स्याङ्जा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक : स्थलगत अनुगमन गरी पुनः लाभग्राही कायम गरिने

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद्का लाभग्राहीहरुका सम्बन्धमा पुनर्मूल्याङ्कनसहित आवश्यक प्रक्रिया पुर्‍याएरमात्र दोस्रो किस्तादिने निर्णय गरेको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिकी अध्यक्ष सुनिता नेपालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

२०७७ देखि मनसुनजन्य विपद्‌ बाट क्षति पुगेका घरहरुको पुनर्निर्माण र पुनर्स्थापना गर्नुपर्ने भनी लाभग्राही कायम गरिएकोमा गलत लाभग्राही कायम भएको भन्ने उजुरी परेको थियो । उक्त उजुरीका आधारमा तत्कालीन सहायक प्रजिअको नेतृत्वमा भएको स्थलगत अनुगमनको क्रममा विविध कारणले कैफियत देखिएको भन्दै राष्ट्रिय विपद् प्राधिकरणमा पटक पटक पहल गरिएको थियो ।

पछिल्लो समय गृह मन्त्रालय मार्फत् आवश्यक निर्देशनको लागि पहल भएपश्चात् मन्त्रालयको निर्देशन बमोजिम पहिलो किस्ता पाइसकेकाहरुको समेत यथार्थ पुनर्मूल्याङ्कन गरेर मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ मा व्यवस्था भए बमोजिमको प्रक्रिया पुर्‍याएर मात्र अघि बढाउने बैठकले निर्णय गरेको छ ।

तत्कालीन समयमा विपद्का लाभग्राही कायमगर्दा विपद्मा परेका परिवारको स्थलगत अनुगमन कोरोनाका कारण हुन नसकेको र विपद् अनुदान कार्यविधि समेत नआइसकेको अवस्थामा तत्कालीन वडा र स्थानीय तहबाट सिफारिस भएका लाभग्राहीको सङख्याका सम्बन्धमा छानबिन गरी एकिन गरेर मात्र दोस्रो किस्ता दिन सकिने विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

ADVERTISEMENT

मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्स्थापनाका लागि सरकारले विपद्का लाभग्राहीलाई अस्थायी आवासका लागि तत्काल रु २५ हजार राहातदिने व्यवस्था गरेको छ भने घर निर्माणका लागि पहिलो किस्ता रु ५० हजार दिने व्यवस्था छ । यही व्यवस्था अनुसार स्याङ्जामा १७८ जना लाभग्राहीले रु ७५ हजार रकम पाइसकेका छन् । लाभग्राहीले अब आवश्यक छानबिनपछि मात्र दोस्रो किस्ताको रकम रु २ लाख पाउने छन् ।

स्थलगत अनुगमन गर्दा कार्यविधि बमोजिम लाभग्राही कायम गर्न नसकिने भएमा त्यस्ता लाभग्राहीलाई कार्यविधि अनुसार कारबाही अगाडि बढाइने विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यस कार्यका लागि जिल्ला प्रशासनले सूचना जारी गरेपश्चात् लाभग्राहीले स्वघोषणा गर्नुपर्ने, प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा पालिकास्तरीय विपद् व्यवस्थापन समितिको सिफारिस लगायत कार्य विधि तोकेकाले उक्त प्रक्रिया पूरा गरे मात्र लाभग्राहीले दोस्रो किस्ता पाउने छन् । यो सबै प्रक्रियाको लागि केही समय लाग्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज