स्याङ्जा । नेपाली काङ्ग्रेसका उपसभापति तथा निवर्तमान कानुन मन्त्री धनराज गुरुङले सार्वजनिक रुपमा विवादित तथा ठगी आरोपमा अदालतमा मुद्दा चलिरहेका व्यक्तिलाई मन्त्री बनाइनु विधिको शासनको उपहास भएको बताउनुभएको छ । नेपाल शिक्षक संघ स्याङ्जाको २५ औँ प्रतिनिधिसभा तथा सम्मान कार्यक्रम शनिबार स्याङजाको विपी जिपी स्मृति भवनमा बोल्दै प्रमुख अतिथि गुरुङले उक्त कुरा बताउनुभएको हो । उक्त सभामा बोल्दै उहाँले भन्नुभयो, ‘अभियोग लागेका मान्छेहरु सरकारका मन्त्री भएका छन् । हामी यसको प्रतिवाद गर्छौं । आवश्यक परे संसद ठप्प पार्छाैँ ।’ उहाँले भन्नुभयो ।
गुरुङले काङ्ग्रेसले इमानदार भएर काम गर्दा माओवादीले धोका दिएको बताउनुभयो । उहाँले काङ्ग्रेस गठबन्धनमा इमानदार भएको तर माओवादीले धोका दिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सङ्घीय सांसद तथा स्याङ्जा जिल्लाका सभापति राजु थापाले गठबन्धन गर्नु बेठिक नभए पनि माओवादीहरुको राजनैतिक संस्कार कमजोर भएकाले मुलुकलाई धोका भएको बताउनुभयो । उहाँले कांग्रेस निराश हुनु नपर्ने भन्दै वर्तमान सरकारमा रहेका मन्त्रीहरु सार्वजनिक अभियोग लागेकाहरु भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सभापति श्री प्रसाद जिटी, नेका गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका निवर्तमान सांसद भागवत प्रकाश मल्ल, पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, गल्याङ नगर प्रमुख गुरु भट्टराई, नेशिसंघ संघीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, नेपाली कांग्रेस स्याङ्जाका प्रवक्ता भरत लम्साल, शिक्षक सङ्घ गण्डकी प्रदेश महासचिव (अर्थ) गायत्री आचार्यलगायत महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा शिक्षक सङ्घमा आबद्ध नेताहरुको सहभागिता थियो ।
कार्यक्रम साङ्गठिक प्रतिवेदन सचिव युवराज ढकालले, आर्थिक प्रतिवेदन कमलराज लम्सालले, महिला विभाग प्रतिवेदन जिल्ला उपाध्यक्ष बाटुली अधिकारीले प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुले कलात्मक नृत्य र झाँकी प्रस्तुत गरेका थिए । विद्यार्थी सोफिया थापाको एकल नृत्य र स्वीकृति परियारको टोलीले कौडा नाच प्रदर्शन गरेका थिए ।
कार्यक्रममा शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मी रेग्मी, गण्डकी प्रदेश अर्थमहासचिव गायत्री आचार्य, प्रदेश सदस्य महेशराज रेग्मी, प्रदेश सदस्य इन्दिरा केसी, ईश्वरीप्रसाद ढकाल, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष दुर्गाबहादुर रोका, नेका सङ्घीय प्रतिनिधि सीता गौडेललगायत सम्मानित हुनुभएको थियो।
शिक्षक सङघ स्याङजाको ११ ओटै पालिकाका प्रतिनिधिसभा सम्पन्न गरेपछि जिल्ला प्रतिनिधि सभा सम्पन्न शनिबार सम्पन्न भएको हो ।
शिक्षक सङ्घ स्याङ्जाका अध्यक्ष पशुपति पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष परशुराम भट्टराईले, सञ्चालन सचिव युवराज ढकाल र सहसचिव शिव ढकालले तथा सहजीकरण जिल्ला सदस्य यामप्रसाद चापागाईंले गर्नुभएको थियो ।







Breaking news with related posts