
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस र आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आक्रोश पोख्नुभएको छ । राष्ट्रियसभा अध्यक्ष पदका लागि हुने निर्वाचन नजिकिएका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेतासमेत रहनुभएका सिटौलासहित नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धोकाधडीको राजनीतिक सजिलै नटुंगिने चेतावनी दिनुभएको हो । आइतबार बिहान पार्टी महामन्त्री गगनकुमार थापा, पार्टीका संसदीय दल प्रमुख सचेतक रमेश लेखकलाई साथमा लिएर प्रचण्डसँग भेट गर्नुभएका सिटौलाले ‘यो धोकाधडी त्यसै नटुंगिने’ भन्दै प्रचण्डलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग सिटौला, महामन्त्री थापा र प्रमुख सचेतक लेखकले करिब आधा घण्टा छलफल गर्नुभएको थियो ।
सुरुमा महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई ‘प्रधानमन्त्रीलाई भेट्नभन्दा पनि अस्तिसम्म गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्षलाई भेट्न आएको’ भन्नुभएको थियो । सिटौलाले भने कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन माओवादीले नमानेका कुरादेखि शान्ति प्रक्रियाका विभिन्न विषयमा केन्द्रित रहेर प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्नुभयो । निकै आक्रोशित मुद्रामा प्रस्तुत हुनुभएका नेता सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भन्नुभयो, ‘तपाईंले मलाई राष्ट्रियसभा अध्यक्ष बनाउँछु भन्ने वचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ । तपाईंले कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो ।’
कांग्रेसका पूर्व-महामन्त्रीसमेत रहनुभएका सिटौला यत्तिमै रोकिनुभएन । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिएको प्रसंग उठाउँदै सिटौलाले भन्नुभयो, ‘म तपाईंलाई चुनाव लड्दासम्मको गठबन्धनको नेकपा माओवादी केन्द्रको अध्यक्षको हैसियतमा भेट्न आएको हुँ । तपाईंले गिरिजा प्रसादलाई त्यसबेला दिएको धोकासँगै मलाई अहिले पार्टीगतसँगै व्यक्तिगत रूपमा दिएको धोका सम्झाउन आएको हुँ । तपाईं त्यसबेला गिरिजा बाबुलाई दिएको धोकाका कारण पश्चात्ताप गरेको नाटक गरिरहनु भएको थियो । तर, त्यो पश्चात्ताप होइन, नाटक रहेछ ।’
प्रधानमन्त्री प्रचण्डले भने सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन आफू सकारात्मक भए पनि पार्टीका साथीहरू नमानेको प्रतिक्रिया दिँदै भन्नुभयो, ‘म त सकारात्मक थिएँ नि, साथीहरूले मान्दै मानेनन् ।’ गत फागुन १७ गते पनि सिटौला र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । उक्त भेटबारे पनि सिटौलाले स्मरण गराउँदै भन्नुभयो, ‘त्यसदिन राष्ट्रियसभा अध्यक्ष माओवादीले नै राख्ने हल्ला छ के हो ? भन्दा तपाईंले होइन भन्नुभयो । तपाईंलाई नै कोसिस गर्दै छु भन्नुभएको थियो, तर दुई दिनपछि गठबन्धन नै फेर्नुभयो । फागुन २० मा हामी फेरि भेट्ने कुरा थियो, तर गठबन्धन नै भत्काउनुभयो ।’ प्रधानमन्त्री प्रचण्डले सिटौलासहित कांग्रेसका नेताहरूलाई शान्ति प्रक्रियादेखि बाँकी काममा सँगै रहने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘मैले पटक–पटक राम्रोसँग अगाडि बढौँ भनेर कुरा गरेँ । एउटा मन्त्री फेरौँ भन्दा पनि भएन, प्रभावकारी काम गरौँ भन्दा पनि भएन, एक्कासि आएर गठबन्धन नगर्ने नीति लिनुभयो, अनि हामीलाई आतंककारी घोषणा गर्ने बेलाजस्तो गरी महासमितिको प्रतिवेदन बनाउनुभयो ।’
कांग्रेस नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले भोलिका दिनमा सहकार्य हुने भन्दै यत्तिकै सम्बन्ध सबै टुंगिएको हो भनेर नसोचिदिन आग्रह गर्नुभएको थियो । तर, छलफलबाट निस्कने बेलामा सिटौलाले थप चेतावनी दिँदै भन्नुभयो, ‘राष्ट्रिय सभाको विषय ल्याएर तपाईंले मलाई जसरी विश्वासघात गर्नुभयो, यो कुरा यसरी नै सजिलै टुंगिन्छ भन्ने नठान्नुहोला । नेपाली कांग्रेस र मलाई दिएको यो धोकाधडी त्यति सजिलै जान्छ भन्ने नठान्नुहोला । तपाईं पछुताउनुपर्छ ।’
प्रचण्डले दिएको धोकाको जवाफ दिइन्छ : उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री ‘प्रचण्ड’ले मतदातालाई धोका दिएको आरोप लगाउनुभएको छ । प्रचण्डले निर्वाचनका बेला जनतासँग गरेका वचनविपरीत गठबन्धन फेर्ने काम गरेको टिप्पणी गर्दै उपसभापति खड्काले भन्नुभयो, ‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन, निर्वाचनका बेला मतदातालाई दिएको वचनबाट नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डबाट राजनीतिक रूपमा ठूलो धोका भएको छ । यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले दिनेछ ।’
अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने कल्पना गर्दैनन् : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना नगर्ने दाबी गर्नुभएको छ । कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन नहुने उहाँको दाबी छ । नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाने जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘हामीले केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको अन्तर्यमा के छ भन्ने कुरा समयसँगै खुल्दै जाला । नेताहरू मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा सुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको थियो । अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पनै गर्दैन । किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब हुन्छ । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ ।’
कांग्रेस र एमालेबीच सहकार्यको आहृवान
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिश्रित निर्वाचन प्रणालीका नाममा दलहरूले राजनीतिक भ्रष्टीकरणलाई जोड दिएको भन्दै कांग्रेस र एमालेले फोहोरलाई सफा गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधित्व गराउन बनाइएको समावेशी राजनीतिलाई दलका नेताहरूले दुरुपयोग गरेर फोहोर बनाएको र सफा गर्न कांग्रेस-एमाले एक ठाउँमा उभिनुपर्ने जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘सबैको प्रतिनिधित्व भएन भनेर मिश्रित निर्वाचन प्रणाली बनायौँ । पहिलेभन्दा विभिन्न जातजाति, भूगोल र क्षेत्रका मानिसलाई ल्याउन यो प्रणालीमा गयौँ । तर, नेताहरूले घर परिवारका मात्रै होइन दलकै समेत दुरुपयोग गरेका छन् । एकले अर्कोलाई बोक्ने राजनीतिको भ्रष्टीकरणलाई रोक्नुपर्छ । हामीले राजनीतिलाई विकृत बनाएका छौँ । हाम्रो राजनीतिक सफा भएन भने राजनीतिलाई शुद्ध र परिणाममुखी बनाउन सकिएन भने समय खेर जान्छ । कांग्रेस, एमालेले धोका खाएकाले छलफलको ठाउँमा पुगे भन्ने लाग्छ । एक ठाउँमा बसेर अब राजनीतिक फोहोरलाई सफाइ गरौँ भन्ने ठाउँमा पुगौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच