता र लगानीकर्ताको मनोबल बढाउन सरकार सकारात्मक रहेको अर्थमन्त्रीले बताउनुभएको छ ।
ब्रोकर व्यवसायीले बजारको विकास र प्रवद्र्धनका लागि तत्कालीन र दीर्घकालीन सुधारका लागि सुझाव पेश गरेका थिए । बैंक तथा वित्तीय संस्थालाई संस्थागत लगानीकर्ताका रूपमा दोस्रो बजारमा सहजरूपमा कारोबार गर्न दिनुपर्ने, हाल बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको एक प्रतिशतभन्दा बढी सेयर कारोबार गर्न नपाउने व्यवस्था रहेकामा संस्थागत लगानीकर्तालाई बढी जोड दिएर बैंकका लागि पुरानै व्यवस्था कायम गरिनुपर्ने, कर्जामा जोखिम भार घटाउनुपर्ने, व्यक्तिगत र संस्थागत लगानीकर्ताका लागि तोकिएको १५/२० करोडको क्याप हटाउनुपर्नेलगायतका माग प्रस्तुत गरेका छन् ।






