नयाँ गठबन्धनको सरकार बन्नासाथ प्रतिपक्षबाट हतारमा प्रतिक्रियाहरू आएका छन् । राजनीतिमा अभ्यासबाटै एउटाको व्यवहारको जवाफ अर्कोले दिनुपर्नेमा हतार-हतार शब्दबाट त्यसको जवाफ दिने गर्नु अधैर्यको उदाहरण हो । तर, नेताहरूबाट यही प्रकारका अभिव्यक्तिहरू आउने गरेका छन् । अल्लारेहरूले एकअर्कामा झगडा गर्दा ‘पख्लास्’ भन्ने गरेको शैलीमा नेताहरूले यस सरकारको आयु यति दिनको हो, यति दिनभित्र हामी यस गठबन्धनलाई भत्काइदिन्छौं भन्नु तर्कसंगत र औचित्यपूर्ण हुँदैन । केही राजनीतिक दलहरू नयाँ गठबन्धनकै पछि लाग्न पाए एक-दुई थान मन्त्री पाइन्थ्यो भन्ने सोचाइमा पनि होलान् । सरकारमा गएका दलहरूबाहेक कतिपय छरिएर रहेका साना दलहरू भने यतिखेर नेपाली कांग्रेसले के गर्छ भनेर हेरिरहेको देखिन्छ ।
यता अकस्मात् गठबन्धनको स्थापित सपनाबाट नयाँ चरणको परित्यक्त अवस्थामा ब्युँझन पुगेको नेपाली कांग्रेसमै पनि मतैक्यता देखिएको छैन । प्रभावशाली दुई महामन्त्रीमध्ये एकजनाले यस सरकारलाई छिट्टै असफल बनाइदिन्छौं भन्नुभएको छ भने अर्काले हामी देउसी खेले जसरी सबैलाई घरघरमा गएर बटुलेर बहुमत सावित गर्नेतर्फ लाग्दैनौं भन्नुभएको छ । आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षमै बस्ने अभिव्यक्ति उहाँले दिनुभएको छ । नवगठबन्धनको दिनगन्तीका कुरा गरेर केही साथी समर्थकहरूको मनोबल उँचो राख्ने प्रयास र शाब्दिक आनन्दको खेतीबाहेक केही देखिँदैन । वर्तमान अवस्थामा नेपाली कांग्रेसले विभिन्न खालका विचार बाझिने प्रकारका अभिव्यक्ति दिनुभन्दा आफ्नो पार्टी संगठन बलियो बनाउने, आफ्ना पक्षमा रचनात्मक विचारसहितको प्रतिपक्षका रूपमा अरूलाई समेत समेटेर लग्ने गर्नु नै हितकर हुन आउँछ । माओवादी केन्द्र र त्यसका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लात हानेपछि यसलाई पार्टीका लागि एउटा अवसर हो भन्ने ठानेर प्रतीक्षा गर्नु श्रेयष्कर हुनेछ ।
तत्कालका लागि यो भन्दा अर्को विकल्प पनि छैन । प्रचण्डले त व्यहारले मात्र होइन शब्दले पनि असहयोग गर्नेहरूलाई लात हानेको अभिव्यक्ति दिनुभएको छ । यस अर्थमा शब्दबाणको जुवारीतिर लाग्नुको सट्टा केही समय प्रतीक्षा गर्ने हो भने निरन्तर अस्थिरताको पर्यायवाची नेतृत्वको गठबन्धन फेरि पनि पहिलेकै जसरी चकनाचुर भएको हेर्न धेरै समय पर्खिनै पर्दैन होला । एउटा गुफामा दुईवटा बाघ बस्न नसके झैँ प्रचण्ड र केपी शर्मा ओली एउटै ठाउँमा बस्न सक्छन् भन्ने सोच्नु असम्भव कल्पनामात्र हुन जान्छ । अहिले त त्यस ठाउँमा एमालेसँग ज्यादै रुष्ट भएर पार्टी फुटाएर अर्को पार्टी दर्ता गरेका माधवकुमार नेपाल र झलनाथ खनालहरू समेत रहनुभएको छ । त्यस कारण यस गठबन्धनको दीर्घकालीन टिकाउमाथि शंका गर्ने प्रशस्त ठाउँ छ । तैपनि सत्ताविस्थापनको पीडामा कांग्रेस अत्तालिदै नवगठबन्धनविरुद्ध शब्दखेतीमा लाग्नु शोभनीय हुँदैन । धैर्य गर्ने सामथ्र्य राख्नु उचित हुनेछ ।
वर्तमान परिस्थिति न प्रजातन्त्रिक अभ्यासबाट प्राप्त विशुद्ध प्रजातन्त्र हो न त कम्युनिष्टहरूले भन्नेगरेको जस्तो समाजवाद वा साम्यवादउन्मुख अभ्यास नै हो । यो सबै स्वार्थप्रेरित खिचडी राजनीतिको गञ्जागोलको अवस्था हो । यस प्रकारको व्यवहारबाट कुनै पनि वादमा पुग्नु त धेरै टाढाको विषय हो, वर्तमान लोकतान्त्रिक प्रणालीको संस्कृति निर्माणसमेत असम्भव हुन्छ । यो कुरा नेताहरूलाई थाहा नभएको होइन । यतिमात्रै हो केही समयमात्रै पनि सत्ताबाहिर बस्ने धैर्य कुनै पनि पार्टीमा नभएका कारण केवल सत्तामा जाने र सरकार बनाउने अनि भत्काउने खेलमा मात्र उहाँहरू लागिरहनुहुन्छ । यसबाहेक अन्यत्र उहाँहरूको ध्यान जाने गरेको छैन । कुनै पनि निर्वाचन हार वा जितका लागि मात्र होइन यसलाई प्रजातान्त्रिक अभ्यासका रूपमा पनि वरण गर्न सक्नुपर्छ ।
राष्ट्रियसभाका अध्यक्षका लागि हुन लागेको निर्वाचनलाई पनि सोही दृष्टिकोणबाट हेर्नुपर्ने हुन्छ । प्रजातान्त्रिक पद्धतिमा प्रतिस्पर्धा आवश्यक छ । यसलाई प्रजातन्त्रको विशेषताका रूपमा हेर्ने गरिन्छ । अंक गणितीय हिसाबले अब वामघटकहरू र तीसँग एकाकार भएका अन्य दलहरू समेतकै बहुमत पुग्ने यथार्थलाई नकार्न मिल्दैन तर बहुमत नपुग्ने अवस्था आए पनि निर्विरोध प्रतिस्पद्र्धा गर्न खोज्नु प्रजातान्त्रिक अभ्यासभित्रै पर्दछ । एक पक्ष धेरै कमजोर र अर्को पक्ष धेरै सबल भएका अवस्थामा निर्वाचनमा प्रतिस्पर्धा आवश्यक जस्तो नदेखिए पनि प्रतिस्पर्धा हुने गरेका प्रशस्त उदाहरण छन् । दुवै पक्ष केही मतले तलमाथि रहेका र तिनका बीच प्रतिस्पर्धा गर्दा चुनावी अभियानमा नयाँ माहौल खडा भएर हारजितको आकलन र अवस्थामा बदलाव आउन सक्छ । यस्तो अवस्थामा हुने निर्वाचन उत्सुकतापूर्ण हुन्छ । राष्ट्रियसभाको हालको अवस्था उत्सुकतापूर्ण देखिँदैन ।
राष्ट्रियसभामा त आमनिर्वाचनजस्तो परिस्थिति नआउला तैपनि प्रतिस्पर्धा स्वाभाविक हुन्छ । नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको कारण यही होला । नेपाली कांग्रेस अन्य साना दलहरूलाई मनाएर तिनको समर्थन लिने योजनामा रहेको छ, भनिएको छ । नेपाली कांग्रेस नेपालका हकमा प्रजातन्त्रको संवाहक र जननी पार्टी मानिन्छ । यसको झण्डै आठ दशकको गौरवमय इतिहास छ । हाल आफ्नै आन्तरिक तथा अन्य विभिन्न बाहृय कारणले समेत यसलाई कमजोर बनाउँदै लगेको छ । यस्तो अवस्थामा नेपालको राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने जिम्मेवारी प्रजातान्त्रिक पार्टी भएको नाताले नेपाली कांग्रेसले बढी गहिराइमा अनुभव गर्नसके प्रतिपक्षको भूमिका सार्थक हुनेछ । शब्दले होइन जिम्मेदारीबोधले मात्रै अघिबढ्नु, कांग्रेससहित लोकतन्त्रमा विश्वास गर्ने दलहरूको आजको कत्र्तव्य हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता