काठमाडौं । स्थानीय उत्पादन प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२४ सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित एक्स्पो उद्घाटन गर्दै नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल(डिपी) ले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको भन्दै अर्थतन्त्रलाई माथि उठाउन निजी क्षेत्रले भूमिका खेल्न सक्ने बताउनुभयो ।
नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाप्रति सरकार संवेदनशील रहेको भन्दै अर्थतन्त्र माथि उठाउन निजी क्षेत्रको साथ र सहयोग आवश्यक हुने बताउनुभएको छ ।
आफूले सानैबाट निजी क्षेत्रको विषयमा अध्ययनदेखि सोही क्षेत्र हेरेर हुर्किएका कारण निजी क्षेत्रका समस्या राम्रोसँग बुझेको उहाँको भनाइ थियो । मन्त्री अर्यालले भन्नुभयो, ‘देशको अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रको भूमिका अहं हुने गर्छ । त्यसैले आगामी दिनमा देशको अर्थतन्त्र थप चलायमान हुनेछ ।’ साथै उहाँले देशको अर्थतन्त्र चलायमान बनाउन आफ्नो विवेकले भ्याएसम्म काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
मेलामा व्यापारलाई भन्दा पनि नेपाली बजारमा उत्पादन हुने वस्तुको अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धनमा जोड दिन चेम्बरलाई आग्रह गर्दै नेपाली उत्पादनको प्रचारप्रसार र बजारीकरण गर्न एक्स्पोकोे महत्वपूर्ण भूमिका हुने पनि उहाँले बताउनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मुलुकको अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने भन्दै दक्ष जनशक्ति उत्पादन गरी उक्त जनशक्तिलाई उत्पादनमूलक र सेवामूलक क्षेत्रमा जोड्नुपर्ने आवश्यकता आंैल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी विषम परिस्थितिमा छौँ, व्यापारघाटा उच्च छ । हामीसँग प्रचुर सम्भावना हुँदाहुँदै पनि केही गर्न सकिएको छैन । त्यसैले अब जनशक्तिलाई उत्पादन र सेवामा जोड्नुपर्छ ।’ निर्यात बढाउन सरकारले काम गरिरहेको र निजी क्षेत्रको समस्यासमेत सम्बोधन गर्न सरकार लागिपरेको सचिव शर्माको भनाइ थियो ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कठिन आर्थिक परिस्थितिबीच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो आयोजना गरिएको बताउनुभयो । मुलुकको अर्थतन्त्र सुस्त रहेको, लगानीको वातावरण बन्न नसकेको अवस्थालाई सुधार गर्न एक्स्पो सहयोगी हुन सक्ने उहाँको भनाइ थियो । कृषि, हस्तकलालगायत स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन एवं साना व्यवसायीको आर्थिक गतिविधि विस्तार गर्न एक्स्पोको आयोजना गरिएको अध्यक्ष मल्लले बताउनुभयो । साथै उहाँले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय वस्तुको फिर्ती प्रक्रिया सहज बनाउनुपर्नेमा समेत जोड दिनुभएको छ ।
एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकला, घर-जग्गा, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, सवारीसाधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीसमेत राखिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा भएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका एक सय ६० भन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ ।
सोमबारसम्म चल्ने एक्स्पोमा नेपाल, भारत, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तानलगायतका व्यापारीको सहभागिता रहेको छ । एक्स्पोको सिल्भर स्पोन्सर एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । एक्स्पोलाई ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिले व्यवस्थापन गरेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता