काठमाडौं । महाशिवरात्रिका पूर्वसंध्यामा पशुपतिनाथ क्षेत्रका विभिन्न स्थान झिलिमिली बनाईएको छ ।
साथै फूल तथा बिजुली बत्तीले सजाईएको छ भने भक्तजनहरुको भिड बाक्लिएको छ । यस वर्षको महाशिवरात्रि शुक्रबार (भोलि) रहेको छ ।
महाशिवरात्रि पर्व भव्य रूपमा मनाउने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ । यसका लागि विभिन्न तयारी समिति तथा उपसमिति गठन गरेको कोषले जनाएको छ । यसवर्ष पशुपतिनाथमा साढे तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान कोषको छ ।
उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनको सहजताका लागि कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदै गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार महाशिवरात्रि पर्व २०८० का अवसरमा प्रचारप्रसार, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ ।












